बैशाख ७, २०८१ शुक्रबार

नागरिकको स्वास्थ्य सेवामा प्रतिवद्ध बुद्धशान्ति

बुद्धशान्ति गाउँपालिका झापाको उत्तरपूर्वी गाउँपालिका हो । भौगोलिक हिसाबले तराई र चुरे दुई भागमा पर्ने यो गाउँपालिका हावापानीको हिसाबमा झापाका अन्य पालिका भन्दा रमणीय छ । बुद्धशान्तिको शान्तिनगर क्षेत्रमा उत्पादित तरकारी जिल्लाका सब्जी बजारहरुदेखि लिएर भारतको पानीट्याङ्की, नक्सालबारी र सिलिगुडीसम्म चर्चित छ ।

यहाँको काउली, गोलभेडा र सागको बजारमा बेग्लै महत्व हुन्छ । पर्यटकीय क्षेत्रमा पनि विशाल सम्भावना बोकेको यस गाउँपालिकामा पूर्वकै चर्चित सुसाईड पोईन्ट र ठुटेबर रहेको छ । यसैगरी नेपालको पुरानो चिया बगान मध्येको बर्ने चियाबारी पनि यसै गाउँपालिमा रहेको छ । कृषि क्षेत्रको रुपमा परिचत बुद्धशान्ति गाउँपालिका नगर उन्मुख गाउँपालिका हो । निकट भविष्यमै नगर बन्ने सम्भावना बोकेको यस गाउँपालिकाले विकासका कामहरु पनि नगर कै मापदण्डमा गरिरहेको छ ।

विकासका विविध पाटामध्ये शिक्षा, स्वास्थ्य र भौतिक पूर्वधारलाई यस गाउँपालिकाले विषेश प्राथमिकतामा राखेर काम गरिरहेको छ । सबै क्षेत्रको विकासलाई दिगो विकासको पद्धतिमा काम गरिरहेको बुद्धशान्तिले पछिल्लो समय स्वास्थ्य क्षेत्रको विकासमा पनि उल्लेखनीय काम गरिरहेको पाइएको छ ।

 

सात वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा आठ ओटा सामुदायिक स्वास्थ्य चौकी रहेको छ । यसमध्ये छ वटा आधारभूत स्वास्थ्य केन्द्र, एउटा स्वास्थ्य चौकी र एउटा भागिरथा बुद्धशान्ति अस्पताल रहेको छ ।

बुद्धशान्तिले प्रिभेन्टीब र क्यूरेटीब दुबै पद्धतिबाट नागरिकहरुको स्वास्थ्यको सुरक्षा गरिरहेको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादवले बताएका छन् । प्रिभेन्टीब पद्धति भनेको सकेसम्म रोग लाग्न नदिने पद्धति हो भने क्यूरेटीब भनेको रोग लागि हालेमा औषधीको प्रयोग गरेर रोगलाई निको पार्ने पद्धति हो । शाखा प्रमुख यादवका अनुसार प्रिभेन्टीब पद्धति देख्दा साधारण लागे पनि यसलाई निक्कै प्रभावकारी पद्धति हो । उनी उदाहरण दिँदै भन्छन्, ‘प्रिभेन्टीब पद्धतिले खाना खानु अगाडि साबुन पानीले हात धुनु भन्छ । त्यसैगरी क्यूरेटिब पद्धतिले झाडापखाला लागेमा त्यसलाई निको पार्न जीवनजल खाउ भन्छ ।’ बुद्धशान्तिको सम्पूर्ण सामुदायिक असपतालहरुमा प्रिभेन्टीब र क्यूरेटीब दुबै पद्धतिको उपचार गरिने उनले बताए ।

बुद्धशान्ति गाउँपालिमा नेपाल सरकारबाट अनुदानमा आइरहेको कार्यक्रम र नीति निर्देशन अुरुपको विभिन्न कामहरु भइरहेको शाखा प्रमुख यादवले बताए । उनले गाउँपालिकामा हात्ती पाइले रोग विरुद्धका कार्यक्रम र पोलियो खोप सम्बन्धी कार्यक्रमहरु गरिरहेको छ । यसैगरी बुद्धशान्ति गाउँपालिकाले आफ्ना नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरु पनि दिने गरेको छ । बुद्धशान्तिले नाक, कान घाँटी सम्बन्धी जनचेता मूलक कार्यक्रम गर्ने गरेको छ । यसैगरी नसर्ने रोग सम्बन्धि विभिन्न अभिमुखीकरण लगायतका कार्यक्रम संचालन गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

