जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड पशुपन्छी तथा मत्स्यमा आत्मनिर्भर

बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखाको कार्यालय परिसर परैबाट व्यस्त देखिन्छ । सेवाग्राहीहरु झ्यालबाट चिहाएर भित्रका कर्मचारीलाई केही भनिरहेको जस्तो देखिन्छ । यद्यपि झ्यालबाट चिहाउने सेवाग्राहीको अनुहार उज्यालो देख्दा हामी आश्चर्यमा प¥यौ । हाम्रो देशका कार्यालयहरुमा सेवाग्राहीहरुलाई बिरैलै मात्रामा खुशी देख्न पाइने भएकाले चकित भएका हौं ।

झ्यालबाट चिहाउने सेवाग्राीहरुले पशुपन्छीहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका औषधी तथा घाँसका बिउहरु मागिरहेका रहेछन् । कर्मचारीहरुले सेवाग्राहीहरुको विषय राम्रोसँग बुझेर उनीहरुलाई उचित सल्लाह सहित औषधीहरु दिइरहेका थिए ।

कार्यालयको सौहार्दपूर्ण वातावरण हेर्दै पशुपन्छी तथा मत्स्य बिकास शाखा प्रमुख सावित्रा कुमारी दाहालको कार्यकक्षमा उनीसँग बिर्तामोड नगरले पशुपन्छी तथा मत्स्यको क्षेत्रमा बिकासका निम्ति गरिरहेको कामहरु बारे बुझ्दै गर्दा करीब ४५ वर्षीय महिला ‘दिदी खोरले बाख्रा थाम्न छाडो अब राम्रो खोर बनाउने बजेट चाहियो’ भन्दै कार्यकक्षमा प्रवेश गर्छिन् ।
खोर बनाउने बजेट माग्दै कार्यालय प्रवेश गरेकी महिला हुन् बिर्तामोड– ७ निवासी साबित्रा सिटौला । सिटौलाले पशुपन्छी तथा मत्स्य बिकास शाखाको ‘बाख्रा साटासाट’ कार्यक्रम अन्र्तगत तीन वटा माउ बाख्रा र एउटा बोयर जातको बोका पाएकी थिइन् । हाल उनको खोरमा बाख्राको संख्या १८ वटा पुगेको छ । साथै बोयर बोका बडेर करीब ६० केजी तौलको पुगेका कारण आफूले दुई वर्ष अगाडि बनाएको खोरले नथामेको उनले बताइन् ।

‘बाख्रा साटासाट’ कार्यक्रममा उनले तीन वटा माउ बाख्रा पा्रप्त गरेकी थिइन् । एकदेखि दुई वर्षभित्र तीनवटा पाठी नगरपालिकालाई फिर्ता गर्नुपर्ने उक्त कार्यक्रमको सर्त छ । उनी भन्छिन्, ‘पोहोर खोरमा पाठी नभएर फिर्ता गर्न पाइन । अहिले पाठी छ त्यही कहिले फिर्ता गर्नपर्ने हो भनेर बुझ्न नगरपालिका आएकी हुँ । अनी अलिकती नाम्लेको दबाई र घाँसको बिउ पनि चाहिएर आएकी ।’, उनले यो कार्यक्रम अन्र्तग बाख्रा पाएपछि नगरपालिकालाई पाठी बाख्रा फिर्ता गर्नुपर्ने छ भने बोका चाहिँ आफ्नै हुने बताइन् ।

