जेष्ठ ५, २०८२ आईतबार

पर्यटकीय गन्तव्य बन्दैछ पुरानो शरणार्थी शिविर

अस्मिता साँखी
झापा । कुनै समय भुटानी शरणार्थीको आश्रयस्थल रहेको झापाको गोलधाप शिविर यतिबेला सुन्दर पार्कमा परिणत हुदैछ । भुटानी शणार्थीहरुको बसोबासका कारण बाक्लो बस्ती बनेको शिविर क्षेत्र शरणार्थी तेश्रो देश पुनर्बास कार्यक्रम पछि भने सुनसान बनेको थियो ।

झापाको गोलधापसँगै, खुदुनाबारी र बेलडाँगीमा गरी झण्डै १ लाख शरणार्थी बसोबास गर्थे । सन् १९९१ माभारत हुँदै नेपालआएका नेपालीभाषी भुटानी नागरिकहरुको बसोबास स्थलबनेको गोलधाप शिविरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो । वि सं २०४८ देखी २०६७ सम्म भुटानी शरणार्थीहरुले आश्रय लिएको शिविरलाई सहिद नेत्र स्मृति उद्यान (पार्क) को रुपमा विकास गरिएको हो ।

बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण पार्क सञ्चालनमा नआउँदै झाडीमा परिणत हुदै गएपछि केही समयअघि स्थानीय समुदायले सरसफाई अभियान सुरुआत गरेका थिए । विभिन्न किसिमका पूर्वाधार निर्माण भएपनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेको थियो । जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि,विद्यार्थी एवम् स्थानीयबासी सरसफाई कार्यमा जुटिरहेका छन् ।

आन्तरिक पर्यटक आकर्षित गर्ने, अध्ययन केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो । सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले बताएका छन् ।

उक्त स्थानलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सरकारले दुई करोड रुपैँया लगानी गरेको थियो । २२ बिघा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन पूर्वाधार संरचना निर्माण गरिएको थियो । सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्विमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो । उक्त पार्कमा निमार्ण भइसकेका संरचना झारले पुरिएपछि बजेटको अभावमा पनि श्रमदानको माध्यमबाट वडाध्यक्षको पहलमा पार्क बनाउने अभियान सुरु गरिएको हो ।

पार्कमा आकर्षक प्रवेशद्वार र उद्यानसमेत बनाइएको छ । भुटानी शरणार्थीहरुको इतिहास र योगदान झल्काउने गरी छुट्टै संग्रालय बनाउने योजना रहेको पनि खरेलको भनाई छ । हाल पार्कमा चौतारा निर्माणको काम भईरहेको र उक्त स्थानमा रहेको लक्ष्मीनारायण मन्दिर पनि संरक्षण गरिने वडाध्यक्ष खरेलले बताएका छन् । शरणार्थीहरुको बसोबासका लागि प्रयोग भएका पुराना घर टहराहरु संरक्षण गरेर भुटानीहरुको अस्तित्व बचाउने र मौलिकता झल्किने गरी उक्त सहिद नेत्र पार्क निर्माण भइरहेको बिर्तामाोड नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]