बैशाख ६, २०८१ बिहीबार

भोट माग्न भूमि आयोगका अध्यक्ष गुहारे विश्वप्रकाशले

झापा, २८ कार्तिक । निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले झापा पुगेर नेपाली कांग्रेसका उम्मेद्वारको पक्षमा भोट मागेका छन् ।

आयोगका अध्यक्ष निरौलाले यही कार्तिक २१ गते सोमवार झापाको मेचीनगरमा सुकुम्बासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा–१ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका विश्वप्रकाश शर्माको पक्षमा भोट मागेका हुन् ।
कांग्रेसका उम्मेद्वार शर्माको गृहनगर मेचीनगरको वडा नं. १० धुलावारीस्थित पार्टीका एक कार्यकर्ताको घरमा सुकुम्बासी भेला गरेर अध्यक्ष निरौलाले विश्वप्रकाशलाई भोट दिए मात्र जग्गाको धनीपूर्जा दिलाउने प्रलोभन देखाए ।

‘विश्वप्रकाशजी नै यहाँ संसद्मा उठेका छन्,’ आयोगका अध्यक्ष निरौलाले सुकुम्बासी भेलामा भनेका छन्–‘अरु जेसुकै भए पनि कामका लागि हामीले विश्वप्रकाशलाई जिताउनु पर्छ । गठबन्धनलाई जिताउनु पर्छ । मैले यो कुरा मेची महाकाली सबैतिर भन्दै आएको छु ।’

अध्यक्ष निरौला कांग्रेस उम्मेद्वार शर्माका लागि सुकुम्बासीको मत प्रभावित गर्न दलबलसहित मेचीनगर आएका थिए । निरौलालाई उम्मेद्वार शर्माले नै गुहारेका हुन् ।

‘पहिल्यैदेखि यो समस्या हामीले विश्वप्रकाशलाई राखेका हौं,’ भेलामा बोल्ने एक सुकुम्बासीले शर्माको भनाई उद्धृत गर्दै भनेका छन्–‘उहाँले भन्नुभएको छ, म केन्द्रीय अध्यक्षसँग नै तपाईहरुलाई भेट गरेर कुरा गराइदिन्छु ।’
उनले मेचीनगरको वडा नं. १० र १५ का साथै बुद्धशान्तिमा सुकुम्बासीको भेला आयोजना गरेर सत्ता गठबन्धन र उम्मेद्वार शर्मालाई भोट मागेका थिए ।

निरौलाको दलबलमा आयोगका अन्य केन्द्रीय पदाधिकारी, आयोगका झापा अध्यक्ष तिलक पाण्डे, नेपाली कांग्रेस झापा निवत्र्तमान सचिव प्रेम सम्बाहाम्फे, नेपाल शिक्षक महासंघ झापाका निवत्र्तमान अध्यक्ष एवम् धुलाबारी माविका शिक्षक तेजप्रसाद चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

‘तपाईहरुलाई हामी विश्वस्त तुल्याउँछौं, यो काम गर्छौं,’ भेलामा सहभागी सुकुम्बासीहरुलाई सम्बोधन गर्दै निरौलाले भने–‘त्यसमा एउटा अवस्था चाहिँ के आउनु पर्छ भने नि, गठबन्धनको सरकार हुनुपर्छ । गठबन्धनको सरकार भएन भने काम हुँदैन ।’
निर्वाचन आचारसंहिता–२०७९ ले नेपाल सरकारले गठन गरेको कुनै पनि आयोगका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गनै नहुने’ प्रष्ट व्यवस्था गरेको छ । (परिच्छेद ३ को दफा ५)

निर्वाचन आचारसंहिताले नेपाल सरकारको सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र ‘सरकारी स्रोत र साधन कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था गरेको छ । (परिच्छेद २ को दफा ४ को ‘क’ र ‘न’ )
आचारसंहिताको उल्लंघन गरेमा निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेद्वारी रद्द गर्न सक्ने कानूनी व्यवस्था समेत रहेको छ ।

झापा १ मा यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री शर्मा दुई पटक पराजित भइसकेका छन् । तेस्रोपटक प्रतिष्पर्धामा उत्रिएका उनले चुनावमा साम, दाम, दण्ड र भेदको प्रयोग गर्दै आएको प्रतिष्पर्धी उम्मेद्वारहरुको दावी छ ।

कांग्रेस उम्मेद्वार शर्माले मेचीनगर–२ मा आगलागी पीडित केवल निरौलालाई मेची अभियानको नामबाट संकलित २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग नगदै वितरण गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

त्यसपछि शर्माका प्रचारप्रसारमा संलग्नहरुले सेतोपाटी अनलाइनको प्रयोग गरी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार अग्निप्रसाद खरेलको जेठो छोरा अमेरिकी सेनामा जागिरे भएको विषय जोडेर चरित्र हत्या प्रयास गरेका थिए ।
उक्त समाचारको विषयमा निर्वाचन आयोग र प्रेस काउन्सिलले उम्मेद्वारको परिवारको सदस्यको निजी विषय जोडेर किन दुष्प्रचार गरेको भन्दै सेतोपाटी अनलाइनलाई २४ घण्टे छुट्टाछुट्टै स्पष्टिकरण साधेको थियो ।

एकपछि अर्को आचारसंहिताको उल्लंघन गरेको भनेर निर्वाचन आयोगले स्पष्टिकरण सोध्दा समेत उम्मेद्वार शर्माले फेरि भूमि आयोगका केन्द्रीय र जिल्ला अध्यक्षलाई झापा गुहारेर सुकुम्बासीको मत प्रभावित गर्न प्रयास गरिरहेका छन् ।

आयोगका अध्यक्ष निरौलाले बोलेको अब सुन्नुहोस् अडियो प्रमाण :

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]