बाख्रामा राम्रो आम्दानी भएको तर बजारको उचित व्यवस्थापन नभएकाले कहिलेकाहीँ बेच्ने बेला भएको बाख्रा समयमा बेच्न नपाउँदा घाटा हुने गरेको सिटौलाले बताएकी छिन् । उनले बजारको अभाव रहेको बताउँदै जतिसक्दो चाँडो बजार व्यवस्थापन गरिदिन आग्रहसमेत गरेकी छिन् ।
………….
स्वास्थ्य पशुजन्य उत्पादनमा जोड
शहरी क्षेत्रको रुपमा बिकास भइरहेको बिर्तामोड झापाको स्वास्थ्य र शिक्षाको हबको रुपमा परिचित छ । नेपालको पूर्वी क्षेत्रका मानिसहरुको स्वास्थ्य उपचार गर्ने र सम्पूर्ण विद्यार्थीहरुको उच्च शिक्षाको सपना पूरा गर्ने स्थान हो बिर्तामोड । बिर्तामोडमा कृषि क्षेत्रमा पनि उल्लेखनीय बिकास भएको पाइन्छ । समग्र कृषि क्षेत्रमध्ये पशुपन्छी तथा मत्स्य क्षेत्रको बिकासको गतिलाई हेर्दा बिर्तामोड चाँडै यसमा आत्मनिर्भर बन्ने अवस्था पाइएको छ ।

बिर्तामोडमा हाल कुखुराको १९ वटा, गाईको ५१ वटा, भैंसीको एउटा, बाख्राको ४० वटा, माछाको १९ वटा र बङ्गुरको ३९ वटा गरेर कुल एक सय ६९ वटा फार्महरु सञ्चालनमा रहेको पशुपन्छी तथा मत्स्य बिकास शाखा बिर्तामोडको तथ्यांकले देखाएको छ ।

बिर्तामोड नगरपालिकाले पशु पालनमा किसानहरुलाई आकर्षण गर्ने विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । बिर्तामोडले यसै वर्ष मात्र पशु बीमा गरेर पशु धनको रक्षाको निम्ति चार लाख रुपैयाँ बजेट बिनियोजन गरेको देखिन्छ । हाल नेपाल सरकारले पशु बीमामा ८० प्रतिशत अनुदान दिने गरेको छ । सरकारले कृषकलाई तिर्न लगाएको २० प्रतिशतमध्ये पनि बिर्तामोडले १० प्रतिशत तिरेर पशु बीमा कार्यक्रममा किसानहरुलाई आकर्षण गरिरहेको हो । बिर्तामोडले यसै वर्ष मात्र करिव ८० करोडको पशु धनको रक्षा गरेको पशुपन्छी तथा मत्स्य बिकास शाखा प्रमुख सावित्रा कुमारी दाहालले जानकारी दिएकी छन् ।

यसैगरी ‘पशु स्वास्थ्य’ कार्यक्रम अन्र्तगत पशु उचार, प्रयोगशाला सेवा, आकस्मिक उपचार सेवा, विभिन्न प्रकारका खोपहरुको व्यवस्थापन, स्वास्थ्य दुध उत्पादन तथा थुनेलो निवारण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । यसैगरी रेबिज दिवसको अवसर पारेर खोप लगाउने कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । बिर्तामोडले पशु स्वास्थ्यको सुरक्षाका निम्ति १४ लाख ५६ हजार रुपैयाँ विनियोजन गरेको छ । शाखा प्रमुख दाहालले पशु स्वास्थ्य हुँदा मात्र त्यसको मासु, दुग्ध तथा अन्य पशुजन्य बस्तुहरुको सेवन गर्दा मानिस पनि स्वस्थ्यकर हुने बताइन् । उनले पशुबाट आम्दानी लिन पशु स्वस्थ्य हुनपर्ने भएकाले किसानहरुको आम्दानीलाई बढाउने उद्देश्यका साथ ‘पशु स्वास्थ्य’ कार्यक्रम सञ्चालन गरेको बताइन् ।

बिर्तामोडले पशुको स्वास्थ्य सँगसँगै आहारको पनि व्यवस्थापन गर्ने गरेको छ । बिर्तामोडले ‘पशुआहार कार्यक्रम अन्र्तगत चार लाख ४२ हजार बजेट बिनियोजन गरेको छ । बिर्तामोडले ५० प्रतिशत अनुदानमा हिउँदे घासको बिउ र वर्षे घासको बिउ वितरण गरेको छ । यसैगरी हिउँदे र वर्षे घासको मिनीकिट पनि अनुदानमा वितरण गर्ने गरेको छ ।

