बैशाख १४, २०८१ शुक्रबार

यस्तो छ होलीसम्बन्धी रोचक कथा

होली पर्व भनेको खुशी, उत्साहको रङ्ग, एकअर्कालाई पोत्ने पर्व हो । परापूर्व कालदेखि नै होली पर्वको जनमानसमा ठूलै अनि विशेष भूमिका रहँदै आएको छ । विशेष गरेर संसारभरिमा हिन्दुबाहुल क्षेत्रहरू एवम् भारत र देश नेपालमा होली पर्व बडो धुमधामको साथमा पालन गर्ने गरिन्छ ।

होली विशेष गरेर बसन्त ऋतुको उल्लासमय उज्यालोमा यो पर्व पालन गर्ने गरिन्छ । वसन्तलाई ऋतुहरूको राजा भनिन्छ । किनभने यस बेला चारैतिर फूल फुलेर, मधुरताको साथमा प्रकृति शृङ्गारिएकी हुन्छिन् । चारैतिर चराहरूको मिठो गीत सुनिइरहेको हुन्छ । धारा पँधेरोको कलकल ध्वनि, वनजङ्गलको हृदयतलमा बजिरहेकै हुन्छ । हिन्दु धार्मिक ग्रन्थ नारद पुराण अनि भविष्य पुराणमा पनि चर्चा भएको होली पर्वलाई अर्को शब्दमा वसन्तोत्सव–कामोत्सव पनि भनिन्छ । भारतको प्राचीनतम इतिहास हेरयौं भने होली वा होलाकको नामले होली पालन गर्ने गरेको देखिन्छ । दुई दिन पालन हुने यस पर्वमा जुन शब्द ‘होलिका’को प्रयोग हुन्छ त्यो हिन्दु धार्मिक परम्परासित सम्बन्धित रहेको छ । होलिका दहन गर्नुको अर्थ क्लेष र द्वेष दहन गर्नु अर्थात जलाउनु हो र त्यहाँ जो बाँच्छ त्यो आनन्द हो । धार्मिक परम्परा, समाज–मनोविज्ञानसित जोडिएको यस पर्वमा धर्मसम्बन्धित कुन र कस्तो कथा विद्यमान छ, त्यो बुझ्न बुझिहेरौं ।

होलीको विशेषता केमा रहेको छ र होलिका दहन किन गरिन्छ ? त्यसको प्रासङ्गिक कथा यस्तो छ :

धार्मिक ग्रन्थहरूअनुसार यो सृष्टिमा काल खण्डलाई सत्य युग, त्रेता युग, द्वापर युग र कलियुग भनी चार भागमा बाँडि़एको छ । हामी अहिले बाँचिरहेको कलिकाल हो कलियुग । सत्य युगमा हिराण्यकशिपु अनि हिराण्यक्ष नाम गरेका दुईजना दानवहरू थिए । हिराण्यकशिपु यति सामथ्र्यवान र बलवान थिए कि तिनले आफूलाई देवतागणभन्दा पनि महान भन्न लागे र ईश्वरपूजा आफ्नो राज्यमा निषेध गरिदिए तर तिनका सुपुत्र प्रल्हाद भने भगवान विष्णुजीको चरम भक्त बनिदिए । आफ्नै कुलमा, आफ्नै खुनमा विरोधी तत्व बनिएको राजा हिराण्यकशिपुलाई पटक्क रूचेन । तिनले अनेकथरी गरी प्रल्हादलाई सजाय दिने वा निजको प्राण हर्ने प्रयत्नहरू गरे । भिरबाट पल्टाइदिए, विशालु साँपहरू भएको ठाउँमा राखिदिए, खुँखार बाघको खोरमा हालिदिए तर प्रल्हादलाई कुनै पनि असर परेन । भक्तिको बलले गर्दा उनी सर्लक्क बाहिर निस्केर आउँथे । छोरोलाई सजाय दिएर मन गलिसकेको हिराण्यकशिपुले तब आफ्नी बहिनी होलिकालाई सम्झिए । आगोमा नजल्ने वरदान होलिकाले ईश्वरबाट प्राप्त गरेकी थिइन् । त्यसैले होलीकालाई हिराण्यकशिपुले प्रल्हादलाई काखमा लिएर आगोमाथि बस्ने हुकुम दिए । होलीकाले हुकुम शिरोपण गरिन् । तर आश्चर्य होलिका आगोमा खरानी भइन् प्रल्हादलाई केही पनि भएन । तबदेखि यस घटनालाई स्मरण गर्न र प्रल्हादको भक्तिलाई सम्मान गर्न असत्यमाथि सत्यको जीत, अन्धकारमाथि उज्यालोको जीत र अन्यायमाथि न्यायको जीतको प्रतीक रूपमा होलिका दहन गर्ने परम्परा मानवसमाजमा बसे । यसै खुशीमा मानवजातिले रङ्गको पर्व पालन गरेका थिए भन्ने मानिन्छ ।

