बैशाख ६, २०८१ बिहीबार

नेपाली महिलाकी ‘रोल मोडल’ विद्यादेवी भण्डारी

मोहनमाया ढकाल

सम्माननीय विद्यादेवी भण्डारीज्यू, सादर नमस्कार !
आज तपाईंले आफ्नो कार्यकाल सफलापूर्वक पूरा गरेको दिन । यो दिन ऐतिहासिक दिन हुनेछ। नेपाली राजनीतिमा तपाईंको आगमन र तपाईंले खेलेको भूमिकाका कारण आज यो देशले विश्व रंगमञ्चमा शिर ठाडो गरेर समावेशी र महिला सहभागिताको कुरा गर्न पाएको छ। २०६२-०६३ को जनआन्दोलन पश्चात पुनःस्थापित संसदमा तपाईंले प्रस्ताव गर्नुभएका चार प्रस्तावले आज नेपाली राजनीति मात्र होइन समाजका विभिन्न तह र तप्कामा महिलाको सहभागिता सुनिश्चित भएको छ । आफैंले संसदमा प्रष्तुत गरेको प्रस्तावको जगमा तपाईं आफूलाई राष्ट्रपति बन्ने ढोका खोल्न पनि केही सहज भयो भन्ने मलाई लाग्दछ।

तपाईंले नीति निर्माणको उपल्लो थलो संसदमा २०६३ जेठ ६ गते सार्वजनिक महत्वको प्रस्तावको रुपमा ‘महिला सहभागिताको प्रस्ताव’ पेश गर्दैगर्दा म पनि महिला मुक्ति आन्दोलनको एउटा सानो मोर्चाको नेतृत्वमा थिएँ । उतिबेलाको मध्यपश्चिम विकास क्षेत्र अन्तरगतको सुर्खेत जिल्लाको अखिल नेपाल महिला संघको सचिवको रुपमा म यो अभियानमा थिंए । मलाई अहिले पनि सम्झना छ,इतिहासलाई नै पुनर्लेखन गर्न सक्ने हैसियत भएका ति चारवटा प्रस्तावहरु यस्ता थिए ।
राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने (२) आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने (३) अंश र वंशमा छोरा र छोरीको समान हक हुनुपर्ने ४) श्रमको क्षेत्रमा महिला र पुरषबीच समान ज्याला हुनुपर्ने । तपाईंको यो प्रस्तवलाई काँग्रेस लगायतका दलका साँसदहरुले पनि समर्थन गरेर २०६३ जेठ १६ गते वसेको संसद बैठकले पास गरेको थियो ।

नेपाली इतिहासमा यो एउटा ऐतिहासिक फड्को थियो जसको नेतृत्व तपाईंले गर्नुभएको थियो । यही प्रस्तावका कारण महिला र पुरुषबीचको विभेदको अन्त्य भएको थियो । देशको ५१ प्रतिशत जनसंख्या भएका महिलाहरूको लागि हरेक संयन्त्रमा निर्णायक र नेतृत्वदायी सहभागिताको लागि तपाईंको कदमले ढोका खोलेको थियो ।तपाईंको यो कदम राष्ट्रिय राजनीतिमा सबैका लागि प्रेरणादायी थियो ।तपाईंको यही प्रस्तावको जगमा संविधानसभाले निर्माण गरेको संविधानमा उल्लेखित विषयहरु समावेश भएर संवैधानिक रुपमै महिला अधिकार स्थापित भयो ।

