बैशाख १३, २०८१ बिहीबार

मतदाता सूर्यमा मतदान गर्न उत्सुक हुनुभएको छ : रविन कोइराला

झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा झापा क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्य उम्मेदवारको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । उहाँसँग पत्रकार युवराज आचार्यले गरेको निर्वाचन केन्द्रित कुराकानी :

चुनावी प्रचार अभियान कसरी अघि बढिरहेको छ ?
हामी चुनावी प्रचार अभियानमा छौँ । चुनावी प्रचार अभियानको पहिलो चरणको कार्यक्रममा अन्तर्गत हामीले अगुवा कार्यकर्ताहरुसँग वडास्तरमा भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छौँ । अहिले दोस्रो चरणको कार्यक्रम अन्तर्गत हामीले आम मतदाताहरुको बीचमा हाम्रा चुनावी एजेण्डाहरु लिएर गइरहेका छौँ ।

विगतमा हामी सरकारमा हुँदा प्रारम्भ गरेका योजना तथा कार्यक्रमहरु र आगामी दिनमा यो क्षेत्रको विकास निर्माण अनि सामाजिक न्यायसँग सम्बन्धित कुराहरु, सांस्कृतिक एकताका कुराहरुलाई एकताबद्ध बनाउने कुराहरुसँग सम्बन्धित रहेर लोकतान्त्रिक मूल्य र मान्यतालाई ख्याल गरेर हामीले हाम्रो एजेण्डासहित जनसमक्ष अगाडि गइरहेका छौँ । हामी लोकतान्त्रिक मूल्य र मान्यतालाई जोड दिएर आफ्ना कार्यक्रमहरु के के हुन्, हामी कसरी अगाडि बढिरहेका छौँ ? भावी दिनमा के गर्छौ ? भन्ने निश्चित लक्ष्य र उद्देश्य स्थानीय तहमै निर्धारित गरेका छौँ । त्यही अनुरुप मतदाताका अगाडि गइरहेका छौँ ।

मतदातासँग पुग्दा के कस्ता प्रतिबद्धता लिएर जाँदै हुनुहन्छ ?

हामीले यस क्षेत्रका मुख्य समस्याहरु खास गरेर जंगली हात्तीले गर्ने उपद्रो र धनजनको नोक्सानी गर्ने समस्या, नदी कटानका समस्या, सुलभ एवम् गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानी लगायतका विषयहरुमा विगतदेखि नै काम गर्दैछौं । र, अब पनि माथि उल्लेखित विषयहरुसँगै यस क्षेत्रका बाटोहरुको निर्माण गर्नुपर्ने दायित्व हामीले बोध गरेका छौँ । बाटोहरु मात्रै होइन, यहाँ रहेका ठूला पूलहरुको पनि निर्माण गर्नु पर्नेछ । ती ठूला पूलहरु राष्ट्रिय योजनामा समावेश गराउने दायित्व पनि हामीले लिएका छौँ ।

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने मदन भण्डारी राजमार्ग पनि यस क्षेत्रमा हाम्रै पहलमा अगाडि बढिरहेको छ । निर्माणधिन राजमार्गको काम सम्पन्न पार्ने दायित्व पनि हामीले नै लिएर जनतासामु अगाडि बढेका छौँ । यस क्षेत्रमा विभिन्न जाति, धर्म र भाषा बोल्ने समुदायहरुको बाक्लो बसोबास छ । त्यस्तै सुकुमबासीहरुले धनीपूर्जा नपाइरहेको अवस्था छ । तिनीहरुको उत्थानका लागि पनि आवश्यक कार्यक्रमहरु अगाडि सारेका छौँ ।

मतदाता सामु पुग्दा के कस्ता प्रतिक्रियाहरु पाइरहनु भएको छ ?

