बैशाख २३, २०८१ आईतबार

शिवसताक्षी सेरोफोरो : कृषिमा शिवसताक्षीको फड्को

झापाको शिवसताक्षी नगरपालिका कृषिलाई प्राथमिकता दिई अर्गानिक उत्पादन र उत्पादन बृद्धिमा लागेको छ । भौतिक पूर्वाधार विकाससँगै शिवसताक्षीले यो आर्थिक वर्षमा कृषि विकासको दर्जनौ योजना सभा मार्फत पारित गरिसकेको छ । गत आर्थिक वर्ष नगरले कृषि क्षेत्रका लागि गरेको प्रयासले पनि स्थानीय सरकार कृषिमा सकारात्मक सुधारको प्रयास गरिरहेको आम नागरिकको अनुभूति छ ।

कृषिमा जिल्लाकै नमूना बन्ने योजनाका साथ लागेको शिवसताक्षीले गएको वर्षमा गरेका प्रगतिले आउँदो वर्षहरु पनि काम गर्न प्रोत्साहित हुने भएको छ । किसानले नगरपालिकाको सहयोगका कारण उत्साहित भई कृषिलाई जोड दिएका छन् । कृषि उत्पादनका दृष्टिले उर्वर मानिएको शिवसताक्षीमा हालसम्मको कार्य प्रगति सन्तोषजनक नै छ । अहिलेसम्मको कामलाई समिक्षा गर्ने हो भने शिवसताक्षी कृषिमा अघि बढ्दैछ ।

शिवसताक्षी नगरपालिकाको कृषि विकास शाखाले नगरभित्र रहेका किसानको लागि गरेका काम जानकारी गराएको छ । गत वर्ष नगरले प्रत्येक वडामा ग्रिन टनेल वितरण गरेको छ । टनेलको वितरणले किसानलाई बेमौसमी सागसब्जी उत्पादनमा सहयोग पुगेको थियो । सो सामग्री प्राप्त गरेपछि किसानले आवश्यक पर्ने बाँस र श्रमको आफै प्रवन्ध गरेका थिए । ग्रिन टनेलसँगै नगरले मल्चिङ पनि वितरण गरेको थियो । कृषि उत्पादनमा रोगको संक्रमण र झारबाट सुरक्षित बनाउन मल्चिङको वितरण गरिएको कृषि शाखा प्रमुख जानुका श्रेष्ठले जानकारी दिइन् ।

यस्तै नगरपालिकाले ११ वटै वडामा किसानलाई पावर टेलर वितरण गरेको छ । कृषि समूह मार्फत नगरपालिकाले २० एचपीको पावर टेलर दिएको थियो । किसानलाई ५० प्रतिशत अनुदानमा उक्त सामग्री प्रदान गरिएको श्रेष्ठको भनाई छ । यस्तै, कामदारको अभाव र समयको बचतका लागि हाते ट्याक्टर पनि उपलब्ध गराएको थियो । त्यसमा १ लाख अनुदान दिइएको थियो ।

धान काट्न प्रयोग गरिने प्रविधिको आवश्यकता महसुस गरेर नगरपालिकाले रिझर मेसिन समेत वितरण गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिएकी छन् । कृषि समूह, कृषि सहकारी संस्था र कृषि फर्म सञ्चालन गर्नेहरुलाई उक्त सामग्री प्रदान गरिएको हो ।

कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनको लागि सिचाईको समेत उत्तिकै आवश्यकता छ । सबै किसानको बालीसम्म सहजै सिचाई हुने स्थिति नभएपछि मोटर समेत उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । कृषि समूह मार्फत नगरले २२ वटा पानी तान्ने विधुतीय मोटर उपलब्ध गराएको थियो । जसमा कृषि समूहको समेत आर्थिक सहभागिता रहेको थियो । नहरबाट पानी सुविधा नपुग्ने ठाउँको पहिचान गरेर मोटर वितरण गरिएको थियो । मोटरबाट पानी तान्नका लागि गाढ्ने, घर बनाउने,, विधुत विस्तार गर्ने र श्रम कृषकले आफै गरेका छन् ।

नगरपालिकाले सबै वडामा सामूहिक तरकारी खेती गर्ने किसानलाई विशेष प्याकेजमा सहयोग गर्ने कार्यक्रम बनाएको छ । गत वर्ष केहि वडामा सो प्रकारको काम भयो । यो वर्ष पनि नगरपालिकाले सामूहिक तरकारी लगाउने किसानलाइृ आवश्यक सहयोग प्रदान गर्ने तयारीमा छ ।

प्रधानमन्त्री कृषि परियोजना अन्तरगत नगरपालिकाले वडा नं. २ मा करिव २ सय विगाह जग्गामा धान लगाउने कार्यक्रम छ । धरमपुरमा सञ्चालन हुने सुपरजोनमा १ दर्जभन्दा धेरै पकेट क्षेत्र घोषणा गरिएको छ । ब्लकमा मौरीलाई समावेश गरिएको कृषि शाखाले जनाएको छ । धान , तरकारी र माछालाई परियोजना मार्फत उत्पादन गर्ने नगरको योजना रहेको छ । ११ लाखको बजेट माछा उत्पादनमा खर्च गरिने नगरले जनाएको छ । १० लाख रुपैयाँ पोखरी मर्मत र १ लाख महाजालका लागि खर्च गरिएको थियो । व्यसायिक माछा उत्पादनका लागि खनिएका पोखरीको आवश्यकताका आधारमा नगरले मर्मतमा सहयोग गरेको छ । नगरमा माछा उत्पादनमा बढाउने तयारी गरिएको बताइएको छ । महाजाल र पोखरी मर्मतमा ५० प्रतिशत अनुदान दिइएको हो ।