बुद्धशान्तिले संघीय सरकारबाट प्राप्त हुने निशूल्क औंषधीका साथै आफ्ना नागरिकहरुलाई नगरपालिकाबाटै बजेट छुट्याएर पनि औंषधीहरु उपब्ध गराउने गरेको पाइएको छ । बुद्धशान्तिले यसरी औंषधी खरिद गर्न आन्तकि श्रोतबाट १५ लाख रुपैंया विनियोजन गरेको छ ।

बुद्धशान्तिले जनस्वास्थ्यको सुरक्षा गर्न सबै वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पु¥याएको छ । यसैगरी ल्याब सेवा सहितको एउटा स्वास्थ्य चौकी र ५ वेडको भागिरथा बुद्धशान्ति अस्पताल सञ्चालन गरेको छ । भागिरथा बुद्धशान्ति अस्पतालमा एमबिबिएस डाक्टरको सेवादेखि अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला समेत रहेको शाखा प्रमुख यादवले जानकारी दिए । भागिरथा बुद्धशान्ति अस्पतालमा भिडियो एक्स–रेको निम्ति दक्ष प्राविधिकको सेवा उपलब्ध रहेको उनले बताए ।

बुद्धशान्ति अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे, इसीजी र ल्याब लगायतका सेवाहरु उपलब्ध छन् । जसका कारणले बीमा नभएका आर्थिक रुपमा विपन्न नागरिकहरुले पनि यहाँ उपचार गर्न सक्नुहुन्छ, यहाँ एकदमै न्यून आर्थिक अवस्था भएका नागरिकहरुलाई अवस्था हेरि गाउँपालिकाको सिफारिसमा निशूल्क समेत उपचार गराउने गरिएको छ, स्वास्थ्य शाखा प्रमुख यादवले भने ।

बुद्धशान्ति अस्पताल गाउँपालिकाको केन्द्रमा रहेकोले सेवाग्राहीहरुले बिहानको ६ बजेदेखि साँझको ६ बजेसम्म सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख यादव बताए । बुद्धशान्तिले आफ्नो नागरिकहरूलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन भागिरथा बुद्धशान्ति अस्पतालमा २४ सैं घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

यसका साथै यस अस्पताललाई संघीय सरकार तथा प्रदेश सरकार सहयोगमा जनसंख्याको अनुपातमा आवश्यक जनशक्ति एवम् भेन्टिलेटर सहितको विशिष्टिकृत सेवार सबै प्रकारका स्वास्थ्य सुविधा उपलब्ध गराउने सुविधा सम्पन्न अस्पतालको रूपमा स्तरोन्नति गर्न आवश्यक रहेकाले यसको प्रकिया अघाडि बढाइ सकेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

बुद्धशान्तिले आफ्ना सम्पूर्ण सामुदायिक स्वास्थ्य संस्थाहरुबाट मासिक रुपमा रिर्पोट लिने गरेको छ । यसरी प्राप्त रिपोर्टले कुन क्षेत्रमा कुन रोगको प्रकोप बढि छ भन्ने थाहा हुने र त्यसको न्यूनीकरणका निम्ति कामहरु गर्न सकिने शाखा प्रमुख यादवले बताए । उनले यस रिपोर्ट नागरिकहरुको रोग निको पार्न र प्रकोपको न्यूनीकरण कम गर्न ज्याँदै उपयोगी हुने दाबी गरे । उनले यसै रिपोर्टको आधारमा बर्ने बगान क्षेत्रका धेरै नागरिकहरुलाई क्यान्सर र मुटु सम्बन्धी रोग धेरै लाग्ने गरेको पत्ता लागेको बताए । यसै रिपोर्टको आधारमा मुटु र क्यान्सर रोगगका रोगीहरुलाई नगरपालिकाले उपचारका निम्ति आर्थिक सहयोग पनि गर्ने नीति लिएको जानकारी दिए । यसका सथै यि क्षेत्रका मानिसलाई मुटु र क्यान्सर परीक्षण गर्न पनि गाउँ पालिकाले प्रति व्यक्ति रु पाँच हजार दिने गरेको उनले बताए ।

बुद्धशान्तिले हरेक नागरिकलाई निःशुल्करुपमा आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्य राखे छ । गाउँवासीको सुलभ र सहज पहुँचलाई उच्च प्राथमिकतामा राखी राष्ट्रिय अभियानको रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक बनाएको पाइएको छ । यहाँको हरेक वडाले आर्थिक रूपमा विपन्न दिर्घरोगी, विपन्न दलित एवम् विपन्न अल्पसंख्यक घर परिवारलाई बीमा गरिदिन वडाहरुले वजेट विनियोजन गरेको छ । यसै गरी यसका निम्ति पालिका स्तरीय महासमिति पनि गठन गरेको छ ।

नागरिकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखि सामुदायिक अस्पतालहरुमा आवश्यक जनशक्ति, प्रयोगशाला र अत्यावश्यक औषधीको व्यवस्था र कार्यरत जनशक्तिको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने गरेको पाइएको छ । यसरी कर्मचारीहरुलाई तालिमको व्यवस्थापन गरिदिदा उनीहरुमा उत्साह र काम प्रति लगनशीलता बढ्ने भएकाले यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

बुद्धशान्तिले आफ्नो गाउँपालिकाभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्था दर्ता सूचीकरण तथा नवीकरणको कार्यलाई अघि बढाउन र स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाई कानूनी दायरामा ल्याउन आवश्यक कानून निर्माणको कार्यलाई अगाडि बढाएको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिएका छन् । उनले यस कानूनले स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ले दाबी गरेका छन् ।

बुद्धशान्तिले आफ्ना नगरिकहरुको स्वास्थ्यप्रति विशेष चासो राख्दै गाउँपालिकाको मातहतमा रहेको शान्तिनगर स्वास्थ्य चौकीमा गाउँपालिकाको सहयोग र समन्वयमा प्रत्येक वर्ष कम्तीमा १ पटक विशेषज्ञ सेवा सहितको घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने पनि लक्ष्य राखेको छ ।

बुद्धशान्तिले आफ््नो नगरिकहरुको स्वास्थ्यमा विशेष चासो र उच्च सतर्कता अपनाइएको पाइएको छ । बुद्धशान्तिले आफ्नो लक्ष्यहरुको निर्धारण गरेर । आवधिक योजना सहित स्वास्थ्य क्षेत्रको विकासमा लागेकाले यहाँ निकट भविष्य मै स्वास्थ्य क्षेत्रको विकासमा उल्लेखनीय काम हुने अवस्था रहेको छ । नागरिकहरुलाई बिरामी हुनै नदिने गरि स्वास्थ्य क्षेत्रको काम गर्न बुद्धशान्ति लागि परेको छ ।

बुद्धशान्तिले स्वास्थ्य क्षेत्रको विकासका निम्ति वार्षिक २५ बजेट विनियोजन गरेको शाखा प्रमुख यादव बताउँछन् । उनले २५ लाख रुपैयाँ पर्याप्त नभएको तर योजनाबद्धशैलीले प्रयोग गरे यसै रकमबाट पनि धेरै काम हुने बताएका छन् ।

०७४ साल पूर्व जिल्लाबाटै स्वास्थ्य क्षेत्रको काम हुँदा यही २५ लाख बजेट पनि बुद्धशान्तिमा नपरेको उनले बताए । उनले ०७४ अघि र पछिको तुलना गर्ने हो भने धेरै काम स्थानीय तहमा भएको बताएका छन् । उनले पहिले बुधबारे र शान्तिनगरमा गरेर दुई वटा मात्र सामुदायिक स्वास्थ्य केन्द्रहरु रहेको ठाउँमा हाल आठ ओटा हुनु आफैंमा उल्लेखनीय उपलब्धी रहेको बताएका छन् ।

उनले बुद्धशान्तिमा चाँडै बर्थिङ् सेवा सञ्चालन गर्न सके बर्थिङ्का निम्ति धुलाबारी र बिर्तामोड धाउनबाट नागरिकहरु मुक्त हुने बताएका छन् । उनले बुद्धशान्ति गाउँपालिका वडा नं ४ बर्नेमा रहेको बर्थिङ सेन्टर सहितको आधारभूत स्वास्थ्य केन्द्रको भवनको निर्माण सम्पन्न भएको र चाँडै बर्थिङ सेवा सञ्चालन गरिने जानकारी समेत दिएका छन् ।

बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादवले स्वास्थ्य क्षेत्रको विकासका निम्ति हाल विनियोजित बजेट पर्याप्त नभएको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रको विकासका निम्ति सबैभन्दा पहिले पर्याप्त बजेट, आवश्यक जनशक्ति र अत्याधुनिक प्रविधिको आवश्यकता पर्ने बताएका छन् ।

