जेष्ठ ५, २०८१ शनिबार

नागरिकलाई निरोगी बनाउने कनकाईको स्वास्थ्य योजना

झापाको कनकाई नगरपालिका बन्द निषेधित क्षेत्र हो । बन्द हड्ताल नहुने पालिकाको रुपमा स्थापित कनकाई शान्ति क्षेत्रको रुपमा परिचित छ । त्यति मात्र होइन, कनकाईमा विद्युत चुहावट पनि शून्य छ । धार्मिक एवम् पर्यटकीय हिसाबले परिचित कनकाई जिल्लाका अन्य पालिकाभन्दा पृथक छ । पछिल्लो समय शैक्षिक गुणस्तरको मुद्दामा जिल्लामा अग्रणी रहेको कनकाई स्वास्थ्य क्षेत्रको बिकासमा पनि उत्तिकै तदारुकताको साथ लागिरहेको छ ।

नगरका नागरिकहरुको स्वास्थ्यप्रति उत्तरदायी भएर काम गरिरहेको कनकाईले नागरिकलाई निरोगी बनाउने लक्ष्य राखेको छ । उक्त लक्ष्य पूरा गर्न कनकाईमा एउटा सुविधा सम्पन्न नगर अस्पताल, एउटा सामुदायिक स्वास्थ्य चौकी र सात वटा आधारभूत स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

कनकाईले प्रिभेन्टीब र क्यूरेटीब दुबै पद्धतिबाट नागरिकहरुको स्वास्थ्यको सुरक्षा गरिरहेको कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अधिकारीले बताएका छन् । प्रिभेन्टीब पद्धति भनेको सकेसम्म रोग लाग्न नदिने पद्धति हो भने क्यूरेटीब भनेको रोग लागि हालेमा औषधीको प्रयोग गरेर रोगलाई निको पार्ने पद्धति हो । शाखा प्रमुख अधिकारीका अनुसार प्रिभेन्टीब पद्धति देख्दा साधारण लागे पनि यसलाई निक्कै प्रभावकारी पद्धतिको रुपमा लिने गरिन्छ । यस पद्धतिको प्रयोग कहिलेकाहीँ रोग लागेमा त्यसलाई बढ्न नदिन पनि प्रयोग गरिन्छ । उनी उदाहरण दिँदै भन्छन्, ‘प्रिभेन्टीब पद्धतिले खाना खानु अगाडि साबुन पानीले हात धुनु भन्छ । त्यसैगरी क्यूरेटिब पद्धतिले झाडापखाला लागेमा त्यसलाई निको पार्न जीवनजल खाउ भन्छ ।’ कनकाईको सम्पूर्ण सामुदायिक असपतालहरुमा प्रिभेन्टीब र क्यूरेटीब दुबै पद्धतिको उपचार गरिन्छ । कनकाईले नागरिकलाई निरोगी बनाउने लक्ष्य राखेकाले प्रिभेन्टीब पद्धतिलाई विशेष जोड दिएको पाइएको छ ।

कनकाई आफ्ना नागरिकहरुलाई रोग लाग्नै नदिन चाहन्छ । त्यसैले अधिकतम रुपमा जनस्वास्थ्यका कार्यक्रमहरु आयोजना गर्ने गरेको छ । कनकाईले आफ्ना नागरिकहरुलाई बच्चैबाट निरोगी बनाउन दुई वर्ष मुनीका बालबालिकहरुको स्वास्थ्य परीक्षण र कुपोषण व्यवस्थापनका निम्ति एक लाख बजेट विनियोजन गरेको छ । बालबालिकाबाटै उचित स्वास्थ्य सुरक्षा गरे भविष्यमा रोग लाग्नबाट बचाउन सकिने भएकाले यो कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख अधिकारीको भनाई छ ।

कनकाईले जनस्वास्थ्यको सुरक्षा गर्न सात वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पु¥याएको छ । यसैगरी ल्याब सेवा सहितको एउटा स्वास्थ्य चौकी र सुविधा सम्पन्न १५ वेडको नगर अस्पताल सञ्चालन गरेको हो । कनकाई नगर अस्पतालमा विशेषज्ञ डाक्टरको सेवादेखि अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला समेत रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिए । ‘कनकाई नगर अस्पतालमा भिडियो एक्स–रेको निम्ति रेडियोलोजिस्टको सेवा उपलब्ध छ । यसैगरी तीन जना एमबीबीएस डाक्टरको पनि सेवा उपलब्ध रहेको छ’ शाखा प्रमुख अधिकारीले भने ।