बिर्तामोडले गरीब, दलित, आदिवासी र जनजातीहरुलाई पशु व्यवसायमा संलग्न गरेर आर्थिक वृद्धिदर बढाउने योजनाका साथ ‘नगर प्रमुख पकेट प्याकेज कार्यक्रम’ सञ्चालन गरिरहेको छ । बिर्तामोडले ०७४ सालबाटै यो कार्यक्रम सञ्चालन गरिरहेको पशुपन्छी तथा मत्स्य बिकास शाखाकी प्रमुख साबित्रा कुमारी दाहालले बताएकी छिन् । यस कार्यक्रम अन्र्तगत बिर्तामोडले पकेट क्षेत्रको छनोट, पशु समूह तथा समिति गठन गर्ने लगायतका कामहरु गरिरहेको छ । यसैगरी खोर सुधार कार्यक्रम अन्र्तगत बिर्तामोडले बाख्रा र बंगुरको खोर सुधार गरिरहेको छ । बिर्तामोडले हालसम्म एक हजार ५० जना किसानहरुको खोर सुधार गरिसकेको छ ।

बिर्तामोडले हालसम्म ५० जना किसानहरुलाई पशु पालन सम्बन्धी तालिम दिइसकेको छ । किसानहरुलाई बाख्रा र बंगुर पालन सम्बन्धी तालिम दिने गरिरहेको छ । साथै बिर्तामोडले अनुदानमा पशु पनि दिने गरेको पशुपन्छी तथा मत्स्य बिकास शाखाले जनाएको छ ।

बिर्तामोडको पशुपन्छी तथा मत्स्य बिकास शाखाका कार्यक्रमहरु मध्ये ‘बाख्रा साटासाट’ र ‘बंगुर साटासाट’ कार्यक्रम सबैभन्दा प्रभावकारी देखिन्छ । बिर्तामोडले ०७४ सालबाटै वार्षिक रुपमा यो कार्यक्रम गरिरहेको छ ।
बिर्तामोडले पोहोरसम्म गोठ सुधारको कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर काम गरेको थियो । बिर्तामोडले चार सयभन्दा बढि गोठहरुको सुधार गरेको तथ्यांकले देखाएको छ ।

बिर्तामोडको पशुपन्छी तथा मत्स्य बिकास शाखाले उपचार सेवा अन्र्तगत प्राथमिक उपचार, माईनर सर्जिकल, गाईनोकोलिकल लगायतको सेवा उपलब्ध गराई रहेको छ । साथै, प्रयोगशाला सेवा अन्र्तगत गोबर परीक्षण र दुध परीक्षण सेवा उपलब्ध गराउने गरेको छ । यस्तै, खोप सेवा अन्र्तगत स्वाईन फिवर, पी.पी. आर, रेबिज पोष्ट खोप र रेबिज प्रि खोपको सेवा प्रदान गर्ने गरेको छ । यसैगरी बिर्तामोडले कृत्रिम गर्भाधान सेवा पनि उपलब्ध गराइरहेको छ । पशुपन्छी तथा मत्स्य बिकास शाखा प्रमुख दाहालले भनिन्, ‘कृत्रिम गर्भाधान सेवामा सामान्य रकम लिने गरेका छौं । बाँकी रहेका अरु सबै सेवाहरु हामीले निःशूल्क उपलब्ध गराउने गरेको छ ।’
……………
बजारको अभाव
बिर्तामोडले पशुपक्षी तथा मत्स्यको क्षेत्रमा काम गर्दा स्थानीय किसानहरुको माग, समस्या र आवश्यकताहरु बुझेर मात्रै कार्यक्रमहरु निमार्ण गर्ने गरेको शाखा प्रमुख दाहालको भनाई छ ।

बिर्तामोडको पशुपन्छी तथा मत्स्य बिकास शाखासँग ८६ लाख ४१ हजार बजेट रहेको शाखा प्रमुख साबित्रा कुमारी दाहालले जानकारी दिएकी छिन् । उनले यस शाखाको बजेट घट्दो क्रममा रहेको बताइन् । उनी भन्छिन्, ‘अघिल्लो आर्थिक वर्षमा करीब एक करोड भएको बजेट यो वर्ष ८६ लाखमा झरेको छ । अब आउँदो आर्थिक वर्ष अझ घट्ने सम्भावना छ ।’