मतदाताहरुमा एक प्रकारको राजनीतिप्रति सन्तुष्टि प्राप्त गरेको अवस्था देखिँदैन । राजनीति अन्योलमा छ । बिगतमा एकथरीहरु मिलेर आए गठबन्धन भनेर, यसपटक अर्काथरी पार्टीहरु गठबन्धन भन्दै आएका छन् । नेताहरु खासगरी कोसँग कसरी मिल्ने भन्ने कुराका सैद्धान्तिक आधार र वैचारिक आधार पनि खोज्दा रहेनछन् । एक अर्कामा खाली सत्ता सञ्चालनका लागि बहुमत प्राप्त गर्ने उद्देश्यका लागि मात्रै आउँदा रहेछन् । त्यसो हुँदाखेरी यो राजनीतिप्रति जनतामा एक प्रकारको बितृष्णा पैदा भएको छ ।

तर, अहिले हामी त्यो कुरालाई राजनीतिप्रतिको बितृष्णा होइन सुसंस्कृत राजनीतिक निर्माणका लागि तपाईहरुले हामीलाई मत दिनु पर्दछ भनेर हामी भनिरहेका छौँ । समाजवादका आधार तयार गर्न हामीले एउटा राष्ट्रिय आकांक्षा “समृद्ध नेपाल सुखी नेपाली”को लक्ष्य बोकेका छौँ । यी अपवित्र प्रकृतिका राजनीतिक गठबन्धनका दलहरुलाई मत नदिएर हामी नेकपा एमालेलाई विजयी गराउन मतदाताहरुलाई भनेका छौँ । मतदाताहरुले पनि एमालेप्रति ठूलो विश्वास रहेको बताउनु भएको छ ।

तपाईको मुख्य प्रतिष्पर्धी को हो ?

मुलतः यो क्षेत्रमा मेरो मुख्य प्रतिष्पर्धी खासै कोही पनि देख्दिन । सत्ता गठबन्धनका उम्मेदवार र अन्य उम्मेदवारहरु पनि प्रतिष्पर्धाकै तहमा आउने मैले देखेको छैन । त्यसैले यसपटक पनि यहाँका मतदाताले हामीलार्ई विश्वास गर्दै मत दिनुहुनेछ । तसर्थ यहाँ हाम्रो खासै अन्य उम्मेदवारहरुसँग प्रतिष्पर्धा हुँदैन ।

तपाईको जीतको आधार के हो ? थुप्रै उम्मेदवारका बीचमा तपाईलाई नै किन मत दिने ?

म सदैव जनताको पक्षमा काम गर्न प्रतिबद्ध छु । यस क्षेत्रमा मेचीनगर नगरपालिकाको संस्थापक नगरप्रमुख हुँदाको बखत होस् वा दोस्रो संविधान सभाको निर्वाचनबाट निर्वाचित भए पश्चातको समय होस्, म सधैँ यसै क्षेत्रका बुवाआमा, दाजुभाइ तथा दिदीबहिनी लगायत आम मतदाताहरुकै माझमा छु । मैले यस क्षेत्रमा रहेका तमाम समस्या, चुनौति र त्यसका समाधानका बारेमा जानकार छु । मैले यस क्षेत्रमा जनप्रतिनिधि हुँदाको बखत शिक्षा, स्वास्थ्य, रोजगार, स्थानीय स्रोत र साधानको समुचित प्रयोगलगायत थुप्रै विकास निर्माणका कार्यहरु अघि सारेको थिएँ । अब ती अपूरा योजनाहरुलाई पूर्णता दिँदै यस क्षेत्रको समग्र विकासका कार्यमा सदैव लागि पर्नेछु । जुन अन्य प्रतिष्पर्धी उम्मेदवारको बसमा देखिँदैन ।

सत्ता गठबन्धनको उम्मेदवार किन कमजोर छन् ?

बिचार र सिद्धान्त नमिल्ने पार्टीहरु पद र कुर्सीको स्वार्थका लागि गठबन्धन गर्दै एक भएर अगाडि बढेता पनि उनीहरुसँग एमालेको जस्तो स्पष्ट धारणा र भिजन छैन । जनतालाई भुल्याउनका लागि एक भएजस्तो गरेता पनि आम मतदाताले त्यो स्वार्थ बुझिसकेका छन् । तिनै पार्टीका कार्यकर्ताहरुमा पनि अझै मन बुझाबुझ भएको देखिँदैन । जबसम्म आम नागरिकको मन र विश्वास जित्न सकिँदैन तबसम्म जस्तै गठबन्धन गरे पनि उनीहरुलाई कसैले पत्याउने अवस्था बन्दैन । तसर्थ सत्ता गठबन्धनका उम्मेदवार मात्रै नभएर अन्य जोसुकै उम्मेदवारहरु पनि हामीसँग कमजोर नै सावित हुन्छन् ।

एमालेलाई गठबन्धनले घेराबन्दी गरिरहेको छ । यो अवस्थामा मतदाताको सहयोगबाट घेराबन्दी तोड्ने विश्वास छ ?