कनकाईले नगर अस्पतालको सेवा बिस्तारको निम्ति तीन जना विशेषज्ञ डाक्टरहरुको लागि भनेर बर्खरै विज्ञापन खुलाएको छ । कनकाईले एक जना मेडिसिन, एक जना स्त्री रोग विशेषज्ञ र एक जना बालरोग विशेषज्ञको माग गरी विज्ञापन खुलाएको हो ।

कनकाईका नागरिकलाई रोग लाग्नै नदिने नगरपालिकाको लक्ष्य रहेको शाखा प्रमुख अधिकारी बताउँछन् । उनी भन्छन्, ‘नागरिलाई रोग लाग्न नदिन विभिन्न प्रकारका खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा र अत्यावश्यक सेवाहरु सञ्चालन गर्ने । अहिले तत्काल प्रभाव नदेखिने तर दीर्घकालिन रुपमा आम नागरिकलाई स्वास्थ्य रहन मद्दत गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्छौ ।’ साथै कनकाईले नौ वटै वडाका नागरिकहरुलाई आधारभूत स्वाथ्य सेवा उपलब्ध गराएर जनस्वास्थसँग सम्बन्धित कामहरु गरिरहेको छ । आधारभूत स्वास्थ केन्द्रबाटै खोप, पोषण, गर्भवती जाँच सेवा र परिवार नियोजनको कार्यक्रम सञ्चान हुँदा नागरिकहरुलाई सहज भएको पाइन्छ ।

कनकाईले स्वास्थ्यमा बालबालिकालाई विशेष प्राथमिकता दिएको पाइन्छ । कनकाईले ‘पाँच वर्ष मुनीका बालबालिकाहरुका निम्ति समुदायमा आधारित नवजात शिशु जाँच’ कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यस कार्यक्रम अन्र्तगत बालबालिकाको स्वास्थ्य परीक्षण र आवश्यक पोषणहरु नगरपालिकाले निशूल्क रुपमा उपलब्ध गराउने गरेको छ । बालबालिकालाई भविष्यमा लाग्न सक्ने सम्भावित रोगहरुको अनुसन्धान पनि गरिन्छ । साथै रोकथामका उपायहरु पनि अपनाइन्छ ।

कनकाईको स्वास्थ्य शाखासँग कुल एक करोड ५० लाख बजेट रहेको छ । यसमध्ये महामारी जन्य रोगहरुबाट कसरी बाच्ने भनेर जनचेतना दिन नगरले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । समग्रमा हेर्दा कनकाईले नागरिकहरुलाई स्वास्थ्यप्रति जनचेतना जगाउने देखि लिएर सर्वसुलभ अस्पतालसम्मको व्यवस्थापन गरेको छ ।

कनकाईले महिलाको स्वास्थप्रति सचेत रहँदै पाठेघर परीक्षण र उपचारका निम्ति वार्षिक दुई लाख बजेट छुट्याएको छ । यसैगरी प्रसुती भएको अवस्थामा कोशी प्रदेश भरीका अस्पतालमा जान मिल्ने गरी निःशूल्क एमबुलेन्स सेवा सञ्चालन गरेको छ । साथै गर्भवती जाँच उत्प्रेरणा कार्यक्रम कार्यान्वयनका लागि वार्षिक एक लाख बजेट विनियोजन गरेको छ ।

कनकाई वृद्ध बुबा–आमाको स्वास्थ्यप्रति पनि सचेत रहेको पाइएको छ । कनकाईले ‘जेष्ठ नागरिक स्वास्थ्य परीक्षण’ कार्यक्रम अन्र्तगत वार्षिक पाँच लाख रुपैयाँ विनियोजन गरेको पाइएको छ । यस कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने र केही औषधीहरु पनि वितरण गर्ने गरेको शाखा प्रमुख अधिकारीले बताएका छन् ।

कनकाईका सम्पूर्ण आधारभूत स्वास्थ्य केन्द्रले टिबि र कुष्ठ रोग सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्छ । देश भर भयाबह अवस्थामा रहेको यि रोगहरुको निःशूल्क परीक्षण र औषधी वितरण गरिरहेको छ ।

