बैशाख १३, २०८१ बिहीबार

झापा क्षेत्र नं. १ को पराजय उम्मेदवार परिवर्तनले होइन : शिव ढुङगेल

प्रतिनिधिसभा र प्रदेशसभाको हालै सम्पन्न निर्वाचनबाट नेकपा एमाले झापामा फेरि पहिलो पार्टी बनेको छ । ०७४ को निर्वाचनमा एमालेले कांग्रेसलाई जिल्लाभर निल गरेको थियो । यो निर्वाचनमा कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका उम्मेद्वार सबै ठाउँ पराजित भए । एमालेले पनि जित्नैपर्ने ठाउँ गुमाएको छ । स्वतन्त्र र नयाँ दलका कारण निर्वाचनमा एमालेलाई ठुलो क्षति भयो । यसै सन्दर्भमा सम्पन्न निर्वाचन, निर्वाचनमा भएका तालमेल, पार्टीभित्रका समस्या र अबको कार्यभारबारे इजलास दैनिकका सम्पादक प्रदीप परियारले नेकपा एमाले झापाका सचिव शिव ढुङगेलसँग गरेको कुराकानी प्रस्तुत छ ।

१. निर्वाचनपछि स्वभाविक रुपमा समीक्षा गरिन्छ । नेकपा एमालेले मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्राप्त परिणामका बारे के– कस्तो समीक्षा गर्नुभयो ?
– निर्वाचनमा मुलत नेकपा एमालेको पक्षमा जनमत भएको देखियो । सत्ता शक्ति र विभिन्न केन्द्रहरुका षडयन्त्रहरुका बाबजुत जनतामा उत्साह देखियो । पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित केहि छिटपुट समस्या बाहेक समग्रमा यो परिणामलाई सुखद् नै भन्नुपर्छ । झापाको सन्दर्भमा हाम्रो पार्टीले आशातित परिणाम प्राप्त गर्न सकेन । आत्मसमीक्षा गर्दै कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने पार्टीले ठहर गरेको छ ।

२. झापामा एमालेले आशा गरेको परिणाम कस्तो थियो ?
स्थानीय तहमा एमाले र राप्रपा बिच तालमेल भएको थियो । जनमतका हिसावले एमाले र राप्रपाको बिच चुनावी तालमेल हुँदा झापाका सबै निर्वाचन क्षेत्रहरु हामीले जित्ने अनुमान गरेका थियौं । तर, प्रतिनिधिसभा क्षेत्र नं. १ र प्रदेशसभा क्षेत्र नं. १(१) र क्षेत्र नं. ३(१) मा हामीले परिणाम प्राप्त गर्न सकेनौं ।

३. यि क्षेत्रहरुमा के कारण परिणाम प्राप्त गर्न सकिएन त ?
मुलत यि निर्वाचन क्षेत्रहरुमा विपक्षी गठबन्धनको निर्वाचनलाई प्रभावित गर्ने गरिका रणनीतिहरु देखिए । त्यसलाई चिर्नका लागि पार्टीको तर्फबाट अपनाइएका विधिहरु पर्याप्त भएनन् । पार्टीभित्र आन्तरिक समस्याहरु पनि उत्पन्न भए । राप्रपासँग निर्वाचनको तालमेल गरिरहँदा स्थानीय स्तरमा भएका दुई पार्टी बिचको समन्वयमा समेत केहि अभाव देखियो । जसले गर्दा तटस्थ मतहरु कांग्रेसले आकर्षित गर्न पुग्यो र निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन ।

४. झापामा राप्रपाका सबै उम्मेदवार विजयी भए । तर, एमालेका तीन उम्मेदवार पराजित हुन पुगे । ति क्षेत्रहरुमा राप्रपाको असहयोग भएको हो ?
राप्रपाका उम्मेदवारहरु विजयी भए । र, एमालेका केहि उम्मेदवारहरुले पराजय व्यहोर्नुपर्यो । राप्रपा र एमाले बिचको स्थानीय समन्वयमा केहि कमजारी भएको महसुस भएको छ । तर, राप्रपाले संस्थागत ढंगले अन्तरघात गरेको, असयोग गरेको भन्ने हाम्रो पार्टी ठहर होइन ।

५. झापा १ मा उम्मेदवार सिफारिस हुँदा रविन कोइरालाको नाम सर्वसम्मत भएको थियो । तर, सोहि निर्वाचन क्षेत्रमा अग्नि खरेललाई पठाइयो । र, कोइरालालाई प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार बनाइयो । त्यहाँको चुनावी पराजयको कारण यो पनि हो भन्ने आम कार्यकर्ताको बुझाई सत्य हो ?
सत्य होइन, रविन कोइरालालाई क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गर्दा क्षेत्रीय कमिटीले उहाँको नाम मात्रै सिफारिस गरेको थियो । पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल क्षेत्र नं. २ बाट सिफासिर हुनुभएको थियो । स्थानीय परिस्थितिको समेत मुल्याङकन गर्दै पार्टी केन्द्रले कमरेड अग्नि खरेललाई क्षेत्र नं. १ को प्रतिनिधिसभामा र रविन कोइरालालाई प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गर्यो । पार्टी क्षेत्रभित्र यो निर्णय सर्वसम्मत हिसावले नै निर्णय भएको छ । यो हारका कारण उम्मेदवार परिवर्तन होइन ।

