बैशाख १७, २०८१ सोमबार

मेची उवा संघको चुनाव : वर्चस्व जोगाउने र फर्काउने लडाइँ

गगन ढकाल
मेचीनगर । आगामी माघ २१ गते हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस समर्थित व्यवसायीहरु बीच प्रतिष्पर्धा हुने भएको छ ।

यो निर्वाचनबाट नेपाली काङ्ग्रेसले आफ्नो वर्चस्व फर्काउने तयारी गरेको छ । यता, नेकपा एमालेले आफ्नै नेतृत्वलाई निरन्तरता दिने गरि छलफल गरिरहेको छ । दलहरुबीचको तयारीमा दाँयाबाँया नभए दुई दलबीचका व्यवसायी मैदानमा उत्रिने संभावना छ ।

आसन्न निर्वाचन दलहरुका लागि वर्चस्व बनाउने निर्वाचनको रुपमा रहेको छ । ०७८ मा नै हुनुपर्ने निवार्चन कोभिड र स्थानीय, संघीय र प्रदेश सरकारको चुनावका कारण पछाडि सारिएको थियो ।

स्थापना कालदेखि १५ वर्ष नेपाली काङ्ग्रेसको वर्चस्व रहेको यस संघमा एमालेले एक पटक मात्र नेतृत्व गरेको छ । एक पटक मात्र नेतृत्व गरेको एमालेको लागि यो निर्वाचनबाट दोस्रो पटक नेतृत्व हस्तान्तरणको योजनामा छ । नेपाली काङ्ग्रेस भने एमालेको हातमा रहेको नेतृत्व कसै गरी फर्काउने रणनीतिमा लागिपरेको छ ।

०५४सालमा स्थापना भएको संघमा संस्थापक अध्यक्षका रुपमा पन्नालाल जैन, नरेन्द्र खड्का, विजय डालमिया, केशवराज पाण्डे र पंकजबिक्रम नेम्बाङले नेतृत्व गरे । अध्यक्ष नेम्बाङपछि कांग्रेसको विरासत एमालेका ऋषिराज तिम्सिनाले तोडेका थिए ।

वर्चस्व फर्कउने र बनाउने संघको यस निर्वाचनमा नेकपा एमालेले भने सबै दलहरुसँग सहमति गरेर अगाडि बड्ने योजना बनाएको स्थानीय एक नेताले बताएका छन् । उनी भन्छन् ‘सम्पूर्ण व्यवसायीहरुको व्यवसायिक हितलाई केन्द्रमा राखेर सहमति मार्फत सर्वसम्मतिले संघको नेतृत्व निमार्ण गर्ने एमालेको प्रयत्न छ ।’

सर्वसम्मतीको प्रयासमा रहेको नेकपा एमालेले अध्यक्ष पदका लागि संघका हालका उपाध्यक्ष खेमराज प्रसाईंलाई अगाडि सारेको छ भने महासचिवमा दिनेश शाक्यको नाम अघि सारेको छ ।

नेपाली काङ्ग्रेसले भने कसको नाम अगाडि सार्ने निर्णय गरिसकेको छैन । काङ्ग्रेसमा हालका कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, उपाध्यक्ष कपिल क्षेत्री, पुनित बंशल र हर्क फ्याक लिम्बू लगायतले अध्यक्षका लागि इच्छा जाहेर गरेका छन् । कांग्रेसले मंगलबार बैठक बसेर अध्यक्ष पदका उम्मेद्वारको नाम फाइनल गर्ने एक नेताले जानकारी दिए ।

मेची उद्योग बाणिज्य संघको नेतृत्व छनोटमा सर्वसम्मत नभएमा सत्ता गठबन्धनका उम्मेदवार र नेपाली काङ्ग्रेसका उम्मेदवार बीच प्रतिस्पर्धा हुने निश्चित छ ।

वर्चस्वका लागि नेकपा एमालेले सत्ता गठबन्धनका साझेरदार दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलगायतको दलहरुसँग मिलेर चुनावमा भाग लिने सम्भावना प्रबल देखिन्छ । त्यसै गरी नेपाली काङ्ग्रेस पनि कसै गरी यो गठबन्धनलाई भत्काएर आफ्नो गुमेको बिरासत फर्काउन प्रयत्नरत रहेको नेपाली काङ्ग्रेसका एक नेताले जानकारी दिएका छन् ।

नेकपा एमालेले अध्यक्षका लागि अगाडि सारेको संघका वर्तमान उपाध्यक्ष खेमराज प्रसाईले २० वर्ष नेपाल कुचो व्यवसायी संघको अध्यक्ष भएर काम गरिसकेका छन् । उनको मेचीनगरमा सिद्धार्थ प्लाइउड उद्योग सञ्चालनमा छ ।

त्यसैगरी नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार हुने आकांक्षा व्यक्त गरेका संघका वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन निरौला मेची बजरंग ट्रेड कन्सर्नका सञ्चालक हुन् । उनी मेची भन्सार एजेन्ट संघका अध्यक्ष समेत रहेका छन् ।

नेपाली काङ्ग्रेसका अर्का आकांक्षी संघका बर्तमान उपाध्यक्ष कपिल क्षेत्रीले यसअघि संघको सचिव पदको नेतृत्व समालिसकेका छन् । उनको जय माँ कामख्या प्लाउड इन्डस्ट्रिज सञ्चालनमा छ ।

नेपाली काङ्ग्रेसका अर्का आकांक्षी पुनित वंशल यस अघिका अध्यक्ष पदका उपबिजेता रहेका छन् । उनको धुलाबारीमा शुभ–आशिष ट्रेडिङ कन्सर्न सञ्चालनमा छ ।

नेपाली काङ्ग्रेसका अर्का आकांक्षी हर्क फ्याक लिम्बूले काँकरभिट्टा खानेपानी सरसफाई समितिको अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् । उनको काँकरभिट्टामा हर्क पसल नामको फर्म सञ्चालनमा छ ।

 

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ५ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]