बैशाख २१, २०८१ शुक्रबार

प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार संघीय संसद् सचिवालयलाई पत्र पठाएर पुस २६ गते विश्वासको मत लिने बताएका छन्। त्यसका लागि आवश्यक तयारी गर्न संसद् सचिवालयलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने उपधारा ४ मा व्यवस्था गरिएको छ। त्यही व्यवस्था अनुसार, प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने भएका हुन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता दाहालले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सहित १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए । राप्रपा, जसपा र उन्मुक्ति पार्टी भने अझै सरकारमा सहभागी भएका छैनन् ।

प्रतिनिधि सभामा २७५ सांसद छन्। विश्वासको मतका लागि १३८ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति : पुष १८, २०७९ सोमबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]