जेष्ठ २, २०८१ बुधबार

बिर्तामोडमा फोहोर वर्गीकरणका लागि वडागत छलफल प्रारम्भ

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिकाले क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न लागेको हो ।

फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै फोहोरको वर्गीकरण गर्न छलफल प्रारम्भ गरेको छ । आइतवार वडा नं. ६ को कार्यालयमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने, वडाध्यक्ष सुर्य कन्दङवा, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बिचमा छलफल गरिएको थियो । छलफलका क्रममा स्रोतबाटै कुहिने, नकुहिने प्लाष्टिकजन्य र धातुजन्य गरि तीन भागमा फोहोरको वर्गीकरण गर्नुपर्ने नगर प्रमुख प्रसाईको भनाई छ ।

नगरप्रमुख प्रसाईले जथाभावी रुपमा फालिएको फोहोरले वातावरण दुषित हुनुका साथै नगरको पहिचान नै विग्रिएको बताइन् । सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई नियन्त्रण गर्न टोल विकास संस्थाका प्रतिनिधि पनि जागरुप हुनुपर्ने उनको धारणा छ । अव्यवस्थित रुपमा फालिएको फोहोरले मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्ने भएकोले स्वंम सचेत हुनपर्छ, उनले थपिन् – ‘मानव स्वास्थ्यको रक्षाका लागि पनि फोहोरको वर्गीकरणसहित व्यवस्थापन जरुरी रहेकोले नीतिगत छलफललाई अघि बढाएका हौं ।’

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कनकाई नविकरणीय उर्जामा तत्कालै फोहोर व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । उनले सो संरचनामा फोहोर व्यवस्थापन गर्न वर्गीकरण आवश्यक रहेको बताएका छन् ।

कनकाई नविकरणीय उर्जामा कुहिने फोहोरबाट ग्यास, नकुहिने प्लाष्टिकजन्य फोहोरबाट पेवर्सजन्य निर्माण सामग्री उत्पादन गरिने उनको भनाई छ ।

यस्तै, वडाध्यक्ष कन्दङ्वाले नगरलाई सफा र स्वच्छ बनाउन फोहोर वर्गीकरण गरेर उचित व्यवस्थापनका लागि काम थालिएको बताएका छन् । उनले गाउँ, नगर सफा राखेमा मात्रै देश समेत सुन्दर हुने भन्दै वडाबासीलाई फोहोर वर्गीकरण गरेर राखिदिन आग्रह गरेका छन् ।

नगरपालिकाले पहिलो चरणमा बढी फोहोर उत्पादन हुने वडाहरुमा वर्गीकरणका लागि नीतिगत छलफल अघि बढाएको हो ।

प्रकाशित मिति : पुष १७, २०७९ आईतबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]