बैशाख ११, २०८१ मंगलबार

झापाका किसानले पर्याप्त माछा दिन नसकेको व्यवसायीको गुनासो

बिर्तामोड । झापा बिर्तामोडका माछा व्यवसायीहरुले उपभोक्ताहरु माछा खरिदका लागि बाहिर जान थालेको बताएका छन् । उपभोक्ताले खोजेको माछा उपलब्ध गराउन नसकेपछि उपभोक्ताहरु बिर्तामोड बाहिर जान थालेको व्यवसायीहरुको भनाई छ ।

बिर्तामोड नगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै भारतबाट भित्राइने गरेका मरेका माछालाई पूर्ण प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाएसँगै उपभोक्ताले खोजेको माछा दिन नसकेको व्यवसायीहरु बताउँछन् । माछा व्यवसायीहरुले उपभोक्ताले खोजेको माछा दिन नसकेपछि व्यवसाय नै धरापमा परेको गुनासो गरेका छन् ।

स्थानीय किसानले व्यवसायीको माग अनुसार माछा दिन नसकेको भन्दै उनीहरुले व्यवसायमा समस्या आएको बताएका छन् । नेपाल माछा व्यापार श्रमिक संघ झापाका अध्यक्ष सोनालाल शाहले स्थानीय किसानले उपभोक्ताले खोज्ने माछा दिए भारतबाट आयात नै नगर्ने बताएका छन् । उनले भने, ‘उपभोक्ताले खोज्ने माछा किसानले दिए खुशी–खुशीले खरिद गर्छौ, हामीलाई भारतबाट माछा ल्याउने कुनै रहर छैन ।’ स्थानीय किसानले पंगास जातका थोरै तौलका माछा दिने गरेको उनको भनाई छ । उपभोक्ताले ठुला माछा खोज्छन्, किसानले सानो सानो दिन्छ, उनले थपे – एक केजीमा टाउकै टाउकै हुन्छ । राम्रो पिस नहुँदा माछा लैजान मान्दैनन् ।

शाहले स्थानीय किसानले २३० मा दिदैं गरेको माछा २५० प्रति केजी पुराएको बताएका छन् । उनले उपभोक्ताले चाहेको माछा पनि हुदैन, मुल्य पनि बृद्धि हुँदा आफुहरु मारमा परेको बताए । बिर्तामोड नगरपालिकाले मरेका माछा प्रतिवन्ध लगाएपछि उपभोक्ताहरु त्यै माछा खोज्न चारआली, धुलावारी हुँदै पानीट्याङकीसम्म पुग्ने गरेको उनको भनाई छ । उपभोक्ताई हामी रोक्न सक्दैनौं, उनले थपे – यहाँका किसानले उपभोक्ताले खोजेको माछा दिन सक्नुपर्छ । उनका अनुसार लहानबाट माछा नल्याउँदा पसल समेत खोल्न नसकिने अवस्थामा पुगिएको छ ।

बिर्तामोडका व्यवसायीले रहँु, पंगास, कमलकार, गडास, कत्ला, नैनी र रुपचन्दा लगायतका माछा विक्रि गर्दै आएका छन् । उनीहरुले उपभोक्ताको माग अनुसार नै माछा उपलब्ध गराउनुपर्ने बताए । उपभोक्ताले खोजेको माछा दिन नसक्दा ७५ प्रतिशत व्यापार घटेको उनीहरुको दावी छ ।

यता, अर्का माछा व्यवसायी छेदीलाल सहनीले स्थानीय किसानले पर्याप्त माछा दिन नसकेको बताए । उनले इलामदेखि ताप्लेजुङसम्म माछा निर्यात गर्न अभाव भइरहेको बताएका छन् । बिर्ता माछा सप्लायर्सका सञ्चालक सहनीले ३-४ सय ग्रामका माछा उपभोक्तालाई विक्री गर्न नसकिने उनको भनाई छ । उनले भने, स्थानीय किसानले माछा दिन सक्ने भए कुनै समस्या हुदैन ।

नगरपालिकाले मरेका माछा प्रतिवन्ध गरे पनि अधिकांश होटलहरुमा त्यै माछा पाइने गरेको छ । व्यापारीले मरेका माछा ल्याउन छाडेको हो भने बिर्तामोडका होटलहरुले कहाँबाट ल्याइरहेका छन् भन्ने जिज्ञासामा जवाफ दिदैं भने, आश्यकता भएपछि त्यसको विकल्प भेटिन्छ । खाने मान्छेले जसरी ल्याउछन् । यहाँका किसानले त्यै जातको जिउँदो माछा दिने हो भने उपभोक्ताले यहिबाट खरिद गर्नेछन् । उनले सबै होटलमा बाहिरका व्यापारीहरुले लुकाईछिपाई माछा दिने गरेको जानकारी समेत दिएका छन् ।

बिर्तामोडका किसानले मरेका माछा प्रतिवन्ध गरिए पनि लुकाई छिपाई विक्री वितरण भइरहेको आरोप लगाएका छन् । किसानले लुकाईछिपाई विक्री वितरण भइरहेको मरेका माछालाई पूर्ण प्रतिवन्ध लगाउन आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]