कनकाईको नगर अस्पतालमा वार्ड सेवा समेत उपलब्ध भएको शाखा प्रमुख अधिकारीले बताएका छन् । १५ बेड सहितकोे वार्डमा बिरामीहरुलाई २४सैं घण्टा सेवा दिने गरेको उनले जानकारी दिएका छन् । कनकाईमा जनस्वास्थ्यको कार्यक्रमले नपुगेको खण्डमा उपचार गर्नका निम्ति विशेषज्ञ सेवा सहितको नगर अस्पताल तयार गरिएको शाखा प्रमुख अधिकारीको भनाई छ ।

०७४ साल भन्दा अगाडि कनकाई नगर भित्र एउटा प्राथमिक स्वास्थ्य चौकी र एउटा स्वास्थ्य चौकी मात्र थियो । हाल प्रत्येक वाडमा आधारभूत स्वास्थ्य केन्द्र पुगेको अवस्था छ । कनकाईले ०७४ साल पछि पहिलेको प्राथमिक स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा बिकास गरेको छ भने स्वास्थ्य चौकीको सेवा बिस्तार गरी त्यहाँ ल्याब सेवा समेत सञ्चालन गरिरहेको छ । यसै गरी सात वटा आधारभूत स्वास्थ्य केन्द्र थपिएको पाइन्छ । ०७४ साल अगाडि र पछाडिलाई तुलना गरेर हेर्ने हो भने कनकाईले स्वास्थ्यको क्षेत्रको बिकासमा छलाङ मारेको देखिन्छ । यद्यपि हालसम्म भएका बिकासहरु कनकाईको सबै नागरिकलाई निरोगी बनाउने लक्ष्यमा सहयोगी मात्र बन्न सक्छन् ।

कनकाईको सामुदायिक स्वास्थ्य केन्द्रहरु प्रति नागरिकको विश्वास सन्तोष जनक रहेको शाखा प्रमुख अधिकारीले दावी गरेका छन् । उनले वडाका स्वास्थ्य चौकीहरु प्रायः सुनसान नै हुने भए तापनि स्वास्थ्य चौकी र नगर अस्पताल प्रायः भिड नै हुने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘हाम्रो नगर अस्पताल यहाँको मात्र नागरकहरुको होइन । शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका नागरिकहरुको पनि विश्वास रहेको पाइएको छ । अन्य पालिकाबाट पनि धेरै नागरिकहरु हाम्रो नगर अस्पतालमा उपचार गराउन आउनु हुन्छ ।’

कनकाई नगर अस्पलातमा स्वास्थ्य बीमाको कार्यक्रम प्रभावकारी रुपमा सञ्चाल भइरहेकोले यहाँ सदैव भिड हुने गरेको शाखा प्रमुख अधिकारीको दावी छ ।

स्वास्थ्य क्षेत्रको बिकासको निम्ति कनकाईले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा आँखाको चेक जाँच गराउने गरेको छ । साथै पाठेघर क्यान्सरको स्क्रिन जाँच गरेको छ । यस जाँचले १० वर्ष भित्र क्यान्सर हुने सम्भावनाको समेत अध्ययन गर्ने शाखा प्रमुख अधिकारीले बताएका छन् । यसैगरी कनकाई नगपालिकाले नगरका सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको अधिकतम पहुँचमा पु¥याउन बीमाको कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रम अन्र्तगत कनकाईले प्रत्येक वर्ष अति बिपन्न पाँच सय परिवारलाई पूर्ण बीमा र एक हजार बिपन्न परिवारलाई अर्ध बीमा कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख अधिकारी बताउँछन् । उनले यो कार्यक्रम अन्र्तगत हालसम्म तीन हजार अति बिपन्न परिवार र छ हजार बिपन्न परिवारले सुविधा लिइसकेको बताएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नौ हजार परिवारलाई स्वास्थ्यको पहुँचमा ल्याउन सकेकाले यस कार्यक्रमलाई कनकाईले निक्कै महत्वपूर्ण कार्यक्रमको रुपमा हेरेको पाइएको छ । साथै यस कार्यक्रमकमे प्रभाव पनि प्रत्यक्ष जनस्तरमा परेको पाइएको छ ।

