बैशाख २८, २०८१ शुक्रबार

बिर्तामोड– भद्रपुर सडकको कहानी सडकले जिम्मा लिने कि नलिने ?

गणेश पोखरेल
झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण भइरहेको छ । यो बाटो निर्माणमा एउटा खुशीको खबर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुर रोडको चन्द्रगढीसम्म नै ४ लेनको सडक बनाउन निर्देशन दिनु भएको छ । अहिले डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवलाई प्रधानमन्त्री ओलीले ४ किलोमिटर मात्र होइन, भद्रपुरसम्मको सडक नै चार लेनको बनाउने गरी डिपिआर तयार गर्ने र बाटो तत्काल निर्माण गर्न निर्देशन दिनु भएको छ । यो खबरले पूर्वी झापाका बासिन्दालाई आल्हादित तुल्याएको छ ।

हाल चार किलोमिटर बाटो निर्माणका लागि ठेक्का लागेको छ । यो बाटो निर्माणका विषयमा धेरैको चासो भए पनि सम्वन्धित पक्ष मौन छ । ठेक्का लिने निर्माण कम्पनी कसको हो ? प्रतिनिधि कस्ता छन् भन्ने सायदै कसैले देखेका छन् । श्री आशिष – प्रेरा जेभी नयाँ बाटो ललितपुरले ठेक्का लिएको बोर्ड निर्माण स्थलमा भए पनि उनका प्रतिनिधि छैनन् । आशिष – प्रेरा जेभीबाट पेटी कन्ट्याक्ट लिने राजकिशोर गुप्ताले केही काम गरेका छन् । तर, उनी यथार्थ बताउन तयार छैनन् । बाटोमा ढल निर्माण २०७६ असार मसान्तसम्ममा निर्माण गरिसक्नु पर्ने कार्ययोजनामा छ । कामको प्रगति हेर्दा के हुन्छ भन्न सकिने अवस्था छैन । अझ ढल निर्माणपछि विर्तामोडको भद्रपुर रोडका घरको पानी नालीमा नजाने भएको छ । साइडका घरभन्दा नाली माथि बनेपछि नाली बन्नु र नबन्नुमा केही फरक देखिँदैन भन्ने स्थानीयको चासो छ । तर, त्यो कसले इस्टिमेट बनाए किन त्यस्तो भयो ? त्यसलाई सुधार गर्न सकिन्छ कि सकिन्न भन्ने पनि स्थानीयले कसैबाट बुझ्न सक्ने अवस्था छैन ।

डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवसँग माघ पहिलो हप्ता सार्वजनिक सुनुवाईका लागि सम्पर्क गर्दा माघ १८ गते प्रधानमन्त्री केपी शर्मा ओली हुलाकी मार्ग र भद्रपुरको मेची पुल उद्घाटनका लागि आउने भएकाले समय दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, १५ दिनको समय दिनुस्, प्रधानमन्त्रीको कार्यक्रम सकिएपछि कार्यक्रम गरौं । मैले हुन्छ सर भने । कार्यक्रम सकियो, त्यसको करिव १५ दिनपछि मैले ९८५२६७६४९८ मा फोन गरेर प्रमुख यादवलाई सम्झाएँ । उहाँले फेरि १५ दिनपछि कार्ययोजना मिट गराउने र त्यसपछि कार्यक्रम गरौं भन्नुभयो । मैले विर्तामोडको सीटी पाटी प्यालेसमा कार्यक्रम गर्न सञ्चालक सुवोध पाठकसँग ठाउँ मागेँ । सुवोधजीले हुन्छ, हामी सबैको सरोकारका विषयमा गरिने कार्यक्रमका लागि निःशुल्क हल दिन्छु पनि भन्नुभयो । केही सरोकारवालालाई खबर पनि गरेँ । कार्यक्रमको ३ दिन पहिले फेरि डिभिजन सडक कार्यालय दमकका प्रमुख यादवलाई फोन गरेँ । उहाँले नभ्याउने कुरा गर्नुभयो । मैले साइड हेर्ने इन्जिनियर पठाई दिन अनुरोध गरेँ । उहाँले आफैं आउने कुरा गर्नुभयो । कार्यक्रम पछि गरौं भन्नुभयो । फेरि त्यसको १५ दिनपछि प्रमुख यादवसँग कुरा गरेँ । उहाँले विर्तामोडका मेयर धु्रवकुमार शिवाकोटी कार्यक्रममा आएपछि मात्र आउने सर्त राख्नुभयो । भन्नुभयो, मेयरको समय लिनुहोस्, मेयर आउनुभयो भने आउँछु, अनि कार्यक्रममा चैतन्यप्रकाश मैनालीलाई पनि बोलाउनुहोस् भन्नुभयो । मैले मेयर शिवाकोटीलाई कार्यक्रम बारे भनेँ । मेयरले हुन्छ, म आउँछु । तर, कार्यक्रमबारे शेखर कँडेलसँग समय मिलाउन भन्नुभयो । मैले शेखरजीलाई फोन गरेँ । उहाँको फोन उठेन । शेखरजीसँग अरु कार्यक्रम कटाएर पनि मेयरलाई यो कार्यक्रममा ल्याउनु भन्नु मैले ठुलो कुरा मानिन र मेयरको समय मिल्यो तपाईं आउनु पर्यो भनेर डिभिजन सडक कार्यालय दमकका प्रमुख यादवलाई आग्रह गरेँ । उहाँले भन्नुभयो, म त नभ्याउने भएँ । काठमाडौंमा होली मनाउन जानु छ । ५ दिनपछि फर्कन्छु अनि मात्र कार्यक्रम गरौं भन्नुभयो । मेरो विकल्प थिएन । हुन्छ भने । होली सकिएको ५ दिनपछि फेरि सम्पर्क गरेँ । उहाँले आफु काठमाडौंमा नै भएकोले आएपछि आफैं सम्पर्क गर्छु भन्नुभयो ।

भद्रपुर रोडको निर्माणका बारे जान्ने विषयमा मेरो प्रयत्न काम लागेको थिएन । चैत २५ गते सोमबार पत्रकार टीकाराम नेतिसँग भेट भयो । हामीबीच बाटोमै भएको ढिलासुस्ती बारेमा कुरा भयो । टीकाजीले डिभिजन सडक कार्यालय दमकका प्रमुख यादवलाई फोन गर्नुभयो । र, कार्यक्रम गर्न समय माग्नुभयो । प्रमुख यादवले प्रधानमन्त्री ओलीले सबै बाटो चार लेनको बनाउन निर्देशन दिएकाले त्यसको तयारी गर्नुपर्ने भएकाले कार्यक्रमका लागि समय दिन नसक्ने बताउनुभयो । मैले फोन गरे पनि पाउने उत्तर त्यही हो भन्नेमा म ढुक्क छु । यस्तै अन्योलका बीच जनताको नजिकको सरकार विर्तामोड नगरपालिकामा विर्तामोड उधोग वाणिज्य संघ र चेम्वर अफ कमर्श झापाका प्रतिनिधि र नगरका प्रमुख प्रशासकीय अधिकृतबीच घम्साघम्सी भएको खबर आएको छ ।

अब कसरी यो बाटो निर्माणका विषयमा जानकारी लिने र गुणस्तरीय कामका लागि स्थानीयले अनुगमन गर्ने भन्ने अन्योलका बीचमा नै छौं । चैत २६ गते विहान सवा ९ वजेतिर जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले फोन गर्नु भएछ । म १० वजेको रेडियो भिजनको खबर सम्पादनमा थिएँ । फोन उठाउन सकिन, ११ वजेतिर मिसकल देखेँ । फोन फर्काएँ । उहाँले पनि भद्रपुर रोड निर्माणका विषयमा नै चासो राख्नु भएको रहेछ । भेटेर कुरा गर्ने विषयमा जिल्ला समन्वय समिति प्रमुखसँग कुरा भएको छ । उहाँसँग भेट्नु भन्दा पहिले नै भद्रपुर रोडको बाटोको एउटा उपभोक्ताका नाताले जिल्ला समन्वयका प्रमुख पोर्तेललाई सञ्चार माध्यमबाट नै केही प्रस्ताव राख्न चाहन्छु ।

