बैशाख २२, २०८१ शनिबार

धनकुटा खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश

अर्जुनधारा । धनकुटा महिला फुटबल संघ झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रवार पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई कप्तान अन्जना थुलुङ राईले गोलमा परिणत गरिदिएपछि धनकुटाले फाइनलको यात्रा तय गरेको हो । मोरङले दोस्रो हाफको ३१ मिनेटमा धनकुटाकी खेलाडी मेनुका राईलाई डिबक्स एरियामा लडाएपछि धनकुटाले पेनाल्टीको अवसर पाएको थियो । निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर पाए पनि सदुपयोग गर्न नसक्दा दोस्रो हाफको ३१ आंै मिनेटसम्म खेल बराबरीको अवस्थामा थियो । खेलमा धनकुटाकी रजिना मगर उमन अफ दि म्याच घोषित भइन् ।

अब धनकुटाले फाइनलमा आयोजक टिम जुनताराको सामना गर्ने छ । घरेलु टोली जुनतारा यो प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । क्वाटरफाइनलमा इलाम र सेमिफाइनलमा उदयपुर विरुद्ध ५–० र ४–१ गोल अन्तरले जित निकाल्दै जुनतारा फाइनलमा पुगेको हो । धनकुटाले क्वाटरफाइनलमा सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको फाइनल खेल १६ गते आइतबार हुनेछ । विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाउने छ । अर्जुनधारा नगरपालिका मुख्य प्रवद्र्धक रहेको गोल्डकपको आयोजक च्यारिटी युथ क्लब र सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]