बैशाख ११, २०८१ मंगलबार

बिर्तामोडको कृषिथोकमा सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा तालावन्दी

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा सम्झौता विपरित व्यापार गर्नेलाई कारबाही गर्न थालिएको छ । कृषिथोक बजार व्यवस्थापन समितिले सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा मंगलवारदेखि तालावन्दी गर्दै कारबाही थालेको हो ।

२० जनाको नाममा रहेको २८ वटा सटरमा तालावन्दी गरिएको छ । त्यसमध्ये अधिकांश सम्झौता विपरित व्यापार गरिरहेको उक्त अभियानका संयोजक खगेन्द्र महतोले जानकारी दिए ।

मंगलवार बजार समिति, वडाका प्रतिनिधि, स्थानीय प्रहरी प्रशासन समेतको सहभागितामा सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा तालावन्दी गरिएको हो । सागसब्जीको व्यवसाय गर्ने सम्झौता गरेर फलफुलको व्यापार गर्नेहरु सुनिल गुप्ता, प्रभु शाहको सटरमा ताला लगाइएको छ । फलफुल व्यापार गर्ने सम्झौता गरेर विऊविजनको व्यापार गर्ने डिल्लीप्रसाद उप्रेती, किराना गर्ने कल्पना भट्टराई, ग्यासको व्यापार गर्ने लक्ष्मी ओली, सब्जीको सम्झौता गरेर किराना गर्ने कमलप्रसाद चापागाई, प्लाष्टिकका बोरा, झोला बेच्ने लालबाबु शाहको सटरमा तालावन्दी गरिएको छ ।

यस्तै, कृषिजन्य व्यापारका लागि सम्झौता गरेर प्लाष्टिकको व्यापार गर्ने बद्री चौधरी, दलनतेलहको सम्झौता गरेर डोको बेच्ने पवित्रादेवी उप्रेती,कृष्णप्रसाद खतिवडा, क्यान्टिङको सम्झौता गरेर दलनतेलनको व्यापार गर्ने पवित्रा नेपाल, दलनतेलनको सम्झौता गरेर सब्जी बेच्ने खड्ग राजवंशी, गौतम राजवंशी, खुद्रा सब्जी बेच्ने सम्झौता गरेर मासु बेच्ने लालबाबु शेखको पसल बन्द गराइएको छ ।

त्यसैगरी समितिले आफुखुशी संरचना तोडमोड गर्नेहरु पियुस कोठारी, हरि शाह, बद्री चौधरी, उत्तम शिवाकोटी, विनोद कार्की, मनिषा शाह, रामकुमारी शाह, गुलाव नवीलाई संरचना पुरानै अवस्थामा फर्काउन सचेत गराइएको छ ।

बजारभित्र मिल सञ्चालन गर्नेलाई तत्काल मिल सञ्चालन बन्द गर्न समितिले आग्रह गरेको छ भने नवराज खतिवडा र संजय कार्कीलाई बजारमा निर्देशिका विपरितको व्यापार नगर्न भनिएको छ ।

सम्झौता विपरित व्यापार व्यवसाय गर्नेहरुलाई सम्झौता अनुरुप व्यवसाय सञ्चालन गर्न समितिले पूर्व जानकारी गराएको अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । समितिका अध्यक्ष पौडेलका अनुसार सोमवार पनि २४ घण्टे अल्टिमेटम दिइएको थियो, अटेरी गरेपछि तालावान्दी गरिएको हो ।

बिर्तामोडको कृषिथोक बजार व्यवस्थापन समितिले कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ बमोजिम व्यवसाय सञ्चालन गर्न पाइने जनाएको छ । निर्देशिका विपरित व्यापार गर्न पाइदैन, अध्यक्ष पौडेलले भने – हामीले निर्देशिका मात्रै पालना गर्न सकियो भने सबै व्यवसायीलाई हित हुनेछ ।

कृषिथोक बजारमा व्यवसाय सञ्चालनका लागि गरिएको सम्झौताभन्दा विपरित गैरकृषि वस्तुको विक्रि भइरहेकाले तालावन्दी गरिएको उनको भनाई छ । बजारमा करिव ५८ वटा पसलमा गैरकृषिको व्यापार देखिएको छ, निर्देशिका बमोजिम कार्यान्वयन गर्नु समितिको कर्तव्य हो, पौडेलले थपे ।

कृषि बजारमा कृषिजन्य व्यापारका लागि सम्झौता गरेर प्लाष्टिकको व्यापार गर्ने, सागसब्जी पसलको सम्झौता लिएर फलफुल गर्ने व्यापारीहरुको सटरमा तालावन्दी गरिएको हो । बजारभित्र ठाउँ, सटर विक्रि गर्नेहरुको समेत आवश्यक खोजविन गरि कारबाही हुने समितिले जनाएको छ । कृषिथोक बजार व्यवस्थापन समितिसँग ३१४ जना व्यापारीले सम्झौता गरेर व्यापार गरिरहेका छन् ।

उक्त अभियानका संयोजक महतोले बुधबारबाट पसल किनबेचको बारेमा अध्ययन हुने र आवश्यक कारवाही अघि बढाइने जानकारी दिएका छन् । उनले निर्देशिकाभित्र रहेर सम्झौता बमोजिम व्यापार सञ्चालन गर्ने सहमती जनाएमा ताला खोलिने बताइएको छ ।

प्रकाशित मिति : माघ ११, २०७९ बुधबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]