बैशाख २१, २०८१ शुक्रबार

प्रचण्ड सरकार ढाल्न कांग्रेस सक्रिय, लिङ्देनलाई प्रधानमन्त्री अफर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस सक्रिय भएको छ । २६ पुसमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदैछन् ।

प्रचण्डलाई विश्वासको मत पाउनबाटै वञ्चित गरिदिएर सरकार ढाल्ने गरी कांग्रेस सक्रिय बनेको हो । यसका लागि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादी पार्टी जसपालाई फकाइरहेको छ । राप्रपा र जसपालाई अहिलेको सत्ता गठबन्धनबाट बाहिर ल्याउन कांग्रेसले अधिकतम प्रयास गरिरहेको छ ।

स्रोतका अनुसार सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न सकिने अफरसमेत कांग्रेसले दिएको छ । राप्रपाका एक शीर्ष नेताले पनि दाहाल नेतृत्वको सरकार ढाल्न आफूहरूलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताए ।

’प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिन सकिने भनेर कांग्रेसबाट प्रस्ताव आएको साँचो हो’, ती नेताले भने, ’छलफलहरू भइरहेका छन् ।’ उनका अनुसार कांग्रेससहित भारतीय र अमेरिकी शक्ति केन्द्रहरूले पनि यसमा प्रयास गरिरहेका छन् ।

’जसरी पनि विश्वासको मत नदिएर दाहाल सरकार ढाल्न देशभित्र र बाहिरका शक्तिहरू व्यापकै लागेका छन् । भारत र अमेरिकाले पनि खेलिरहेको पाइएको छ’, उनले भने ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने आफूहरू अनैतिक खेलमा नलाग्ने बताए । उनका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने बेला यस्ता प्रस्तावहरू आउनु स्वभाविकै हो ।

उनले जुनसुकै प्रस्ताव आए पनि राप्रपाले परिपक्व निर्णय गर्ने बताए । सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर आफूहरू अगाडि बढ्ने उनले बताए । शिलापत्र

प्रकाशित मिति : पुष २२, २०७९ शुक्रबार  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]