बैशाख २२, २०८१ शनिबार

बिरिङको बगर धितोमा राखेर ५ करोड लगानी

झापा । नक्कली धितोमा ऋण दिएको आरोपमा बैंकका पूर्व सिइओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।

नक्कली धितोमा ऋण लगानी गरेको र कीर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । कर्जा लगानी भएका बेला श्रेष्ठ बैंकका सीईओ थिए । झापाको विरिङ खोलाको बगरक्षेत्रलाई जग्गा मानेर धितो राखी ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपूर्जा लिएर कर्जा स्वीकृत गरेका थिए ।

त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका हुने भन्दै श्रेष्ठ समेतलाई सीआईबीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।
पूर्व सीईओ श्रेष्ठसहित ३ जना पूर्व कर्मचारी हुन् भने ३ जना बैंकका बहालवाला कर्मचारी छन् । बाँकी ऋणीहरू रहेको सीआईबीले जनाएको छ । उनीहरुलाई विभिन्न समयमा पक्राउ गरिएको हो । विभिन्न समयमा पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]