सत्ता गठबन्धन देश र जनताको लागि केही गर्न बनेको हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमले अबको सरकारको मार्गचित्र देखिएको बताउनु भएकोछ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो टीम देश र जनताको लागि केही गर्न बनेको हो । सरकार बन्नको लागि बनेको होइन । एउटा गठबन्धनको ठाउँमा अर्को गठबन्धन भएको होइन । अहिलेको जनादेश नै फरक हो । अहिलेको जनादेशले केही नयाँ पार्टी र सांसदको उदय भएको छ । हिजो जुन गठबन्धन थियो, त्यसमा आफैंमा सरकार बनाउन सक्ने सामर्थ्य पनि रहेन ।’
गठबन्धनको डेढ वर्षको कार्यकाल हेर्दा देश र जनताको पक्षमा काम गर्ने ल्याकत र क्षमता नदेखिएको उहाँको भनाइ छ । ताजा जनादेशअनुसार जनताको आशा र भरोसाअनुसार अहिलेको सरकार बनेको उहाँले जिकिर गर्नुभयो ।