जेष्ठ ५, २०८१ शनिबार

झापामा चैते धानको खेती : किसानको आकर्षण बढेन

गगन ढकाल

झापा । झापामा चैते धानको खेती गर्ने क्षेत्रफलमा एकरुपता आएको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको तथ्यांक अनुसार जिल्लामा चैते धान हुने क्षेत्रफल थपघट नभएको पाइएको हो ।

झापामा वि.सं. २०७६ सालदेखि १९ हजार ८ सय हेक्टर जमिनमा चैते धान खेती हुँदै आएको ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ । झापाका गौरादह नगरपालिका, कनकाई नगरपालिका र गौरीगञ्ज क्षेत्रमा धेरै चैते धान खेती हुने ज्ञान केन्द्रका सूचना अधिकारी गणेश सिवाकोटीले जानकारी दिए ।

पोहोर झापाको चैते धानको उत्पादकत्व पाँच दशमलब दुई मेट्रिक टन प्रति वर्ग हेक्टर थियो । यो वर्षको उत्पादकत्वको तथ्यांक धान काट्ने समय नभएकाले प्राप्त नभएको सूचना अधिकारी सिवाकोटीले बताए । उनले धानको अवस्था हेर्दा यो वर्ष उत्पादकत्व वृद्धि हुने सम्भावना रहेको बताएका छन् ।

झापामा चैते धानको क्षेत्रफल घट्ने भन्दा पनि बढ्ने सम्भावना रहेको सूचना अधिकारी सिवाकोटीले दावी गरेका छन् । उनले कनकाई नगरपालिकाको ‘कनकाई सिचाइँ’ कार्यक्रमको प्रशंसा गर्दै यस कार्यक्रमको क्षेत्र बिस्तार निरन्तर भइरहेको र त्यसले चैते धानको खेतीमा पनि वृद्धि गरिरहेको बताएका छन् । अन्य पालिकाहरुले पनि सिचाइँको योजना बनाएर लागि परिरहेकाले झापामा आगामी वर्षदेखि चैते धान खेती हुने क्षेत्रफलमा वृद्धि हुने दावी गरेका छन् ।

झापामा चैते धानका नयाँ–नयाँ बिउहरुको प्रयोगमा आउन थालेको सूचना अधिकारी सिवाकोटीले बताएका छन् । उनले झापामा हर्दिनाथ–१ (बिजी) सबैभन्दा बढि रोपिने चैते धान भएको बताएका छन् । यसैगरी कहीँ–कहीँ राम धान पनि रोपिन थालिएको पाइएको उनले जानकारी दिए ।

आर्जू राइस मिलले झापाका केही किसानहरुलाई धानको समर्थन मूल्य तोकिदिएर चैते धानको रुपमा राम धान लगाउन प्रेरित गरिरहेको सिवाकोटीले बताए । सिवाकोटीले राम धान चैते धानको जात नभएकाले नर्वा लड्ने र समयमा नपाक्ने समस्या रहेको जानकारी दिए ।

चैते धानको उत्पादन राम्रो भए पनि बाली उठाउने समय बर्खा पर्ने भएकाले किसानहरुलाई सास्ती हुने गरेको छ । भिझेको धानको मूल्य न्यून हुने र किसानहरु मारमा पर्ने गरेका छन् । उनले झापाका किसानहरुलाई धान सुकाउने मेसिन उपलब्ध गराउन सके चैते धानमा किसानहरुको अकर्षण बढ्ने बताएका छन् ।

शिवसताक्षी –५ निवासी उदय भानु प्रताव शाहले चैते धान वर्षे धान जति फाइदाजनक नभए पनि घाटा चाहिँ नभएको बताएका छन् । उनले चैते धानमा वर्षे धानमाभन्दा जस्तो फाइदा नहुने भएकाले किसानहरुको आकर्षण कम रहेको उनले बताएका छन् । यो धानको उत्पादनमा अलि बढि मेहनत लाग्ने भएकाले र धानको मूल्य पनि तुलनात्मक रुपले वर्षे धानको भन्दा कम हुने उनले बताएका छन् ।

