मंसिर १५, २०७९ बिहीबार

दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा

बिर्तामोड । पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन् । दसैँको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन् ।

पश्चिम बङ्गालको नक्सलबाडी र बतासीबाट दुई सयभन्दा बढीको सङ्ख्यामा उनीहरु झापाको भद्रपुर, धुलाबारी, बिर्तामोड, शनिश्चरेलगायतका क्षेत्रमा नृत्य देखाउन आएको समूहका विशाल बेस्राले बताउनुभयो ।

“वर्षौंदेखि दसैँको सप्तमीका दिनदेखि हाम्रा कला संस्कृति देखाउन नेपाल आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “नृत्य सन्थाल जातिको पुर्ख्यौली परम्परा हो । हाट बजार र भ्याएसम्म नेपालीको घरदैलोमै पुग्छौँ ।” पन्ध्र देखि ५० वर्ष उमेर समूहका पुरुषहरू नेपाल आएको उहाँले बताउनुभयो ।

विभिन्न समूह बनाएर आएका उनीहरूमध्ये एक समूह बिर्तामोड, अर्को शनिश्चरे र भद्रपुरतिर बाँडिएको उहाँको भनाइ छ । उहाँले टीकाको दिनसम्म नेपाल बसेर नृत्य देखाउने उद्देश्य रहेको जानकारी दिनुभयो । रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र काँसको फूल सिउरिएर आएका उनीहरुले सन्थाल गीतमा नृत्य गर्ने गरेको बताए ।

प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास