बैशाख ४, २०८१ मंगलबार

स्ववियु निर्वाचन, यसकोे महत्व र भूमिका

तुलसीराम पौडेल 

विद्यार्थीको हकहितको रक्षा गर्दै आम विद्यार्थीहरुको मागको सम्बोधन गर्नकाका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउन, विद्यार्थीको विपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई स–प्रमाण विद्यार्थी माझ पुर्याउन, सो गलत निर्णयलाई सच्याउन प्रशासनलाई दबाब दिन, क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि क्याम्पस प्रशासनसँग सहकार्य गर्न, विद्यार्थी र क्याम्पस प्रशासनबीच सेतुको भूमिका निर्वाह गर्न आम विद्यार्थीको प्रतिनिधिमुलक संस्था हो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) । सरल वाक्यमा भन्ने हो भने यो विद्यार्थीहरुको सरकार हो । प्रत्येक २-२ बर्षमा हुनु पर्ने हाम्रो सरकारको निर्वाचन करिब ७ वर्षदेखि हुन सकेको छैन । यदि तोकिएकै मितिमा हुन्थ्यो भने आज स्ववियुको महत्त्व र भूमिका सम्बन्धमा विद्यार्थीलाई प्रकाश पार्न जरुरी हुन्नथ्यो तर बिडम्बना धेरै जसो क्याम्पसमा वि.सं. २०७३ चैतदेखि निर्वाचन हुन सकेको छैन ।

स्ववियुको महत्व र भूमिकाका सम्बन्धमा कुरा गर्नु पर्दा विद्यार्थी आन्दोलनलाई छोड्न सकिन्न किनभने लामो समयको विद्यार्थी आन्दोलनको ऐतिहासिक उप्लब्धी हो स्ववियु निर्वाचन । विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभुमिको कुरा गर्नु पर्दा राणाकामसम्म नै पुग्नु पर्ने हुन्छ । राणाकालमा एउटै पेशामा आबद्ध भएका व्यक्तीहरु मिलेर संघ वा युनियन बनाउन सजिलो कुरा थिएन तर प्राध्यापक र विद्यार्थीले भने यस्तो अवसर राणाकालमा नै पाएका थिए । राणा शासनको अन्त्यका लागि प्रजापरिषद्को अगुवाईमा भएको आन्दोलनको नेतृत्व विद्यार्थीहरुले नै गरेका थिए । जहानीय राणा शासन बिरुद्ध सङ्गघर्शको शंखनाद गर्ने श्रदय सहिद गङालाल विद्यार्थी नै थिए ।

वि.सं. २०१७ पुस १ गते सुरु भएको पन्चायती व्यवस्थाले राजनैतिक दलहरुलाई प्रतिबन्ध लगाएर सबैलाई राजनैतिक कार्यमा सहभागी हुनबाछ बन्चित गरेको थियो । त्यो अवस्थामा राजनैतिक दल आफ्नो खुल्ला कार्यक्रम विद्यार्थीको माध्यमबाट जनता माझ लैजाने गर्दथे । पन्चायती व्यवस्थामा समग्र विद्यार्थीले पन्चायतको बिरोध गरे र स्वतन्त्र विद्यार्थी संगठनको नारा घन्काउन थाले । समग्रमा विद्यार्थीहरु पन्चायती व्यवस्थाको विरुद्धमा उत्रन लागेका थिए । वि.सं. २०२० सालमा विश्वविद्यालयले अनाधिकृत रुपमा विद्यार्थी निस्कासन गरेको बिषयमा विद्यार्थीहरुले आन्दोलन गरे जुन आन्दोलनले विद्यार्थीको निस्कासन मात्र रद्द गरेन प्रत्येक शिक्षण संस्थामा स्वतन्त्र विद्यार्थी संगठन स्थापना गर्न पाउने नारालाई राष्ट्रिय मञ्चमा स्थापित गरायो । त्यस्तै २०३६ मा पाकिस्तानी रास्ट्रपति जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको बिरुद्धमा पाकिस्तानी विद्यार्थीहरुले आन्दोलन चर्काए, सो आन्दोलनको समर्थन गर्दै नेपाली विद्यार्थीलहरु पकिस्तानी राजदुतावासमा पत्र दिन जादै गर्द उनीहरु माथि सरकारले दमन गर्यो सोही विद्यार्थी माथि तत्कालिन पन्चायतले गरेको तानशाह प्रवृत्तिले पन्चायतलाई नै कम्जोर बनाइलियो । फलस्वरुप विद्यार्थीहरुले स्ववियु निर्वाचन प्राप्त गरे । ०३६ को सो घटनाबाट विद्यार्थीहरुले पन्चायतको बिरुद्धमा जीतको सुरुवात गरे । यसरी स्ववियुको जन्म भयो ।

वास्तवमा नेपालको बामप्रजातान्त्रिक आन्दोलनको श्रीगणेश गर्न, यसलाई राष्ट्रव्यापी बनाउन र सफलताको मञ्जिलसम्म पुर्याउन विद्यार्थीहरुको भूमिका महत्त्वपूर्ण छ । स्ववियु राजनैतिक दल होइन शैक्षिक एवम् सामाजिक संगठन हो । यसको निर्वाचनका बहुआयामिक फाइदा छन् तसर्थ स्ववियु निर्वाचन हुनुपर्छ । विद्यार्थीहरुको सर्वाङ्गीण बिकास गर्न, उनीहरुको बौद्धिक र सांस्कृतिक क्षमताको वृद्धि गर्न, संसदीय व्यवस्थाको बारेमा जानकारी दिन, बैठकहरुको आयोजना र सञ्चालन गर्न, बौद्धिक छलफल तथा सहयोगको आदनप्रदान गर्दै आफ्नो समस्याहरुको समाधान खोज्न स्ववियुको भुमिका महत्वपूर्ण छ ।

निरंकुशता बिरोधी बगैंचामा हुर्किएको विद्यार्थी आन्दोलन र त्यस आन्दोलनकै बलमा ल्याइएको स्ववियुकै तपोबलमा आज गणतन्त्रको सुनौलो बिहानी छ, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ , सो आन्दोलन राष्ट्रियताको पहरेदार बनेको छ । तर बिडम्बना पन्चायतलाई जितेर हामीले प्राप्त गरेको स्ववियु जसले गणतन्त्रको जग खन्यो आज लोकतन्त्रको प्राप्ति पछि ऊ आफैं मृत्यु शैयामा छटपटाइरहेको छ ।

स्ववियु निर्वाचनले नयाँ पुस्ताको राजनैतिक संस्कारको आधार समेत तय गर्ने हुनाले यसको महत्त्व व्यापक रहेको छ । स्ववियु निर्वाचन आफैंमा यो व्यवस्थाको जग हो यसले युवाहरुमा लोकतान्त्रिक अभ्यासको वीउ बिजारोपण गरिदिन्छ । यसले युवा विद्यार्थीमा उच्च राजनैतिक संस्कार प्रवाह गर्दछ । आम युवा विद्यार्थी जसले मुलुकको राजनैतिक परिवर्तन र राजनैतिक व्यवस्था बुझ्न जरुरी छ त्यसलाई बुझाउन पनि स्ववियु निर्वाचन आवश्यक छ । आफ्ना अभिभावक मुलुकको निर्वाचनमा होमिरहदा विद्यार्थीलाई पनि आफ्नो प्रतिनिधि चयन गर्ने अभिलाषा हुन्छ, चुन्ने चुनिने उक्त चाहनाले प्राप्त व्यवस्थाको गरिमा बोकेको हुन्छ त्यस गरिमालाई मुर्तरुप दिने गतिलो माध्यम हो स्ववियु ।

हामीले स्ववियु निर्वाचनलाई मुलुकको राजनैतिक अवस्था, राजनैतिक चेतना र राजनैतिक संस्कार भन्दा टाढा राखेर हेर्नु भनेको मुर्खता हुन जान्छ । स्ववियुले विद्यार्थीहरुलाई निर्वाचनमा होमिन मात्र सिकाउँदैन यसले त निर्वाचनमा उम्मेदवार छनोटका प्रक्रियादेखि मत माग्ने शैली, गणना हुँदाको मनोबिज्ञान सबै बारे अनुभव प्रदान गर्छ । हालको स्ववियुले कम्तिमा १० वर्ष पछिको राष्ट्रिय राननीतिको दिशा निर्धारण गर्दछ तसर्थ देशको राजनीतिक भविष्य र लोकतान्त्रिक व्यवस्थाको स्थाइत्वका निम्ति हाल स्ववियु निर्वाचन आजको प्राथमिक आवश्यकता हो । विद्यालय हुँदै विश्वविद्यालय प्रवेश गरेका विद्यार्थीका लागि क्याम्पस विद्यार्थी जीवनको अन्तिम खुड्किला पनि हो । विद्यार्थी जीवनको अन्तिम सिडि चडिरहदा विद्यार्थीहरुले गौरवशाली लोकतान्त्रिक व्यवस्थाको प्राथमिक शर्त चुन्ने र चुनिने काममा सरिक हुन जरुरी छ ।

मुलुकको राजनैतिक जटिलतामा व्यवस्थाको गौरवलाई आत्मसात गरी राजनैतिक दलहरुलाई निकासका लागि झक्झकाउने नेता स्ववियु भित्र भए साच्चै हाम्रो देशको शिक्ष क्षेत्रमा परिवर्तन आउनेथ्यो । स्ववियु निर्वाचनको चर्चा सुरु हुँदै गर्दा विद्यार्थी संगठनहरु आपसी प्रतिस्पर्धा र बैचारिक द्वन्द्वको अध्यायमा प्रवेश गर्दै गर्दा राष्ट्रिय राजनीतिलाई निकासतर्फ प्रेरित गर्ने उत्प्रेरक बन्छन् । स्ववियु निर्वाचनले देशका खातिर एउटा कुशल राजनीतिज्ञ जन्माउन सक्छ । विद्यार्थी आन्दोलनबाट आएका नेता आज हरेक पार्टीको निर्णायक तहमा छन् । हिजो विद्यार्थी आन्दोलनबाट आएका रबीन्द्र अधिकारी, योगेश भट्टराई, लेखनाथ न्यौपाने, शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गगन थापा जस्ता नेता आज निर्णायक तहमा छन् । यि नेताहरुको नेतृत्वलाई मात्र हेर्ने हो भने पनि स्ववियु निर्वाचनको महत्त्व स्पष्ट हुन्छ ।

स्ववियुका निर्णय, आम विद्यार्थी संगठनका माग हेर्दा शैक्षिक मुद्दामा केन्द्रीकृत भएपनि अन्तरबस्तु भने देशको राजनैतिक अवस्थामा मा अब किताब–कापि र कक्षा कोठासङ सम्बन्ध राख्ने स्ववियु चाहिएको छ विद्यार्थीलाई । यदि अब पनि लामो समय स्ववियु निर्वाचन नहुने र संगठनका पदाधिकारी स्ववियु पदाधिकारी नभइ नछाड्ने हो भने कतै बाबू र छोरा सँगै स्ववियु पदाधिकारीको निर्वाचन लड्ने त होइनन् भन्ने प्रश्न पनि आइरहेको छ । युवामा राजनितिक दलको बितृष्णाको मुख्य कारण पनि समयमा स्ववियु निर्वाचन नहुनु हो ।

स्ववियुमा रहेको उमेर हद , मिश्रित निर्वाचन प्रणाली जस्ता मुद्दाले किचलो बनेको स्ववियु निर्वाचन गराउन सबै विद्यार्थी संगठन, विश्वविद्यालय, क्याम्पस जस्ता सरोकारवालाहरु मध्यमार्गमा उभिन जरुरी छ । अब आशा गरौ कमलको फुल हिलोमा फुलेको हुन्छ, जरा हिलोमै हुन्छ तर कमल भने हिलो भन्दा माथि हुन्छ, हिलोले छुनै नसक्ने गरि फुलेको हुन्छ । अहिले हाम्रो शैक्षिक क्षेत्र पनि फोहोर छ तर ढिलोचाडो एउटा कल्पनाशिल, क्याम्पस र विद्यार्थीप्रती प्रतिबद्ध पारदर्शी र सदाचारयुक्त स्ववियु बन्नेछ किनकी यो मरुस्थल हैन उर्वर्भुमी हो । हिलो भएको विश्वविद्यालयमा कमल फूलाउने दिब्य मन्त्र हो ‘स्ववियु निर्वाचन’ ।
(लेखक – अनेरास्ववियु गौरादह कमिटीका सचिव हुन् ।)

 

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]