कनकाईको सामुदायिक स्वास्थ्य केन्द्रहरुमा सबै वर्गका मानिसहरु उपचार गर्न आउने गरेका शाखा प्रमुख अधिकारीको दावी छ । सबै वर्गका मानिसहरु आउनुको कारणमा उनले स्वास्थ्य बीमाको प्रभाव र गुणस्तरीय सेवा उपलब्ध गराउन सकेको बताएका छन् । उनले प्रिभेन्टीब पद्धति सबै वर्गका मानिसहरुका लागि अत्यावश्यक भएकाले पनि सबै वर्गका मानिसहरु आउने गरेको उनको दावी छ ।

कनकाईमा स्वास्थ्यको बिकासका निम्ति बजेट वृद्धि नभएको पाइएको छ । तर, शाखाले डाक्टर थप्ने र प्रयोगशालामा उपकरणहरु थपिरहेको छ । कनकाईका जनप्रतिनिहरु स्वास्थ्य क्षेत्रको बिकासका निम्ति सकारात्मक रहेको शाखा प्रमुख अधिकारीको दावी छ । उनले सबै जनप्रतिनिधिहरुले आफ्नो वडाको स्वास्थ्य चौकीको स्तरोन्नतीका निम्ति चासो देखाउने गरेको बताएका छन् । यसैगरी जनप्रतिनिधिहरु सम्बन्धित वडाको स्वास्थ्य चौकीले कसरी काम गरिरहेको छ जानकारी लिइरहने गरेको बताएका छन् । कनकाईले यसै वर्ष मात्र २४ घण्टे सेवा बिस्तार गरेसँगै चार जना स्टाफ नर्स र ल्याबमा एकजना एसिस्टेन्ट थपेको छ ।

कनकाईमा सबै आधारभूत अस्पतालमा एक जना सिनियर अनमी र एक जना सिनियर अहेव रहने गरेका छन् । यसैगरी स्वास्थ्य चौकीमा एक जना सि अनमी, एक जना सि अहेव र एक जना ल्याब असिस्टेन्ट रहने गरेका छन् । साथै नगर अस्पतालमा दुई जना विशेषज्ञ, तीन जना एमबीबीएस, दुई जना नर्स, चार जना स्टाफ नर्स सहित करीब ५० जना कर्मचारीहरु रहेका छन् ।

कनकाईमा स्वास्थ्य क्षेत्रमा पर्याप्त कर्मचारी नभएको शाखा प्रमुख अधिकारीको भनाई गुनासो छ । उनले कर्मचारी पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आर्थिक अभावले कर्मचारी पूरा गर्न नसकेको बताए ।

शाखा प्रमुख अधिकारीले टिबि र कुष्टरोग जनस्वास्थ्यको चुनौतीको विषय भएको बताएका छन् । राज्यले टिबि र कुष्टरोगको अन्त्य गर्ने लक्ष्य नै बनाएर लाग्दा पनि सकिरहेको अवस्था छैन । कनकाईमा पनि यसको प्रभाव निक्कै रहेको उनले बताएका छन् । केही कम भएको तर अझैं पनि यि रोगहरुको अवस्था भयावह नै रहेको उनले जिकिर गरे ।

कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अधिकारीले स्वास्थ्य क्षेत्रको बिकास गर्न बजेट वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । उनले हाल स्वास्थ्यमा छुटिएको बजेट पर्याप्त नभएको बताएका छन् । उनले बजेट वृद्धिसँगै प्रबिधिको पनि बिकास गरिनु पर्ने सुझाव व्यक्त गरेका छन् ।

……………..

कनकाई नगर अस्पताल विरामीको संख्या बढ्दो

दैनिक चार सयभन्द धेरै नागरिकहरु उपचारको लागि पुग्ने कनकाई नगर अस्पताल नागरिकहरुको गुणस्तरीय स्वास्थ्य उपचार गर्ने विश्वासिलो र भरपर्दो अस्पतालको रुपमा बिकास भइरहेको छ ।

यसअस्पतालमा नेपाल सरकारका प्राथमिक स्वास्थ्य संस्थाबाट हुने सम्पूर्ण सेवाहरु प्रदान गरिन्छ । साथै केही सेवाहरु थप पनि गरेको छ । कनकाईले प्राथमिक स्वास्थ्य संस्थाको सम्पूर्ण सेवालाई कायम नै राखी सेवाहरु बिस्तार गरिरहेको छ ।

यहाँ प्रसुती सेवा, ओपीडी सेवा, २४ घण्टे इमरजेन्सी सेवा, प्रयोगशाला, एक्स–रे, बीमाको फर्मेसी, निःशूल्कको फार्मेसी र इसीजी सेवाहरु पहिले नै थियो । नगर अस्पताल बने पछि भिडियो एक्स–रे, वार्ड सेवा र अक्सिजन प्लान्ट थपिएको नगर अस्पतालका प्रशासन प्रमुख डा. अभिशेक नायकले बताएका छन् ।