तर हामीले धार्मिक ग्रन्थहरू पल्टायौं भने यसबाहेक होली अझै अन्य कथात्मक परम्पराहरूसित पनि सम्बन्धित रहेको देखिन्छ । जस्तै यो पर्व दानवी ढुंढी, राधा–कृष्णको रासलीला अनि कामदेवको पुनर्जन्मसित पनि जोडि़एको छ । केही मान्यताहरूअनुसार होलीमा रङ्ग धसेर मानिसहरूले शिवका गण अनि तिनको जन्तीको भूमिका निर्वाह गर्दछन् । त्यस बाहेक पनि अझै एउटा मान्यताअनुसार होली पर्वको दिन भगवान श्रीकृष्णले पूतना नामक दानवीको हत्या गरेका थिए । यसै खुसीमा ग्वालाहरूले रासलीला गरेर रङ्ग उडाएका थिए ।

यसै, कुनै पनि चाडपर्व पालनमा समय काल र परिस्थितिको गहिरो रङ्ग परेकै हुन्छ । अथवा भनौं एउटै पर्व पनि विभिन्न कालखण्डमा मनाइँदा अर्कोअर्कै तौर–तरिकाले पालन गर्ने गरिएका भेटिन्छन् । होली पर्वको पालनमा पनि परम्परा हेरयौं भने अर्कै–अर्कै तरिकाले पालन गरिएको भेटिन्छन् । जस्तै प्राचीनकालमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धिका लागि यो पर्व पालन गर्ने गर्थे । त्यसबेला उनीहरूले पूर्ण चन्द्रमाको पूजा गर्थे । जब वेदहरूको काल शुरू भयो तब यो पर्वमा नवात्रैष्टि यज्ञ गरिन्थ्यो । त्यस समय खेतमा आधा पाकेको अन्न यज्ञमा हवन गरेर प्रसाद ग्रहण गर्ने परम्परा समाजमा थियो । अन्नलाई होला भनिने हुँदा यसको नामै होलिका भएको परम्पराविद् समाजशास्त्रीहरू बताउँछन् । यस पर्वको पालनपछि चैत महिनाको आगमन हुन्छ र वसन्तको आगमन हुन्छ अनि हिन्दु धर्म ग्रन्थावलीमा उल्लेख भएको प्रथम पुरूष ‘मनु’को पनि यसै दिन जन्म भएको मान्ने गरिन्छ ।

होलीसम्बन्धित यी प्रसङ्गहरूको चर्चा भेटिन्छन् । होलीसम्बन्धी विभिन्न गीत, कथा, नाटक, फिल्मका केही दृश्यहरू सबै पाइन्छन् । शास्त्रीय सङ्गीतमा धमार, ध्रुपद, ख्याल, ठुमरी, नृत्यमा कथक, रागमा वसन्त, बहार, हिंडोल र काफीमा होलीको रङ्ग भेटिने जानकारहरू बताउँछन् । संस्कृत साहित्यमा कालिदासद्वारा रचिएको ऋतुसंहारमा एक सर्ग, भारवि, माघ अनि अन्य कयौं संस्कृत कविहरूका कृति रचनामा वसन्तको उल्लेख भएको पाइने थाह लाग्छ । हिन्दी फिल्महरूमा पनि होलीसित जोडिएका कयौं गीतहरू तथा दृश्यहरू भेट्न सकिन्छ ।

आजको समय, विज्ञान र तकनीकीको भए पनि होली पर्वको अलग्गै मिठो रौनक समाजमा देख्न पाइन्छ । मानिसहरूले एकअर्कालाई रङ्ग धसेर खुशी बाँटने गर्दछन् । हिन्दु मात्र नभएर मुसलमान जातिले पनि होली पालन गर्ने गरेको इतिहासमा उल्लेख पाइन्छन् । त्यसैले जीवनमा रङ्ग भर्ने यो एउटा मिठो बहाना छ ।

आजभोलि रसायनिक रङ्गको प्रयोगहरू बढेको देख्न सकिन्छ । जसले छाला वा आँखा आदिको रोग निम्त्याउन सक्छ । होलीको नाममा अश्लील व्यवहार गर्ने र मदपानको सेवन गरेर डीजे आदि बजाएर परिवेशको शान्ति तथा स्वच्छतालाई बिगारेर प्रदुषणमय बनाउने गरेको घटना पनि भेटन सकिन्छन् जबकि होलीसित सम्बन्धित आफ्नै मौलिक लोकगीतहरू छन् । त्यसको प्रचलन हराइरहेको आजको स्थिति छ । होली पर्वको धार्मिक मूल्यमा क्षति नपुरयाइ यस पर्वलाई पालन गर्ने हो भने यो अति व्यस्त समयमा पनि ताजापन ल्याउन सकिने एउटा राम्रो अवसर प्रतीत हुन्छ । होलीको रङ्गले मानिसमा एउटा स्फूर्ती दिँदछ, जसले चाहिँ जीवनलाई रङ्गीन बनाउन एउटा प्रेरणा थप्दछ ।

 

प्रकाशित मिति : फाल्गुन २३, २०७९ मंगलबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]