शाहले कुनै–कुनै वर्ष चैते धानको मूल्य एकदमै थोरै हुँदा मात्र घाटा हुुने बताएका छन् । उनीसँग पोहोर र परार रु पाँच सय प्रति मनमा पनि धान बेच्न मुस्किल परेको अनुभव छ । यसरी धानको मूल्य निक्कै तल झर्दा मात्र सामान्य घाँटा हुने अन्यथा घाटा नहुने बताए ।

हाल उनले डेढ बिघा जमिनमा हर्दिनाथ–१ (बिजी) धान लगाएका छन् । उनले यो धान कट्ठामा चार मनभन्दा बढि फल्ने अनुमान गरेका छन् । चैते धान उठाउने समयमा कहिलेकाहीँ पानीले भिझाउने गर्छ । यसरी भिझाएको धान बिक्रि हुन निक्कै गाह्रो पर्ने हुँदा किसानलाई मौसमको अन्दाज गर्न सकस पर्छ । शाहले मौसम ख्याल नगरी ढुक्कले बाली उठाए घाटामा परिने बताएका छन् ।

चैते धानप्रति किसानहरुको आकर्षण बढाउन राज्यले अनुदानहरु वितरण गर्नुपर्ने शाहाको सुझाव छ । साथै यसलाई प्रविधि मैत्री बनाउन स्थानीय तहदेखि कृषि ज्ञानकेन्द्र, प्रदेश सरकार र केन्द्रीय सरकार सबै लागि पर्नु पर्ने उनको सुझाव छ ।

यसैगरी कमल–१ निवासी सुरजा थापाले आफ्नो जमिन बाँझो राख्न मनले नमानेकोले मात्र चैते धान लगाएको बताएका छन् । उनी भन्छन्, ‘जमिन बाँझो राख्नुभन्दा खेती गरौं भनेर मात्र हो । नभए चैते धानबाट नाफा छैन । बरु उल्टै गोजीबाट पौइसो जान्छ ।’

किसान थापाले ट्याक्टरको भाडा र खेतालाको दर महंगो तर धानको मूल्य सस्तो भएकाले चैते धानमा फाइदा नहुने बताए । उनले एक मन धान बेचेको पोइसाले एउटा खेतालालाई तिर्न पनि नसकिने बताएका छन् । साथै, बाली उठाउने समयमा हावाहुरी सहित बर्षा भए बाली उठाउनै नसकिने चुनौति रहेको उनले बताए । उनी भन्छन्, ‘उत्पादन राम्रो भए पनि मौसमले साथ दिएन भने घाटा हुन्छ । थोरै मूल्यमा भए पनि सहजै बेच्न पाइयो भने चाहिँ लगभग खर्च उठ्छ ।’

चैते धानमा प्रयोग हुने मल आवश्यक मात्रामा नपाइने उनको गुनासो रहेको छ । उनले सरकारलाई आवश्यक मात्रामा मल उपलब्ध गराइदिन अनुरोध गरेका छन् । थापासँग बालीमा मल हाल्ने समयमा मल नपाएर भारतीय बजारबाट लुकाएर मल ल्याएको पनि अनुभव भएकाले सरकारलाई यो विषयमा गम्भीर हुन उनले आग्रह गरेका छन् ।

हाल थापाले आफ्नो अढाई बिगाह जमिनमा हर्दिनाथ–१ (बिजी) धान लगाएका छन् । उनले चैते धानका अन्य जातभन्दा यो जातको राम्रो उत्पादन हुने भएकाले यो धान लगाएको जानकारी दिए । यो धानको नर्वा छोटो हुने भएकाले हावाहुरी आउँदा यो धान लड्ने सम्भावना पनि कम भएको उनको भनाई छ ।

प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]