नेपाल सरकारले तयार गरेको निःशूल्क फार्मेसीमा ९६ प्रकारका औषधीहरु निःशूल्क प्राप्त गरिने हो । तर, कनकाईको नगर अस्पतालले नगरपालिकासँग बजेट मागेर अन्य केही औषधीहरु पनि निःशूल्क वितरण गर्ने गरेको डा. नायकले बताएका छन् ।

कनकाईको नगर अस्पतालमा अनमी, सि. अनमी र स्टाप नर्सबाट २४ सैं घण्टा प्रसुती सेवा रहेको छ । यस अस्पतालमा २४ सैं घण्टा पुर्जा काट्ने मिल्ने व्यवस्था रहेको छ । यसैगरी ल्याब भने १२ घण्टा सञ्चालन हुने डा. नायकले जानकारी दिएका छन् । उनले ल्याब सेवालाई चाँडै २४ घण्टे सेवा बनाउने तयारी रहेको जानकारी समेत दिएका छन् ।

पछिल्लो दुई महिना यता विशेषज्ञ डाक्टरबाट पनि सेवा दिइरहेको छ अस्पतालमा । लाइफलाइन दमकका एमडीजीपी डाक्टर सूर्य नारायण शाह यता विशेषज्ञ डाक्टरका रुपमा कनकाई नगर अस्पतालमा कार्यरत रहेको प्रशानिक प्रमुख डा. नायकले बताए ।

यस अस्पतालले पाँच वटा बेड मार्फत इमरजेन्सी सेवा प्रदान गरिरहेको छ । ति पाँचै वाटा बेडमा अक्सिजन पु¥याइएको छ । साथै यस वार्डमा इसीजी सेवा पनि पु¥याइएकाले बिरामीहरुलाई यता उता सारिरहनु पर्ने अवस्था छैन ।

यस अस्पतालमा वार्ड सेवा पनि सञ्चालनमा ल्याइएको छ । १५ शैयाको बेड मार्फत वार्ड सेवा सञ्चालनमा ल्याइएको छ । यस वार्डमा बिरामीहरुलाई राखेर २४ सैं घण्टा सेवा दिइने गरिन्छ ।

अस्पतालमा बीमा प्रभावकारी रुपमा प्रयोग भएको पाइन्छ । यहाँ कमल, शिवसताक्षी, अर्जुनधारा र इलामका पनि तल्लो भेगका नागरिकहरु उपचारका लागि आउने गरेको डा. नायकले बताएका छन् ।

यस अस्पतालमा रेबिजको खोप पनि उपलब्ध रहेको डा. नायकले जानकारी दिएका छन् । उनले रेबिजको खोप विराटनगरबाट ल्याउन पर्ने भएकाले यसको लागि तीन सय ढुवानी वापत लिने गरेको बताएका छन् ।

कनकाई नगर अस्पतालमा चाँडै अपरेसन थिएटर र डाइलोसिस सेवाको लक्ष्य रहेको डा. नायकले बताएका छन् । कनकाई नगर अस्पतालमा थप १५ शैयाको वार्ड सञ्चालन गर्नका निम्ति नयाँ भवन पनि सञ्चान भएइ रहेको छ । जुन भवको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला गरेको थिए । यो भवन करीब दुई महिनाभित्र तयार हुने डा. नायकले जानकारी दिएका छन् ।

स्वास्थ्य क्षेत्रको बिकासका निम्ति सामुदायिक अस्पतालहरुमा दरबन्दी वृद्धि गर्नुपर्ने डा. नायकले सुझाव दिएका छन् । उनले बजेट वृद्धि, दरबन्दी वृद्धि र प्रविधिमा बिकास भए स्वास्थ्य क्षेत्रमा धेरै चाँडो परिर्वतन आउने विश्वास व्यक्त गरे ।

यस अस्पतामा मेची आँखा अस्पतालको शाखा रहेको छ । यहाँ भित्रै आँखाको परीक्षण हुन्छ । यहाँ पोषण र खोपको सेवा पनि प्रभावकारी रुपमा सञ्चालनमा रहेको छ ।

प्रस्तुती : गगन ढकाल

प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]