पारिश्रमिक नपाएपछि स्थानीय सरकार गुहार्दै गिरीबन्धुका चिया मजदुर
बिर्तामोड । झापाको गिरीबन्धु टि–स्टेट प्रा.लिले ०८० फागुनदेखि चिया मजदुरहरुलाई पारिश्रमिक दिइरहेको छैन । पारिश्रमिक नदिएको भन्दै चिया मजदुरहरुले बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
मजदुरहरुले सोमवार बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । गिरीबन्धु टि–स्टेटमा अहिले १ सय ७० जना मजदुर स्थायी रुपमा कार्यरत छन् ।
विर्तामोड नगरपालिका ६ र अर्जुनधारा नगरपालिका ११ मा अवस्थित गिरी बन्धु टि इस्टेट प्रा.लि. कार्यरत श्रमिकहरुलाई पाक्षिक भुक्तानी दिने व्यवस्था रहेको नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघ प्रतिष्ठान स्तरको ट्रेड युनियन गिरी बन्धु टि इस्टेट प्रा.लि. का अध्यक्ष नारायण दर्जीले जानकारी दिए ।
अध्यक्ष दर्जीका अनुसार गत फागुन ३० गतेदेखि ०८१ बैशाख २८ गतेसम्मको चार पटकको भुक्तानी रोकिएको छ । पारिश्रमिक नपाएपछि श्रमिकहरु भोकभोकै काम गर्न बाध्य भएको उनको भनाई छ । व्यवस्थापकसँग पारिश्रमिक भुक्तानी माग गर्दा बगान बन्द रहेको भन्ने प्रतिक्रिया दिर्दै आएको श्रमिकहरुको भनाई छ ।
ज्ञापनपत्र बुझाउदै उनीहरुले समस्या समाधानको समाधान नभए आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जवाफदेही नहुने ज्ञापनपत्रमा उल्लेख छ । गिरी बन्धु टि इस्टेट प्रा.लि. का व्यवस्थापकलाई ज्ञापनपत्रको बोधार्थ पठाईएको छ ।
अध्यक्ष दर्जीले तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाई छ । उनका अनुसार भोकै काम गर्न अब सकिदैन । दैनिक ५ सय रुपैयाँका दरले ज्याला पाउने चिया मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको मजदुरहरुको भनाई छ ।
बगान फाड्ने र घाटाको समस्या देखाउदै उनीहरुलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको श्रमिकको आरोप छ । दैनिक रुपमा चिया पत्ति टिपेर बुझाइरहँदा पनि कम्पनीले घाटा भएको भन्दै ज्यालाबाट बञ्चित गरिरहेको उनीहरु बताउँछन् ।
गिरीबन्धु टि–स्टेटका व्यवस्थापक सन्त कुमार राईले पैसा नभएकै कारण भुक्तानी दिन नसकेको बताए । केहि रकम भुक्तानी दिइएको थियो । बाँकी रकम पैसाको व्यवस्था मिलाएर उपलब्ध गराउने उनको भनाई छ ।