शिवसताक्षीमा गुहणस्तरीय विउमा अभाव हुने गरेको छ । त्यस समस्याको समाधानमा नगरले योजना बनाइसकेको बताइएको छ । किसानले उत्पादन गरेको कृषि वस्तु राख्नका लागि आवश्यक पर्ने कोल्ड स्टोर पनि अभाव भएको कृषकको भनाई छ ।

नगरपालिकाले ११ वटा कृषि समूह मार्फत मकै छडाउने मेसिन पनि वितरण गरिसकेको छ । त्यसमा नगरले किसानलाई ५० अनुदान सहयोग गरेको थियो । यस्तै, कृषि शाखाका अनुसार ४४ वटा मकै रोप्ने मेसिन वितरण गरिएको छ । त्यसमा पनि अनुदान सहयोग दिइएको बताइएको छ ।

शिवसताक्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि किसानलाई कृषि ज्ञान अनिवार्य भएको भन्दै कृषक पाठशाला सञ्चालन गरेको थियो । नगरभित्र रहेका कृषक समूहको सहयोगमा पाठशाला सञ्चालन गरेको कृषि शाखाकी प्रमुख श्रेष्ठले जानकारी दिइन् । वडा नं. ४ को पवश्वडुब्बा, ३ को पूर्वेल टोल, ७ को लालपानी, १० आफ्टारी सहित सबै जसो वडामा पाठशाला सञ्चालन गरिएको थियो । कृषि पाठशालामा कृषि प्राविधिकले करिव ३ सय किसानलाई बाली लगाउने तरिका, रोगबाट बचाउने तरिका र संरक्षण गर्ने तरिकाबारे अवगत गराएका थिए । नगरमा हाल १ सय ४७ भन्दा बढि कृषक समूह दर्ता भएका छन् ।

स्वास्थ्य बाली उत्पादन, बालीनालीको नियमित अवलोकन, मित्रु, शत्रुजीवको पहिचान र कृषकलाई दक्ष बनाउनु पाठशालाको मुख्य उद्देश्य रहेको बताइएको छ । ४० कृषि समूह नविकरण भई यस्ता अभियानमा सरिक हुदै आएका छन् ।

नेपाल कृषि प्रधान देश भएपनि आत्मनिर्भर बन्न सकेको अवस्था छैन । किसानले हदैसम्म मेहन गर्दा पनि उत्पादन बृद्धि हुन सकेको छैन । त्यसको एउटा समस्या भनेको माटो विग्रदै जानु हो । माटो विग्रदै गएको अध्ययन पछि नगरले विभिन्न स्थानबाट माटो संकलन गरी परिक्षण गरेको छ । माटो परीक्षणमा प्राविधिकले शिवसताक्षीमा अम्लिय धेरै र क्षारिय कम रहेको प्रतिवेदन निकालेका थिए । माटो परीक्षणमा नगरले ४५ हजार बजेट विनियोजन गरेको थियो ।

यस्तै, भकारो सुधार तर्फ पनि नगरले उल्लेख्य काम गरेको थियो । कृषि शाखाले जनाए अनुसार ४४ वटा गोठ सुधार गरेको छ । भकारो सुधार गरेर बालीमा प्राङगारिक मलको प्रयोग बढाउने विधि सिकाइएको छ । गोठ सुधार गर्नुको मुख्य उदेश्य भनेको गहुत र गोवरको व्यवस्थित संकलन हो । अव्यवस्थि गोठका कारण किसानले आफ्नै गोठमा भएको बहुल्य मल खेह्र फालिरहेका थिए । त्यसको सदुपयोग गराउन नगरले यो योजना सञ्चालन गरेको हो । किसानलाई गोठ निर्माण गर्न सिकाउने र रसायनिक मल प्रयोग घटाउन लगाइएको थियो ।

कृषि उत्पादनका दृष्टिले राम्रो मानिएको शिवसताक्षीमा नगरले गुणस्तरीय धानको विउ वितरण गरेको छ । चैते धान, हर्दिनाथ लगायत विभिन्न जातको धानको विउ वितरण गरिएको कृषि शाखाको अभिलेखमा उल्लेख छ । शाखाका अनुसार गत वर्ष नगरले ७ सय किसानलाई धानको विउ वितरण गरेको थियो ।

सरकारले सरकारी सेवा उपलब्ध गराउने घुम्ती शिविर अनुसार शिवसताक्षी नगरपालिकाले किसानलाई लक्षित गरी शिविर सञ्चालन गरिसकेको छ । जहाँ सयौं किसानलाई कृषि सम्बन्धी प्रशिक्षित गरिएको थियो । शिविरमा विरुवा समेत वितरण गरेको थियो । शिविर मार्फत अर्गानिक उत्पादनका लागि नगर प्रमुख चन्द्र शेर्माले आव्हान गरेका थिए । उनले शिवसताक्षी नगरपालिकालाई विषादि मुक्त बनाउन किसानको ठुलो हात हुने बताएका थिए ।

कृषि उत्पादन हुने जमिन बाहेकका किसानका लागि पनि शिवसताक्षी नगरपालिकाले धेरै सहयोग गरेको छ । नदी किनारमा बगर खेतिका लागि नगरपालिकाले ५४ हजार सहयोग गरेको बताइएको छ । केरा , च्याउ लगायतको उत्पादन पनि नगरपालिकाले प्राथमिकता दिएको पाइएको छ ।

भर्खरै नगरपालिकाका प्रमुख शेर्मा जापान भ्रमण सकेर फर्किएका छन् । उनले जापानको सिचाई प्रणालीको अध्ययन गरेर आए । आफ्नो नगरपालिकामा सिचाई व्यवस्थापन गर्न अध्ययन भ्रमणले सहयोग पुग्ने शेर्माको भनाई छ ।

प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]