बिर्तामोडको पशुपन्छी तथा मत्स्य बिकास शाखाले पर्याप्त बजेटको अभावमा गर्नुपर्ने थुप्र्रै कामहरु गर्न नसकेको शाखा प्रमुख दाहालको भनाई छ । किसानका माग र समस्याहरु धेरै भएको तर बजेट अभावले गर्दा ति मागहरुको सम्बोधन गर्न नसक्दा आफैंलाई नराम्रो लाग्ने उनले बताइन् । उनी भन्छिन्, ‘किसानका सबै मागलाई सम्बोधन गर्न नसकिएला तर अति आवश्यक मागलाई सम्बोधन गर्नुपर्छ । कहिलेकाहीँ त्यो पनि सम्बोधन गर्न नसक्दा नमजा लाग्छ ।’

बिर्तामोडले प्रत्येक वर्ष दुई वटा कृषि समुहहरुलाई ४५ वटाको दरले बाख्रा दिने गरेको छ । शाखा प्रमुख दाहालले प्रत्येक समुहमा ४५ वटा लोकल बाख्रा र २–२ वटा उन्नत जातको बोका दिने गरेको जानकारी दिइन् । उनी भन्छिन्, ‘समुहलाई तालिम दिएर बाख्रा दिन्छौं । पछि बाख्रालाई चाहिले घाँसको बिउ । औषधीहरु भिटामिनहरु सबै हामी निशूल्क रुपमा दिने गर्र्छौ त्यसले गर्दा पनि हामीप्रति किसानहरुको विश्वास छ ।’ उनले किसानहरुको खोर पनि बनाएर बाख्रा दिने गरेको बताएकी छिन् ।

यस्तै बंगुर पनि नगरपालिकाले खोरसमेत बनाएर दिने गरेको छ । नगरपालिकाले हरेक वर्ष दुई वटा समुहलाई ३०÷३० वटा माउ र २-२ वटा बीर दिने गरेको शाखा प्रमुखले बताएकी छिन् ।

बिर्तामोड नगरपालिका माछा र मासुजन्य पशु उत्पादनमा आत्मनिर्भर रहेको शाखा प्रमुख दाहालको भनाई छ । उनले बिर्तामोड नगरभित्र आवश्यक पर्ने मासु जन्य पशुहरु यहीँ उत्पादन हुने बताइन् । उनी भन्छिन्, ‘हामी मासुजन्य पशुमा आत्मनिर्भर छौं । बरु आवश्यक बजार नपाएर हामी हैरान छौं । हाम्रै उत्पादनले बजार नपाएको अवस्था छ ।’ उनले हरेक वर्ष बिर्तामोडका किसानले बजार अभावका कारण लाखौं गुमाउन परेको बताएकी छिन् ।

बिर्तामोडमा बंगुर र खसी÷बाख्रा बजार अभावले गर्दा बिक्रि नभइरहेको उनले गुनासो गरेकी छिन् । बजार उपलब्ध गराउन नसकेर कृषि क्षेत्रमै भएका किसानहरु पनि यहाँबाट बिमुख हुनुपर्ने अवस्था आउन थालेको उनले बताएकी छन् । उनी भन्छिन्, ‘बजार अभावकै कारणले यो पाली धेरैले आफ्नो फार्म बन्द गर्नु भयो । निक्कै र्फामहरु नविकरण हुनै आएनन् ।

उनले पशुपन्छी तथा मत्स्य क्षेत्रको बिकासको निम्ति बजेटमा वृद्धि गरिनु पर्ने बताएकी छिन् । हाल बिनियोजन भइरहेको बजेट यस क्षेत्रको आमुल परिवर्तनको लागि पर्याप्त नभएको उनको भनाई छ । यसैगरी यस बजारको सुनिश्चतता पनि हुनुपर्ने उनले बताएकी छिन् । बजार नहुँदा आम्दानी नहुने भएकाले छिट्टै किसानहरु यस क्षेत्रबाट पलायन हुने गरेको उनले बताएकी छिन् । बजेटको वृद्धि र बजारीकरण गर्न सके यो क्षेत्रको बिकासले गति लिने उनको बुझाई छ ।