१. ठेकेदारले डिभिजन सडक कार्यालय दमकमा बुझाएको निर्माण कार्ययोजना जिल्ला अनुगमन समिति मार्फत् झिकाई पाऊँ ।

२. बाटो निर्माणमा अनुगमनका लागि तोकिएका दमक सडकका इन्जिनियर र अन्य प्राविधिकको नाम र सम्पर्क नम्वर पाऊँ ।

३. विस्तृत परियोजना प्रतिवेदन एक कपी स्थानीयबासीले हेर्न पाऊँ ।

४. सबै पक्षलाई बोलाएर एक पटक जिल्ला अनुगमन समितिले सार्वजनिक सुनुवाई गरोस् ।

५. विर्तावजार दक्षिण २ लेनको मात्र बाटो निर्माण गरिने भन्ने जानकारी प्राप्त भएकाले त्यताको काम रोकेर विर्तामोडको मुक्ति चोकबाट ढल तथा बाटो निर्माणको काम गराइयोस् ।

६. प्रधानमन्त्री केपी शर्मा ओलीले पवित्र उदेश्यले चार लेनको बाटो बनाउनु भनेकाले त्यसलाई देखाएर कामलाई ढिलो गराउने षडयन्त्र नहोस् ।

बाटो निर्माण सम्पन्न हुने मिति भनेर साइडमा लेखिएको बोर्डमा २०७६ असोज २३ गते उल्लेख भएकाले सार्वजनिक खरिद ऐनमा रहेको ६ महिना म्याद थप्न सकिने छिद्र खोजेर लिङ्गरिङ गर्ने काम नहोस् भन्ने आम अपेक्षा छ । यो विषयमा जिल्ला अनुगमन समिति सक्रिय बनेको देख्न पाए हुन्थ्यो भन्ने अपेक्षा छ ।

अन्त्यमा जिल्लाका करिव दुई सय जना पत्रकार रहेको यो बाटोमा यति चासो राख्ताको अवस्था यो छ भने अन्य ठाउँका उपभोक्ताले सडकको काम बारे कति जानकारी पाउँछन् ? भन्ने प्रश्नको उत्तर डिभिजन सडक कार्यालय दमकका प्रमुख यादवले दिनै पर्ने देखिएको छ । मैले मात्र सकिन । कान्तिपुर टीभीका पत्रकार गणेशमान मुखिया, सुर्योदय टीभीका पत्रकार टीकाराम नेति, इजलास दैनिकका सम्पादक प्रदीप परियार लगायतका साथीहरु पनि बाटोको विषयमा खबर खोजीमा निरन्तर हुनुुहुन्छ । तर, सबैका लागि हात लाग्यो सुन्यको अवस्था छ । ठेकेदारलाई पटक पटक फोन गर्न सकिन्न । हामीले राज्य जवाफदेही हुनुपर्छ भन्ने हो । यसको सबै जिम्मा डिभिजन सडक कार्यालय दमकले लिनुपर्छ । लिन सकिन्न भने जनताको तिरोबाट तलव लिएर अल्झाउनु भन्दा छोडिदिए हुन्छ । मैले युरोप घुम्दा आधा दर्जन जति इन्जिनियर यता काम नपाएर उता सफाई मजदुर बनेको भेटेको छु । यता काम नपाएर विदेश जान खोज्ने पनि थुप्रै देखेको छु । कम्तिमा ओगटेर नवसे अर्काे काम गर्नेले अवसर पाउँछ ।

जिल्ला समन्वय समितिका प्रमुख ज्यू युवा हुनुहुन्छ । राजनीतिमा भविष्य छ । तपाईंबाट काम होस् । विर्तामोडको भद्रपुर रोड तोकिएको समयमा तोकिएको गुणस्तरमा सम्पन्न हुनुपर्छ । यदि यसो नभए झापाली हौं भन्नुको के नै अर्थ रहला र । आजलाई यत्ति नै । शेष फेरि ।

प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार  ६ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]