आज यो देशमा स्थानीय तहका प्रमुख ÷उपप्रमुखमा सदस्य,प्रदेश साँसद,संघीय संसद,सरकारमा महिला सहभागिता उल्लेख्य छ । आज सरकारमा, संसदमा, निजामति क्षेत्रमा शिक्षा,स्वास्थ्य र सुरक्षा लगायतका क्षेत्रमा महिला सहभागिता र नेतृत्व छ । यी सबै क्षेत्रमा देखिने महिला अनुहारभित्र हामी विद्यादेवी भण्डारीलाई देख्छौं । तपाईं राष्ट्रपति निर्वाचित भएका बेला हामीले दुरदराजमा पनि खुशियाली मनाएका थियौं । हर्षोल्लासपूर्वक महिला अधिकारका नारा लगाएका थियौं र दिप प्रज्ज्वलन गरेर आपसमा खुशी साटेका थियौं । यही दिन मैले पनि मनमा एउटा अठोट लिएकी थिंए कि देशको सर्वोच्च अभिभावकीय निकायमा महिला पुग्दा अब स्थानीय तहका निकायमा पनि महिलाले नेतृत्व लिन सक्छन् होला नि ।

तपाईंकै पहलमा नेपालको संविधान २०७२ मा स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुनैपर्ने कुरा उल्लेख भयो । संविधानको यो प्रावधानले सयौं महिलाहरुलाई एकैचोटी नेतृत्वमा स्थपित गराइदियो । ति सयौं महिला मध्ये म पनि एक बन्ने अवसर पांए । संविधानको यही प्रावधानको पालना गर्दै नेकपा एमालेले मलाई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखको उम्मेद्वार बनायो । मैले निर्वाचन जितें । पाँचवर्ष तपाईंलाई नै आदर्श मान्दै आफ्नो भूमिका निर्वाह गरें । २०७९ को बैशाखमा स्थानीय तहको दोस्रो निर्वाचन भयो । मेरो कामको मूल्यांकन गर्दै पार्टीले प्रमुख पदको उम्मेद्वार बनायो । त्यसमा पनि मैले सफलता हासिल गरें। अहिले म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रमुखको रुपमा कार्यरत छु । म जस्तै अरु २५ जना दिदीबहिनीहरुले देशका विभिन्न क्षेत्रका महानगर,उपमहानगर,नगरपालिका र गाउँपालिकाको नेतृत्व गरिरहनु भएको छ । तपाईं राष्ट्रपति भएकै कारण हामी महिलाहरुमा पनि हामीले पनि स्थानीय सरकारको नेतृत्व लिन सक्छौं भन्ने हिम्मत जागेको मैले महसुष गरेकी छु।

तपाईंले आफ्नो कार्यकालमा देश र जनताको लागि लिएका अडानहरुले राष्ट्रपति पद र राष्ट्रपति संस्थाप्रतिको सम्मानले अनन्त उचाइ लिएको छ । तपाईंको सूर्य जस्तो तेजिलो र समुन्द्र जस्तै शान्त अनुहार जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको लागि लिएको अडानले आज हामी कर्मक्षेत्रमा खटिएका हामीलाई थप उर्जा र हौसला मिलेको छ । हिंड्दा बाटोमा ठेस लाग्न सक्छ, अनेकौ बाधा अवरोध आउछन् तर आफ्नो यात्रा, निरन्तर अगाडि बढाउनुपर्छ भन्ने सन्देश तपाईबाट हामीले पाएका छौँ । देश र जनताको लागि तपाईले निर्वाह गरेको भूमिका र त्यसबाट हामीले पाएको प्रेरणा सधैंभरी हाम्रा लागि मार्ग दर्शन बन्नेछन् । फेरि पनि हार्दिक बधाई सम्माननीय विद्यादेवी भण्डारीज्यू ! हामी चाहन्छौं,देशका विभिन्न क्षेत्रमा थुप्रै विद्या भण्डारीहरुको उदय भइरहोस । राष्ट्रपतिबाट सेवा निवृत भएपनि यहाँको उर्जा देश,जनता,महिला अधिकार र नेतृत्व स्थापनाको अभियान कहिले निवृत हुनेछैन भन्ने अपेक्षा गरेकी छु ।
तपाईंको शुभेच्छुक

प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार  ५ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]