बैशाख ११, २०८१ मंगलबार

हाजिरी जवाफ प्रतियोगितामा बाल निकुञ्ज मावि प्रथम

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बाल निकुञ्ज मा.वि. प्रथम भएको छ । बिहीवार भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बाल निकुञ्ज मावि प्रथम भएको हो ।

त्यस्तै प्रतियोगितामा शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा.वि.ले चौथो स्थान प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले नगद सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रथम हुने विद्यार्थीहरुले जनही ३५ सय, दोस्रोले ३ हजार, तेस्रोले २५ सय र सान्तवना पुरस्कार हासिल गर्ने सहभागीले १ हजार जनही प्राप्त गरेको नगर शिक्षा शाखाले जनाएको छ । त्यस्तै प्रतियोगिताको प्रारम्भिक चरण पार गर्ने चार समूहलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रारम्भिक चरणमा कक्षा १० सम्मका सबै विषयहरुबाट र समसायिक विषयहरु पनि समेटेर प्रश्न निर्माण गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख छविलाल ढकालले बताए । प्रतियोगिता ४ ओटा राउण्डमा सम्पन्न गरिएको थियो । प्रथम राउण्डको दोस्रो चरणमा ६४ ओटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए । जसको अंक भार १-१ कायम गरिएको थियो । र्यापिट फायर राउण्डमा १०-१० ओटा प्रश्न १ मिनेटमा भित्रमा उत्तर दिने गरिएको सोधिएको थियो । फोटो राउण्डमा ५-५ ओटा फोटाहरु समावेश गरी नाम सोधिएको थियो । गलत अंक दिएमा १ अंक कट्टा गरिने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख ढकालले बताए । अडियो राउण्डमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरुको आवाज सुनाइएको थियो । जसको १ मिनेट भित्रमा उत्तर दिनु पर्ने थियो भने गलत उत्तर दिए १.५ नम्बर कट्टा गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै प्रमुख थोप्राले शिवसताक्षीमा रहेका सामुदायिक विद्यालयहरुको पछिल्लो समय भौतिक अवस्था र शिक्षाको गुणस्तरमा बृद्धि हुँदै गएको बताए । उनले शिक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए । नगर शिक्षा शाखाले अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता गराएर विद्यार्थीहरुको अन्तनिहित क्षमताको विकासका लागि काम गरेको उनको भनाई थियो ।

हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षीका सामुदायिक तथा संस्थागत गरी १९ ओटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए । पौष २२ गते जिल्ला समन्वय समिति झापाले आयोजना गरिको जिल्ला स्तरीय अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगितामा लक्षित नगर शिक्षाले पनि विद्यार्थी लक्षित कार्यक्रम गरेको जनाएको छ ।

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी नगरबाट प्रतियोगिताबाट छनौट भएको विद्यार्थीहरुलाई सहभागी गराउने शिवसताक्षी नगरपालिकाले जनएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने, महिला तथा बालबालिका शाखाकी कर्मचारी देविना पराजुली, शिक्षा शाखाका प्राविधिक सहायक मिलन विष्ट रहेका थिए ।

नगर शिक्षाले विभिन्न समयमा विद्यार्थी लक्षित कार्यक्रमहरु गर्दै आएको जनाएको छ । भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश दाहालको अध्यक्षतामा भएको हाजिरी जवाफ प्रतियोगिता शिक्षा शाखा प्रमुख छविलाल ढकालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : पुष १५, २०७९ शुक्रबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]