जेष्ठ ५, २०८१ शनिबार

सुखानीका पाँच सहिद र केपी ओलीलाई सेल्टर दिन्थे हुक बहादुर

– प्रदीप परियार

झापा कनकाई नगरपालिका – ६ झारवारीका हुकबहादुर श्रेष्ठ कम्युनिष्ट नेताहरुका सल्टरदाता हुन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग घैलाडुब्बाको आदर्शमा माविमा अध्ययनका क्रममा भेट भएका श्रेष्ठ साथीसंगतका कारण कम्युनिष्ट नेताहरुसँग जोडिएका थिए ।

बुबा स्व. लालबहादुर र आमा स्व. कृष्ण्मायाको सुपुत्रका रुपमा वि.सं. २००९ साल साउन ७ गते उदयपुर जिल्लामा जन्मनुभएका श्रेष्ठ ०११ साददेखि झापामा बसोबास गर्दै आउनु भएको छ । सर्वहारा वर्गको निमित्त आन्दोलनमा लागेको सुनेपछि साथीहरुसँगै क्रियाशिल हुनुभयो ।

साविक घैलाडुब्बा ४ मा बसोबास गरिरहँदा उहाँले १८ वर्षमै कम्युनिष्ट विचार मन परेर आन्दोलनमा लागेका व्यक्तिहरुलाई सहयोग गर्ने निष्कर्षमा पुगेको स्मरण गर्नुहुन्छ । ०७१ सालमा श्रीमति दिलमाया श्रेष्ठलाई गुमाउनु भएका उहाँका १ छोरा र ८ जना छोरी छन् ।

साधारण लेखपढ गर्ने उहाँले किसानको जीवन विताउनु भएको छ । कम्युनिष्ट आन्दोलनमा ०२९ सालको सुखानी घटनापछि साथीहरुसँग सम्कर्प घटेर नीजि जीवनयापनका लागि कृषि कर्ममा लागेको उहाँको भनाई छ ।
त्यो बेला तुलसी खतिवडा, तेजबहादुर खतिवडा लगायत साथीहरुको संगतले उहाँ कम्युनिष्ट आन्दोलनप्रति प्रेरित हुनुभयो । खतिवडा दाजुभाईको सम्पर्कबाट केपी शर्मा ओली, सिपी मैनाली, सुखानीमा मारिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठसँग सम्बन्ध बनेको थियो ।

केपी ओली, सिपी मैनाली र सुखानीमा मारिएका कम्युनिष्ट योद्धाहरुलाई श्रेष्ठले अढाई वर्ष सेल्टर दिएको बताउँनुहुन्छ । भूमिगत भएका नेताहरुलाई सेल्टर दिँदाको समयलाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ – ‘त्यो बेलाको ओलीको जोस अहिले पनि उस्तै छ ।’ सेल्टर दिनुभएका श्रेष्ठले तत्कालिन आन्दोलनमा नेताहरुलाई सुरक्षा दिने र हतियारको सुरक्षा गर्ने जिम्मेवारी थियो । सेल्टर दिएको समयमा गाउँलेले खवर सुनाइदिएछन्, उहाँ भन्नुहुन्छ – मलाई पक्राउ गर्ने धेरै प्रयासहरु असफल भएकाले अहिलेसम्म जीवित छु । उहाँको घरमा भूमिगत भएका नेताहरु ०२७ सालको अन्तिमदेखि बसेका थिए ।

सर्वहारा जनताको निम्ति काम गर्ने, समानता ल्याउने कुरा गरेपछि सहयोगी बन्नु भएका श्रेष्ठ नेताहरुलाई विभिन्न ठाउँमा सुरक्षित पुराउने काम समेत गर्नुहुन्थ्यो । रामनाथ दाहाललाई चारपाने मुन्तिर घरमा पुराउन गएको आधा घण्टामा पक्राउ पर्नुभयो । त्यसको झण्डै डेढ वर्षपछि उहाँ लगायत पाँच जनाको जेल सार्ने बहानामा सुखानीमा हत्या गरिएको थियो । श्रेष्ठले सो घटना रेडियोबाट सुन्नु भएको थियो ।

सुखानी घटनापछि आन्दोलन नै तितरवितर भएको उहाँको बुझाई छ । सुखानी घटनापछि कतिपय साथीहरुसँग ४३/४४ तिर मात्रै भेट भयो । एक पटक जनपक्षीय उम्मेदवार बन्नुभएका उहाँ पराजित हुनुभएको थियो ।

भूमिगत नेताहरुलाई सेल्टर दिँदा साथीहरुलाई कसरी बचाउने र आफु कसरी बाँच्ने भन्ने चिन्ता हुन्थ्यो । आन्दोलनमा आफैले सेल्टर दिएका साथीहरुको हत्या हुँदा जीवनमै धेरै दुखी भएको बताउनुहुन्छ । कम्युनिष्ट आन्दोलनको तत्कालिन समयलाई फर्केर हेर्दा खुशी कुनै क्षण छैन । हरेक पलहरु दुखद् थिए, कतिबेला मरिन्छ भन्ने टुङ्गो थिएन ।
उहाँले पार्टी अध्यक्ष ओलीलाई गत फागुन १ गते दमकमा भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । आफैले सेल्टर दिएको व्यक्ति पार्टीको अध्यक्ष भएको देख्दा असाध्यै खुशी भए । तर, भीडभाडले धेरै कुराकानी गर्न नपाएकोमा गुनासो छ ।

पुराना कम्युनिष्ट नेता श्रेष्ठलाई एमालेले अन्य पार्टीसँग गठबन्धन गरेको मनपरेको छैन । एमालेमा शुद्ध मान्छेहरु मात्रै भएको हेर्ने मन छ । एमालेसँग फोहोरी मान्छेहरु जोडेर पार्टीलाई बद्नाम हुनबाट जोगाउनुपर्ने उहाँको सूझाव छ । पछिल्लो पटक प्रचण्डलाई प्रधानमन्त्रीमा पार्टीले स्वीकार गरेकोमा ठुलो गुनासो छ । एमालेले आफुलाई धोका हुने काम गर्न नहुने उहाँको बुझाई छ । पार्टीबाट खराव पात्रहरु आफै निस्किदै जाने र एमाले शुद्ध जनताको पार्टी हुनेमा विश्वस्त रहेको भनाई छ ।

एमालेले जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने सेल्टरदाता श्रेष्ठको आग्रह छ ।

प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार  ११ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]