जेष्ठ २, २०८१ बुधबार

झापामा शिक्षकको राजनीतिक सक्रियताले पठनपाठन प्रभावित

झापा । झापाको सामुदायिक विद्यालयहरुमा एक दर्जनभन्दा बढी समस्याहरु औल्याइएको छ । जसका कारण सामुदायिक विधालयहरुबाट अपेक्षाकृत परिणाम प्राप्त हुन नसकिरहेको एक अध्ययनले देखाएको छ । धेरै समस्याहरुमध्ये शिक्षकहरुको राजनीतिक सक्रियताले पठनपाठन प्रभावित भएको प्रतिवेदन नै सार्वजनिक भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र विराट सामुदायिक अध्ययन केन्द्रले सार्वजनिक गरेको शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यपत्र– २०७९ मा समस्यासँगै राम्रा अभ्यास बारे खोज गरिएको थियो । उक्त कार्यपत्र पूर्वप्राध्यापकहरु मोहनप्रसाद ओली, युवराज पाण्डे र टंक सेढाईले प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा विद्यालयको वर्गिकरण गर्न नसक्नु, अनिवार्य प्राथमिक शिक्षा कडाइका साथ लागु नहुनु, संस्थागत तथा सामुदायिक विद्यालयहरुको भौतिक संरचनाको मापदण्ड निर्धारण नगरिनु, संस्थागत विद्यालयमा प्रयोग गरिएका पाठ्यपुस्तकको बोझमा ध्यान आकर्षण नगरिनु, करारमा नियुक्त गरिने शिक्षकको नियुक्ति प्रक्रियामा पारदर्शिता, सक्षमता, योग्यता र निष्पक्षतामा ध्यान नपुग्नु र विद्यार्थी संख्याका आधारमा पालिकागत दरबन्दी मिलान गर्न नसक्नु लगायत थुप्रै समस्याहरु उल्लेख गरिएको छ ।

शिक्षा क्षेत्रमा देखिएका अन्य समस्याहरुमा शिक्षा ऐन निर्माण गर्ने क्रममा पालिका विचमा समन्वय नहुनु, सबै प्रधानाध्यापक सबल र सक्षम नहुनु, भाषाको माध्यमका नाममा सामुदायिक विद्यालयमा दुई प्रकारको प्रणालीमा शिक्षा प्रदान गर्नु, स्थानीय निकायले शिक्षाका क्षेत्रमा छुट्याएको बजेट न्यून हुुनु, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको दैनिक उपस्थितिको लेखाजोखा नहुनु, विद्यालय नियमित रूपमा अनुगमन नहुनु, प्रअ तथा शिक्षकलाई पुनर्ताजगी तालिमको कमि हुनु, बाल विकासको व्यवस्थापनमा स्थानीय तहले ध्यान नदिनु तथा शिक्षक नयाँ ज्ञान, सीप र प्रविधिमैत्री बन्न र बनाउन पनि नसक्नु । अन्य विद्यालयमा भएका राम्रा अभ्यासको अनुकरण नगर्नुलाई समस्याको रुपमा पूर्वप्रध्यापकहरुले प्रस्तुत गरेका छन् ।

यस्तै, कार्यपत्रमा झापा जिल्लामा शैक्षिक क्षेत्रमा पालिकाहरुको तर्फबाट प्रयास गरिएका राम्रा अभ्यासहरु पनि उल्लेख गरिएको छ । उक्त कार्यपत्रको आधारमा बालमैत्री शिक्षण अभियान र शिक्षाको जग निर्माणमा सहयोग गर्नु, विद्यालयमा आइसिटीको उपलब्धता र कार्यान्वयन गर्नु, क्षमता विकासका कार्यक्रम गर्नु, शिक्षा नीति निर्माण र कार्यान्वयन गर्नु र पालिका स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गर्नु मुख्य पाँच राम्रा कामहरु उल्लेख गरिएका छन् ।

त्यसै गरी पालिका स्तरीय आविस्कार केन्द्रको स्थापना गर्नु, आवासीय विद्यालयको व्यवस्था गर्नु, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको विकास र कार्यान्वयन गर्नु, शिक्षक दरबन्दी मिलान र कार्यान्वयन गर्नु, वैकल्पिक शिक्षा प्रणालीको कार्यान्वयन (अनलाइन, रेडियो, सिकाइ केन्द्र) गर्नु, वडा तथा टोल शिक्षा समिति गठन र शैक्षिक योजना निर्माणमा सहभागिता गर्नु, प्रतिभा पहिचान र वर्ष बालकको घोषणा गर्नु र सीपमूलक कम्प्यूटर तालिम सञ्चालन र क्षमता विकास गर्ने लगायतको कामहरु पनि पालिकाहरुले गरेको उक्त कार्यपत्रमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : पुष १६, २०७९ शनिबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]