जेष्ठ ४, २०८२ शनिबार

एमाले सिध्याउने गठबन्धनको योजना विफल : घिमिरे

अच्यूत सुवेदी

झापा । झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेले देशव्यापी रुपमा परिणाम हेर्दा यहाँको नतिजा अस्वभाविक नरहेको बताएका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहेका घिमिरेले एमालेलाई सिध्याउने गठबन्धनको योजना हुँदा पनि यतिको राम्रो नतिजा आउनु स्वभाविक रहेको बताए ।

उनले एमालेलाई सिध्याउछौँ भनेर लाग्ने दलहरुको योजनालाई मंसिर ४ को निर्वाचनबाट जनताले विफल बनाइदिएको बताए । उनले भने, ‘एमालेले गरेका राम्रा कामका कारण जनताले एमालेको चुनाव चिह्न र एमालेको समर्थनमा उठेका सांसदलाई विजयी गराए ।’ उनले आफु प्रति जनताले गरेको आशा जसरी भए पनि पुरा गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।

तर उनले अहिलेको चुनावी नतिजाले अबको ५ वर्ष पछि देशमा जति बिकास निर्माणका काम हुनुपर्ने हो त्यति नहुन सक्ने आशंका समेत व्यक्त गरे । सरकारको नेतृत्व एमालेले गर्ने वातावरण बने देशमा बिकासको भूमरी चल्ने भन्दै भने, ‘यहि एमाले प्रतिपक्षमा बस्नुपरे देश फेरि पनि बर्बादी तिर जानसक्छ । बितेको २ वर्षमा नै गठबन्धनले देशलाई यो हालतमा पु¥याइसकेको छ । अव पनि उनीहरुकै हातमा देश जाने हो भने झन् के होला ?’

यस्तै, झापा क्षेत्र नं. २ प्रदेश सभा १ बाट निर्वाचित प्रदेशसभा सांसद एकराज कार्कीले जतिसुकै घेराबन्दी गरे पनि प्रदेश १ मा एमाले ठूलो पार्टी बन्न सफल भएको बताए । एमालेलाई कुनै पनि हालतमा जित्न नदिने योजना बनाएर गठबन्धनले कतिपय ठाउँमा उम्मेदवार नहुँदा अर्को क्षेत्रबाट ल्याएर पनि उम्मेदवार बनाएको तर एमाले हराउने योजना सफल नभएको बताएका छन् ।

कार्कीले आफुले जितेसँगै अब आफ्नो क्षेत्रको बिकासमा लागि पर्ने बताएका छन् । यसअघि पनि सोहि क्षेत्रका सांसद रहेका कार्कीले बिर्तामोडको ९ वटा र कनकाईका २ वटा वडा आफ्नो क्षेत्रमा पर्ने भन्दै त्यस क्षेत्रमा बिकासका योजना बनाएर काम गर्ने प्रतिवद्वता जनाए । उनले यसअघि अधुरा रहेका योजनाहरुलाई समेत अब निरन्तरता दिने बताए । अबको ५ वर्षमा आफ्नो क्षेत्र एउटा अनुकरणीय क्षेत्रको रुपमा अगाडी लिएर जाने बिश्वास दिलाएका छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  १० : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]