६.जिल्लाभर एमालेले आफ्नो जनमतको गुमाएको देखिन्छ ?
देशभरीकै जनमत हेर्ने हो भने पनि एमाले पहिलो पार्टी हो । तर, अघिल्लो निर्वाचनको तुलनामा केहि जनमत घटेको देखिन्छ । गठबन्धनका विपक्षमा जनमत देखियो । गठबन्धनका कारणले एमालेलाई समेत वैकल्पिक नेतृत्व दिने कुरामा स्वतन्त्र जनमतले संसय राख्यो । जसका कारणले केहि साना दल र नयाँ दलप्रति केहि मत प्रभावित भएको देखिन्छ ।

७.झापा क्षेत्र नं. २ लाई खासगरी एमालेको गढ मानिन्छ । तर, हालै सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई एउटा स्वतन्त्र उम्मेदवारले आच्छुआच्छु बनाए । किन यहाँ कम्यूनिष्टको विभाजनको प्रभाव परेको हो ?
विभाजनको प्रभाव भन्दा पनि मुख्य राजनीतिक पार्टीहरुको निर्वाचनको गलत रणनीतिको परिणाम हो भन्ने लाग्छ । नेपाली कांग्रेसले यो क्षेत्रमा आफ्नो उम्मेदवारी दिएन । माओवादीका तर्फबाट उम्मेदवारी दिएका व्यक्ति नेकपा एमालेका कार्यकर्ता थिए, मनोनयनकै दिन उनी माओवादीमा प्रवेश गरि उम्मेदवार बनेका थिए । जसले गर्दा माआवादी र अधिकांश कांग्रेसका मतदाताले स्वतन्त्रलाई मतदान गरे । कम्युनिष्ट मतदाताहरुले यसपटक पनि एमालेमै मतदान गरेको देखिन्छ ।

८. अहिलेको परिणाम हेर्दा आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वागत नेपाल यसै क्षेत्रमा दलहरुका लागि ठुलो चुनौति बन्ने अनुमान लगाउन सकिन्छ । यसलाई कसरी लिनुभएका छ ?
हाम्रो व्यवस्था निर्दलीय होइन । कुनै निर्वाचन क्षेत्रमा खास परिस्थितिका कारणले कोहि कोहि स्वतन्त्र उम्मेदवारले जित्न सक्छन् । यस पटक झापा क्षेत्र नं. २ मा एमाले बाहेकका राजनीतिक दलहरुले प्रत्यक्ष परोक्ष स्वतन्त्रलाई मतदान गर्ने परिस्थिति निर्माण भयो । लामो इतिहास बोकेका राजनीतिक दलहरुको जनाधार र जनविश्वास यद्दपि कायम छ । आगामी दिनमा राजनीतिक दलहरुले आफ्नो स्ट्याण्ड कायम गर्ने परिस्थिति देखिन्छ ।

९. यो निर्वाचनमा स्वतन्त्र र नयाँ दलहरुप्रति जनमत बढ्दै गएको देखिन्छ । पुराना दलहरुप्रति जनविश्वास घट्दै गएको हो ?
राजनीतिक पार्टीहरुले निश्चित मुल्यमान्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्छ । राज्य सञ्चालनको सन्दर्भमा देशको कानुन, विधि र प्रक्रियालाई अवलम्बन गर्न सक्नुपर्छ । ठुला राजनीतिक दलहरुले देशको नेतृत्व गरिरहँदा शासन प्रणालीमा कानुनी वैधता र संवैधानिक सर्वोच्चतालाई आफु अनुकुल प्रयोग गर्ने शासन प्रणालीमा भ्रष्टाचार र वेथितीलाई संस्थागत गर्ने, सरकार र शक्तिमा पुग्न देशीविदेशी शक्तिको आडमा जस्तोसुकै षडयन्त्र र राष्ट्रघाती कामहरु समेत गर्न पछि नपर्नु जस्ता घटनाहरुले जनतामा संसय उत्पन्न भएको निश्चितै हो । यसका कारण पनि राजनीति दलहरुप्रतिको जनविश्वासमा केहि कमि आएको छ । आगामी दिनमा हाम्रो पार्टी नेकर्पा माले जनताका बिचमा निराशाहरुलाई चिर्दै जनविश्विास आर्जन गर्ने कुरामा अगाडि बढ्ने छ ।

