बैशाख १३, २०८१ बिहीबार

एमालेले भन्यो-‘भूमि आयोग गुहार्नु हारको मानसिकता’

मेचीनगर, २८ कार्तिक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले आपत्ति जनाएको छ ।

आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।

एमालेले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कार्वाही समेत जोडदार माग गरेको छ । गठबन्धनका उम्मेद्वारहरु हारको मानिसकतामा पुगेपछि आचारसंहिता मिच्न थालेको एमालेको भनाई छ ।

मेचीनगरको वडा नं. १० धुलावारीस्थित कांग्रेसका एक कार्यकर्ताको घरमा सुकुम्बासीहरुको भेला आयोजना गरिएको र त्यहाँ आयोगका अध्यक्षले कांग्रेसका उम्मेद्वार शर्माको पक्षमा खुलेआम भोट मागेको सम्बन्धी एउटा अडियो आज अपरान्ह काठमाडौंको नेपाल प्रेस लगायतका विभिन्न मिडियामार्फत सार्वजनिक भएको थियो ।

सो अडियो सार्वजनिक भए लगत्तै नेकपा एमाले झापा क्षेत्र नं. १ ले धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

एमालेका झापा १ का अध्यक्ष टिकाराम मग्रातीले कांग्रेसले पराजित मनस्थितिका कारण राज्यशक्तिको चरम दुरुपयोग र एकपछि अर्को आचारसंहिताको उल्लंघन गरिरहेको बताए ।

उनले भूमि आयोगका अध्यक्ष निरौलाले उम्मेद्वारको पक्षमा भोट माग्ने कार्य निर्वाचन आचारसंहिता विपरीत भएको हुँदा तत्काल निर्वाचन आयोगले कार्वाही प्रक्रिया थाल्नु पर्ने माग गरे ।

पत्रकार सम्मेलनमा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीले सत्ता गठबन्धनले आचारसंहिता पालना गर्नु नपर्ने हो कि भन्दै प्रश्न गरेका थिए ।

कांग्रेस गठबन्धनले आचारसंहिताको धज्जी उडाउँदै जाने हो भने एमालेको धैर्यको बाँध टुट्ने चेतावनी दिएका छन् ।

के छ अडियोमा ?

निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले झापा पुगेर नेपाली कांग्रेसका उम्मेद्वारको पक्षमा भोट मागेको अडियोमा प्रष्ट सुनिन्छ ।

कांग्रेसका उम्मेद्वार शर्माको आग्रहमा मेचीनगर आएका निरौलाले विश्वप्रकाशलाई भोट दिए मात्र जग्गाको धनीपूर्जा दिने भनेर सुकुम्बासीलाई प्रलोभन देखाएको समेत अडियोमा प्रष्ट सुनिन्छ ।

‘विश्वप्रकाशजी नै यहाँ संसद्मा उठेका छन्,’ आयोगका अध्यक्ष निरौलाले अडियोमा भनेका छन्–‘अरु जेसुकै भए पनि कामका लागि हामीले विश्वप्रकाशलाई जिताउनु पर्छ । गठबन्धनलाई जिताउनु पर्छ । मैले यो कुरा मेची महाकाली सबैतिर भन्दै आएको छु ।’

अडियोमा भूमि आयोगका झापा अध्यक्ष तिलक पाण्डे, नेपाली कांग्रेस झापा निवत्र्तमान सचिव प्रेम सम्बाहाम्फे र नेपाल शिक्षक महासंघ झापाका निवत्र्तमान अध्यक्ष एवम् धुलाबारी माविका शिक्षक तेजप्रसाद चौलागाईले समेत सुकुम्बासीलाई प्रलोभनमा पार्ने अभिव्यक्ति दिएको सुनिन्छ ।

‘तपाईहरुलाई हामी विश्वस्त तुल्याउँछौं, यो काम गर्छौं,’ अडियोमा निरौला भन्छन्–‘त्यसमा एउटा अवस्था चाहिँ के आउनु पर्छ भने नि, गठबन्धनको सरकार हुनुपर्छ । गठबन्धनको सरकार भएन भने काम हुँदैन ।’

कानून भन्छ–कार्वाही हुन्छ

निर्वाचन आचारसंहिता–२०७९ ले नेपाल सरकारले गठन गरेको कुनै पनि आयोगका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गनै नहुने’ प्रष्ट व्यवस्था गरेको छ । (परिच्छेद ३ को दफा ५)

निर्वाचन आचारसंहिताले नेपाल सरकारको सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र ‘सरकारी स्रोत र साधन कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था गरेको छ । (परिच्छेद २ को दफा ४ को ‘क’ र ‘न’ )

आचारसंहिताको उल्लंघन गरेमा निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेद्वारी रद्द गर्न सक्ने कानूनी व्यवस्था समेत रहेको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]