दुई महामन्त्रीको असहमतीका बाबजुद काँग्रेसले पनि सरकारलाई विश्वासको मत दिने
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ती नेताले भने, ‘प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय भएको छ ।’
असहमत थिए २ महामन्त्रीसहित ४ जना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका थिए ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका थिए ।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।
जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ४ जनाले फरक मत राखेका हुन् ।