१०. एमालेले अझै पनि पराम्परागत शैलीबाट राजनीति गरिरहेको छ । जसका कारण युवाहरुको आकर्षण बढ्दो छैन । अव, पार्टीमा युवाहरुको आकर्षण बढाउन एमालेको खास भूमिका के हुन्छ ?
हाम्रो पार्टी एमालेको गठन , निर्माण र विकास युवाहरुबाटै भएको हो । कुनै बेला हाम्रो पार्टीलाई ठेट्नाहरुको पार्टी अदन्तेहरुको पार्टी भनिन्थ्यो । लामो इतिहास बलिदानीपूर्ण संघर्ष वस्तुनिष्ठ दृष्टिकोण कै कारणले नेकपा एमाले जस्तो लोकप्रीय पार्टीको रुपमा आज स्थापित छ । नयाँ चुनौतिहरुलाई सामना गर्दै अहिलेको आर्थिक , सामाजिक र राजनीतिक परिवर्तनका लागि सहि दृष्टिकोण, कार्यक्रम हुन आवश्यक छ । वर्गीय हिसावले सर्वहारा, श्रमजीवी वर्ग र मेहेनती वर्गको हितको प्रतिनिधित्व गर्दै राष्ट्र, राष्ट्रियता र जनजीवीकाको पक्षमा अनवरत संघर्षशील पार्टी भएकोले नेकपा एमाले युवाहरुका लागि समेत आशाको केन्द्र हो ।

११. अर्को विषय, बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुबाट काम अगाडि बढिरहेको छैन भन्ने आम गुनासो छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काममा लाग्न पार्टीको तर्फबाट त्यस्तो रचनात्मक निर्देशनहरु हुन्छ कि हुदैन ? अथवा कसरी निर्देश गर्दै हुनुहन्छ ?
स्थानीय तहहरु पार्टीको स्थानीय तह कमिटीबाटै निर्देशित हुने गर्छन् । पार्टीको जिल्ला कमिटीले स्थानीय तह विभाग गठन गरेको छ । र, सबै स्थानीय तहका प्रमुख जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरु विभागका सदस्य रहेका छन् । आवश्यकताका आधारमा नीति निर्देशन गर्ने र पालिकाहरु बिचको समन्वय गर्ने आदि काम जिल्ला कमिटीले गर्दछ । जहाँसम्म जनगुनासोको कुरा छ । जनप्रतिनिधिहरुलाई जनताको काममा केन्द्रित हुन निर्देशित गरिएको छ ।

१२. स्थानीय तहहरुबाट अपेक्षाकृत काम हुन सकिरहेको छैन । यसले आम नागरिकलाई निराश बनाइरहेको छ । पालिकाहरुको कामलाई प्रभावकारी बनाउन नेकपा एमालेको भूमिका के हुन्छ ?
हाम्रा जनप्रतिनिधिहरु हाम्रो पार्टीले घोषणा गरेको घोषणापत्र , पार्टीको नीति तथा कार्यक्रम र स्थानीय पार्टीको निर्णयबाट निर्देशित हुन्छन् । पार्टी निर्णय र नीति निर्देशनको पालना भए नभएको पार्टीको तर्फबाट स्थानीय तह विभाग छुट्टै गठन गरि अनुगमन गर्ने गरिएको छ । स्थानीय तहहरुलाई स्थानीय साधन स्रोत र परिस्थितिको आधारमा मौलिक ढंगले जनसरोकारका विषयहरुमा सृजनात्मक आयोजनाहरु सञ्चालन गर्न अभिप्रेरित गर्ने काम पार्टीको तर्फबाट भइरहेको छ ।

१३. हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरु मत माग्न गाउँ जादैं गर्दा आम मतदाताले जितेपछि गाउँ फर्कदैनन् भन्ने चरम गुनासो राखेको सुनियो । यस्तो अवस्था चाहि कहिलेसम्म दोहोरिरहन्छ ?
निर्वाचन पार्टीले लड्छ । उम्मेदवार पार्टीले नै बनाउछ । हरेक गाउँ टोल र वस्तीहरुमा पार्टीका कमिटीहरु हन्छन् । जनप्रतिनिधिहरुलाई सञ्चालन गर्ने काम पनि पार्टीले नै गर्दछ । आवश्यकताका आधारमा जनप्रतिनिधिहरु पार्टीको निर्देशनमा जनताको घरदैलोसम्म पनि पुग्ने गर्दछ । मुलतः जनताको दैनिक जीवनसँग स्थानीय पार्टी कमिटी जोडिएको हुनुपर्छ । र, यो समस्या स्थानीय पार्टी कमिटीले नै हल गर्दै जानुपर्दछ ।

१४. अन्त्यमा, यि निर्वाचनहरुबाट प्राप्त परिणाम र एमालेको कार्यभार बारे आम नागरिकलाई के भन्न चहानुहुन्छ ?
एमालेका विरुद्धमा भएका घेरावन्दीलाई तोड्दै प्राप्त गरेको जनमत नेपाली क्रान्तिका लागि सन्तोक गर्ने परिणाम हो भन्ने लागेको छ । नेपाली समाजमा भएको शोषण, दमन र उत्पीडिनको अन्त्य गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा आम नेता,कार्यकर्ता, समर्थक, शुभेच्छुक र न्यायप्रेमी जनतासँग एकाकार हुँदै विदेशी दलाल नोकरसाही पुँजीपति वर्ग र शोषक सामन्त वर्गका विरुद्धमा नेकपा एमालेको झण्डामुनी गोलवन्ध गराउदै नेपाली क्रान्तिलाई नयाँ शिराबाट अगाडि बढाउनु अहिलेको कार्यभार हो ।

प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]