बैशाख ८, २०८१ शनिबार

बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा

झापा । गौरादह नगरपालिका वडा नं. ३ मा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लोपटक चैत २८ गते बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् ।

पीडितकी माइजु सुनिता चौधरीले विगत पाँच महिनादेखि बालिकालाई मारिदिने डर धम्की देखाउँदै अभियुक्त भट्टराईले बलात्कार गर्दै आएको बताएकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले पछिल्लोपटक बलात्कार भए लगत्तै गौरादह इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

हाल फरार अभियुक्त भट्टराईको खोजतलास भइरहेको उनले बताएका छन् । फरार आरोपी पक्राउ पर्न नसक्दा पीडितको परिवारमा त्रास बढेको छ ।

गत पुसमा पनि अभियुक्त भट्टराईले बालिकालाई बलात्कार गरेको पीडित पक्षको भनाई छ । प्रहरीले पीडित बालिकाको स्वास्थ्य जाँच गरिसकेको छ । हाल बालिका आफ्नै घरमा रहेकी छन् । पीडित बालिकाको हात, खुट्टा र पेट सुन्निन थालेको जनाउँदै स्थानीय चिकित्सकबाट उपचार गराइरहेको चौधरीले बताए ।

‘नानी अहिले पनि विरामी अवस्थामै छिन्, हातखुट्टा सुन्निएको देखिन्छ’ बालिकाकी माइजु चौधरीले भनिन्, ‘घटना थाहा पाए लगत्तै प्रहरी कार्यालयमा उजुरी दिएका थियौं । अपराधी पक्राउ परेको छैन ।’

पीडितकी आमा खेतीपाती गर्नुहुन्छ भने बुवा मिस्त्री काम गरेर जीविकोपार्जन गर्दै आएका छन् । बालिकाको स्वास्थ्य अवस्था समेत चिन्ताजनक बन्दै गएको जनाउँदै परिवारका सदस्यहरु दोषीलाई तत्काल पक्राउ गरेर कानूनी कार्वाहीका लागि दवाव बढाउन संचार माध्यमको सम्पर्कमा आइपुगेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रिजालले पीडितले किटानी जाहेरी दिइसकेको र आरोपीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको हुँदा अभियुक्त छिटै पक्राउ पर्ने बताएका छन् । उनले फरार अभियुक्तको तीव्र रुपमा खोजी कार्य भइरहेको र प्रहरीले चाँडै पक्राउ गरी कानुन अनुसार कारवाही अघि बढाउने जानकारी दिए ।

फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु. तीन लाख रुपैयाँको प्रलोभन देखाउँदै घटनालाई मिलाउन दबाब दिने गरेको पीडितकी माइजु चौधरीले बताइन् । अभियुक्तकी आमाले दैनिकजसो पीडितको घरमा आएर घटना मिलाउन र प्रहरीमा दिएको उजुरी फिर्ता लिन धम्की दिने गरेको उनको भनाई छ ।

‘अपराध गर्ने व्यक्ति पक्राउ नपर्नु र पैसाको लोभ देखाएर उजुरी फिर्ता लिन दवाव दिइनुले हामी त्रासमा परेका छौं,’ पीडितकी माइजु चौधरीले भनिन् ‘बलात्कृत नानीको स्वास्थ्य अवस्था नाजुक छ । परिवारसँग उपचार गर्ने पैसा पनि छैन । छिटोभन्दा छिटो दोषी पक्रिनु पर्यो । कानूनी कार्वाही हुनुपर्यो । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।’

प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार  २ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]