असैद्धान्तिक रुपमा भएको गठबन्धन नेकपा एमालेलाई मात्रै घेराबन्दीमा पार्ने उद्देश्यले तयार गरिएको गठबन्धन हो । जुन गठबन्धनको उद्देश्य एमालेलाई हराउने मात्रै छ । राष्ट्र कसरी बनाउने, जनताहरुलाई कसरी समृद्धिको बाटोतिर लैजाने भन्ने प्रकारका योजना छैनन् । नेपाली काँग्रेस पुँजीवादी दृष्टिकोण राख्ने पार्टी हो । माओवादी केन्द्र समाजवादीे दृष्टिकोण राख्छु भन्ने पार्टी हो । जनमोर्चा संघीयता विरोधी पार्टी हो । माओवादी संघीयताको प्रखर प्रवक्ताको रुपमा आफूलाई ठान्छ । यस्ता सैद्धान्तिक बेमेल भएका पार्टीहरुको गठबन्धन जुन नेपाली जनताको, नेपाल राष्ट्रको समृद्धि र विकाससँग सम्बन्धित छैन । त्यसैले यो गठबन्धनलाई नेपाली जनताहरुले आम रुपबाट बुझ्नेछन् र एमालेलाई मत दिएर समृद्धिको यात्राको सहयोगी बनेर हामीलाई मतदान गर्ने विश्वास हामीले लिएका छौँ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको अवस्था कस्तो छ ? त्यो परिणाम नै जीत र हारको आधार बन्न सक्छ कि सक्दैन ?

निश्चिय नै राजनीतिक आधारहरु मुलभूत रुपमा त्यही नै हुन् । गठबन्धन दलका उम्मेदवार सबै एक ठाउँमा, एमाले एक्लै तिनीहरुको बिरुद्धमा उभिँदा पनि हामी अगाडि छौं । अझ हामीले मेचीनगर नगरपालिकाका प्रमुखले पाएको मतलाई आधार बनाउँदा पाँच हजारभन्दा अधिक मतबाट अघि बढेका छौँ । वडाध्यक्षले पाएको मतको गणनाको आधार पनि मुख्य आधार भित्र नै राख्न सकिने हो ।

अहिले राष्ट्र निर्माणका एजेण्डाहरुसँग पनि सम्बन्धित भएर र गठबन्धनका दलका बीचमा अविश्वास पनि स्थानीय तहदेखि पैदा भएको छ । त्यो अविश्वास भनेको नेपाली काँग्रेसले माओवादी शक्तिलाई उपयोग मात्रै गर्यो भन्ने प्रतिक्रिया छ यस क्षेत्रमा । त्यस्तै अन्य दलहरुमा पनि त्यही नै बुझाई रहेको छ । यस क्षेत्रमा जसले गर्दा कम्युनिष्ट मतदाताहरुको मत एमालेलाई आउने विश्वास हामीले गरेका छौँ । त्यसो भएमा स्थानीय तहको भन्दा यस क्षेत्रमा एमालेको मत संख्या बढेर आउने देखिन्छ ।

चुनाव जितेपछि मतदाताको घरआँगनमा फर्किएर नेताहरु आउँदैनन् भन्ने गुनासो पनि सुनिन्छ । तपाई आउनु हुन्छ भन्ने ग्यारेण्टी के छ ?

म मेचीनगरको संस्थापक नगरप्रमुख हुँदाखेरी सजीव सम्बन्ध सबै वडामा सबै जनताको बीचमा कार्यक्रमिक रुपमा नै पनि भएको हो । त्यस्तै संविधान सभामा प्रतिनिधित्व गरिसकेप छाडि लामो समय व्यतित गर्नुपर्यो, त्यो तपाईंहरु सबैलाई थाहा छ । सो अवधिमा पनि स्थानीय आवश्यकता अनुसार निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा आइरहेँ । २०७२ साल असोज ३ गतेका दिन संविधान घोषणा भयो । २०७२ असोज ३ गतेपछि म संविधानमा भएका उपलब्धीहरु यहीँ आएर आफ्ना मतदाताहरु माझ बुझाउने कार्यमा लागेँ । त्यसपछि बाँकी रहेको आफ्नो कार्यकाल जनताको सेवा र यस क्षेत्रको समग्र विकासका लागि लागेँ । यो यस क्षेत्रका आम मतदाताहरुलाई अवगत भएको कुरा हो ।

