बैशाख १४, २०८१ शुक्रबार

झापाका विद्यार्थी स्ववियु चुनावको तयारीमा

गगन ढकाल
झापा । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । मिति तोकेपछि झापामा मुख्य रुपमा सक्रिय भएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन क्रान्तिकारी (अनेरास्ववियु क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ (नेवि संघ) ले चुनावी तयारी थालेका छन् । विद्यार्थी संघसंगठनहरुले स्ववियु चुनावलाई विद्यार्थीमा राजनीतिक चेतना बृद्धि गराउने विशेष अवसरको रुपमा लिएको बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठनहरु आन्तरिक तयारीमा जुटेका छन् । करिब ७ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी सङ्गठनका नेताहरुले निर्वाचन केन्द्रीत छलफल थालेका छन् ।

अनेरास्ववियु झापा जिल्लाका अध्यक्ष रोशन लामाले चैत ५ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियुले झापाका ८० प्रतिशत माथि क्याम्पसहरुमा आफ्नो संगठनले जीत निकाल्ने जिकिर गरेका छन् । उनी भन्छन्, ‘स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको अस्तित्व जोगाउँछ, स्ववियु निर्वाचन नगराएर विद्यार्थी आन्दोलनलाई नै कमजोर बनाउने कोशिष भएको समयमा स्ववियु निर्वाचनको पक्षमा छौँ । हामी झापामा कम्तिमा ८० प्रतिशत क्याम्पसमा जित्ने गरी लागेका छौँ ।’ स्ववियु निर्वाचनलाई पटक पटक धकेलेर विद्यार्थी आन्दोलनलको गौरवलाई संकटमा पार्ने काम भएको बताउँदै उनले हाल स्ववियु निर्वाचन हुनु भनेको विद्यार्थी आन्दोलनको बिरासतलाई जोगाउने राम्रो अवसर भएको बताए । उनी थप्छन् ‘हामीमा ०७३ को हारको जुन पीडा छ त्यसाई निको पार्ने गरि हामी यस पटकको स्ववियुमा परिणम निकाल्ने गरि लागि परेका छौँ ।’

त्यसै गरी नेविसंघका जिल्ला सभापति राजेन्द्र उप्रेतीले ०७३ मा प्राप्त गरेको प्रतिफललाई बढाउने बताएका छन् । उनी भन्छन् ‘त्रिवि अन्तर्गत रहेका जिल्लाका सबै क्याम्पसमा चुनाव गर्न गराउन हामी सकारात्मक छौँ किनभने स्ववियुले युवाहरुमा रहेको राजनीतिप्रति बढेको नकरात्मक दृष्टिलाई हटाउँछ । युवा विद्यार्थीहरुमा राजनीतिक चेतनाको अभिवृद्धि गराउन भए पनि स्ववियु चुनाव आवश्यक रहेको थियो ।’

अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रञ्जन धमलाले स्ववियु निर्वाचन हुनुलाई खुशी मनाउनु पर्ने कुरा भएको बताएका छन् । उनी भन्छन् ‘विद्यार्थीहरुले रगत बगाएर प्राप्त गरेको स्ववियु खारेज हुने ठाउँमा पुगि सकेको थियो । तर, त्रिविले स्ववियु प्रति चासो देखाएको छ । यसमा हामीले खुशी हुनुपर्छ ।’, उनले भने ‘युवा पुस्तामा आएको पार्टी पोलिटिक्स प्रतिको नैराश्यतालाई चिर्न पनि स्ववियु आवश्यक छ । स्ववियुले विद्यार्थी अवस्था देखि नै युवाहरुमा यो व्यवस्थाको बारेका बुझ्न मद्दत गर्दछ ।’ उनले थपे ‘स्ववियु भनेको विद्यार्थीको सरकार हो, यसले विद्यार्थीहरुमा राजनीतिक व्यवहारको बिकास गराउदछ । हाल राष्ट्रिय राजनीतिमा स्वतन्त्र व्यक्तिहरुको चाम बढ्नु पनि स्ववियु निर्वाचन समयमा नभएरै हो ।’

वि.सं. २०७३ चैत १५ गते सम्पन्न स्ववियु निर्वाचनमा झापामा नौ वटा क्याम्पसमा निर्वाचन भएको थियो भने शनिश्चरे बहुमुखी क्याम्पस र कनकाई बहुमुखी सुरुङ्गामा अन्तिम अवस्थामा विवाद आएको कारण निर्वाचन भएको थिएन । ०७३ मा काँरभिट्टा बहुमुखी, त्रिदेव बहुमुखी, कनकाई बहुमुखी बिर्तामोड, देवी÷इन्द्रचन्द्र बहुमुखी क्याम्पस, मेची बहुमुखी, दमक बहुमुखी, गरामनी बहुमुखी, गौरीगञ्ज बुहुमुखी र गौरादह बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो । जसमध्ये देवी÷इन्द्रचन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु (क्रान्तिकारी)ले जीत हासिल गरेको एक मात्र क्याम्पस हो भने त्रिदेव बहुमुखी क्याम्पस र गौरादह बहुमुखी क्याम्पसलगायत दुई वटा क्याम्पसहरुमा मात्र अनेरास्ववियुले जीत हासिल गरेको थियो । बाँकी रहेका छ वटा क्याम्पसहरुमा नेवि संघले जीत प्राप्त गरेको थियो । यो सालको निर्वाचनमा केही क्याम्पसहरु पनि थपिने सम्भावना रहेको छ ।

यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुन सकेको छैन । त्रिवि क्याम्पसमा विगत सात वर्ष यता स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालदेखि नै नियमित हुन सकेको छैन ।

देशभरमा त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । स्ववियुमा पदापधकारीहरुमा सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुन्छन् भने उपसभापती र सहसचिव समानुपातिक प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : पुष २६, २०७९ मंगलबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]