दुध बेचेरै मासिक १ लाखसम्म आम्दानी
बिर्तामोड नगरपालिकाले पशु किसानहरुलाई सहयोग गर्ने किसिमको कार्यक्रमहरु ल्याएको किसान शम्भु सेडाईंले बताएका छन् ।

सेडाईंले नगरपालिकाले बीमा, कृत्रिम गर्भाधान, विभिन्न भ्याक्सिनहरुको कार्यक्रम, कुटि काट्ने मसिन, घाँसका बिउ र बस्तुभाउको औषधी उपचारहरुमा सहयोग गरिरहेको बताएका छन् । उनी भन्छन्, ‘हामी किसानलाई आवश्यक पर्ने लगभग सबै सामान्य सहयोगहरु नगरपालिकाले गरिरहेको छ ।’, उनी भन्छन्, ‘हाम्रो नगरपालिकाको पशु शाखाले प्रत्यक्ष किसानलाई फाइदा हुने काम गरिरहेको छ । नगरपालिकाले जे होस् हामीलाई सपोर्ट गरेको छ ।’

सेडाईं राम्र्रोसँग मेहेनत गरेर काम गरे कृषिबाट राम्रो आम्दानी हुने बताउँछन् । उनी भन्छन्, ‘म पहिलाबाटै किसान हुँ । हालसम्म विदेश गएको छुइन । मैले आजसम्म कृषिबाट जिविका चलाएको छु ।’ उनले कृषिबाटै आम्दानी गरेर छोरा–छोरी पढाई रहेका छन् । उनले जेठी छोरी मास्टर डिग्री, जेठो छोरो ब्याचलर र कान्छो छोरा कक्षा सातमा पढ्ने बताए ।
सेडाईंले करीब सात वर्ष अगाडिबाट गाई पालन सुरु गरेको बताएका छन् । हाल उनको गोठमा २५ वटा गाईहरु छन् । उनी २५ वटा गाईको दुध बेचेर आफ्नो गुजारा चलाई रहेका छन् । उनले दुध बेचेर मासिक एक लाख नाफा हुने बताए । उनी भन्छन्, ‘म करीब डेढ लाखको दुध मासिक बेच्छु । खर्चबर्च कटाउँदा उही एक लाख जति नाफा हुन्छ ।’

सरकारले अझै पनि किसानहरुलाई आवश्यक मात्रामा नसमेटेको उनको गुनासो छ । उनी भन्छन्, ‘अनुदान आएको गएको केही पनि अहिलेसम्म थाहा छैन । हामी गाउँमै बसेर घाँस गोबर गर्ने किसानहरुको पनि पहुँच सरकारसम्म हुनुपर्छ ।’, उनले आफूलाई अनुदान आउने बाटो नै थाहा नभएको बताएका छन् ।

राज्यले प्रत्यक्ष किसानहरुसम्म पुग्ने किसिमका विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने उनको भनाई छ । राज्य अझैं पनि पूर्ण रुपले कृषिमै आश्रित किसानसम्म नपुगेको र राज्यको सुविधाहरु कागजी किसानले मात्र प्राप्त गरेको उनको बुझाई छ ।

उनले युवाहरुलाई कृषिमा लाग्न सुझाव दिएका छन् । विदेश गएर परिवारबाट टाँढा भएर दुःख गर्न भन्दा यहीँ मेहनत गरे गुजारा चल्ने आम्दानी गर्न सकिने उनले बताएका छन् । यही बसेर मेहनत गरेर काम गर्न सकिने भएकाले युवाहरुलाई विदेश नजान उनले सुझाव दिएका छन् ।
प्रस्तुति : गगन ढकाल

प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]