मलाई जनताले संविधान निर्माणका लागि मतदान गर्नुभएको थियो । मैले मेरो जिम्मेवारीमा आएको काम पूरा गरेको छु । यस क्षेत्रको जनताको शीर उच्च पारेर हिंड्न सक्ने वातावरणको सिर्जना गरिएको छ । म गर्व गर्छु र यहाँका जनतालाई गर्बिलो बन्नका लागि हार्दिक अनुरोध गर्दछु । र, स्मरण गराउँछु कि अन्य निर्वाचन क्षेत्रमा यस्तो भयो होला । अनेकन जिम्मेवारीहरुले उहाँहरु आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर आउन पाउनु भएन होला । तर मेरो अवस्था फरक थियो । मैले आफ्नो निर्वाचन क्षेत्रमा लगभग आधाउधी समय जिल्लामा नै रहेर काम गरेको थिएँ ।

युवा जमातमा दलप्रति वितृष्णा बढिरहेको छ भन्ने प्रचार भइरहेको छ । दलप्रतिको आकर्षण कसरी बढाउन सकिएला ?
हामीले युवा वर्गमा खासगरी पढेलेखेका विद्यार्थीहरुको बीचमा राजनीति दलले संस्कारयुक्त राजनीति गर्नसक्ने वातावरण बनाएर तिनका अपेक्षाहरुलाई सम्बोधन गर्न आवश्यक छ । जसरी पहिला अनेरास्ववियु, प्ररायुसंघहरुले सम्बोधन गर्दथे र तिनीहरुको अपेक्षालाई पूरा गर्दै जाने हाम्रो प्रचलन थियो त्यो बिरासतलाई पुनः स्थापित गर्नुपर्दछ । र, उनीहरुका बीच राजनीति के हो ? राजनीतिको मूल बाटो हिंड्दा मात्रै देशको मूल नीति बनाउन सक्छौँ र देशको मूल नीति नै राजनीति हो भन्ने कुरा राख्न सक्नुपर्दछ ।

युवा वर्गले रोजगारी गर्ने बाटोबाट अब मुलुकले ठूलो फड्को मारेर जानुपर्दछ र त्यो स्थिति पैदा गर्नु पर्दछ । नेकपा एमालेको सरकारले रोजगारी प्रबद्र्धन गर्ने खालका कार्यक्रमहरु अघि सारेको छ । ५ वर्षमा २५ लाख युवालाई रोजगार दिने ग्यारेन्टीसहितको घोषणापत्र जारी गरिएको छ । यी कुरालाई स्थापित गर्न सक्यौँ भने नेकपा एमालेलाई युवामाझ लोकप्रिय बनाउन सकिन्छ ।

अन्त्यमा, आम मतदातालाई तपाईको सन्देश केही छ ?
यो क्षेत्रलाई कम्युनिष्ट पार्टीले खासगरी नेकपा एमालेले एउटा आधार भूमिको रुपमा बुझ्दछ । यस क्षेत्रका सचेत मतदाताहरु सदैब नेकपा एमालेको पक्षमा उभिनु भएको छ । उभिइरहनु भएको छ । आम मतदाताहरु पनि गठबन्धनबाट दिशा हिनताको अवस्थालाई पछ्याउन छाडेर नेकपा एमाले पार्टीलाई मतदान गर्न उत्सुक हुनुभएको छ । समृद्ध नेपाल सुखी नेपालीको महान आकांक्षा पूरा गर्नका लागि तपाईं जुनसुकै पार्टीमा रहनुभएको भए पनि हामीलाई साथ दिनको लागि अपील गर्दर्छौँ । स्थानीय आवश्यकता र चुनौतिहरुलाई पार लगाउनका लागि हाम्रो उपस्थिति यस क्षेत्रका लागि महत्वपूर्ण रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । हाम्रो पार्टीले अंगालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न तपाईंको एक मत अमूल्य हुनेछ । धन्यवाद ।

प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]