बिहानको ६ बजेदेखि नै भगिरथा बुद्धशान्ति अस्पतालमा सेवाग्राहीहरुको घुँइचो लाग्ने गरेको अस्पतालका कर्मचारी राथा पौडेल बताउँछन् । उनी कहिलेकाहीँ बिहान ६ बजे देखि बेलुका ५ बजेसम्म नै सेवाग्राहीहरुको भीड रहने बताउँछन् ।

भगिरथा बुद्धशान्ति अस्पतालमा बुद्धशान्ति गाउँपालिकाको सबैभन्दा ठूलो सामुदायिक अस्पताल हो । यहाँ बीमा र बीमा बेगर दुवै तरिकाले स्वास्थ्य परिक्षण गर्न र डाक्टरहरुको सुझाव लिन सकिन्छ ।

बुद्धशान्ति गाउँपालिकाको प्रशासनिक भवनकै पछाडि रहेको यस अस्पतालमा इलामका रोङ गाउँपालिकाका र झापा मेचीनगर नगरपालिकाका पनि नागरिकहरु उपचारका निम्ति आउने गरेका अस्पतालको प्रशासन प्रमुख अमृत थापा बताउँछन् । उनले यस अस्पतालमा दैनिक रुपले औसत तीन सय ५० जना सेवाग्राहीहरु आउने गरेको बताएका छन् ।

हाल दर्ताकै क्रममा रहेको यस अस्पतालमा हाल ५ वटा बेड रहेकोे छ । यसैगरी १२ घण्टे इर्मेनेन्सी सेवा, एक्स–रे, भिडियो एक्स–रे, इसीजी र ल्याब लगायतका सेवाहरु उपलब्ध रहेका छन् । साथै बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ओपिडि सेवा पनि सञ्चालनमा रहेको छ । यस अस्पतालमा हप्ताको एक दिन आँखाको पनि परीक्षण हुने गरेको प्रशाखन प्रमुख थापाले बताए । उनले मेची नेत्रालयसँग पाँच वर्षको सम्झौता गरेर आँखा परीक्षणको सेवा प्रदान गरेका बताए ।

यस अस्पताललाई हाल १० बेडको भवनको निम्ति संघीय सरकारबाट बजेट प्राप्त भएको छ । प्रशासन प्रमुख थापाले उक्त भवनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । उनले अबको करिब दुई महिना भित्रै उक्त भवनको काम सम्पन्न हुने र नागरिकलाई थप सेवा दिने बताएका छन् ।

यस अस्पतालमा प्रिभेटिन्भ र क्विरेटिब दुवै पद्धतिको उचार हुन्छ । अस्पतालमा दुई जना एमबिबिएस डाक्टर सहितको सेवा रहेकाले नागरिकहरुले भपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरिरहेको थापाले जिकिर गरेका छन् । यस अस्पतालमा सेवाग्राहीहरुको राम्रो आकर्षण रहेको प्रमुख थापाले बताएका छन् । उनले हाल धेरैले बीमा गरको र बीमाको कारणले अस्पतालमा आकर्षण बढेको बताएका छन् । तर, उनले अस्पतालमा बिरामी बढ्नुलाई सकरात्मक लिन नमिल्ने बताएका छन् । उनी भन्छन्, ‘कुनै पनि अस्पतालमा बिरामी बढ्नु राम्रो होइन । हामीले कसरी बिरामी÷रोगी कम गर्ने भनेर योजना बनाउन जरुरी छ । अस्पतालमा बिरामीको घुँइचो हुनुले समाजमा रोगीहरुको संख्या धेरै छ भनेर देखाउँछ ।’, उनले यस अस्पतालले आफ्नो तर्फबाट समाजमा रोगीहरुको संख्या घटाउन विभिन्न प्रकारको जनचेतना मूलक कार्यक्रमहरु गर्ने गरेको बताएका छन् ।

भगिरथा बुद्धशान्ति अस्पतालको अब फिजियोथेपारी सेवा, डेन्टल सेवा, बर्थिङ सेवा र विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराउने लक्ष्य रहेको छ । यस अस्पतालको निर्माणधिन भवन सम्पन्न हुने बित्तिकै केही सेवाहरु सुरु हुने र थप सेवाहरुको निम्ति पहल कदमी गरिने प्रमुख थापाले बताएका छन् । निर्माणाधिन भवन असोज–कार्तिकसम्ममा सम्पन्न हुने उनले जानकारी दिए ।

भगिरथा बुद्धशान्ति अस्पतालले निर्धारण गरेको लक्ष्य कम्तिमा दुई वर्षभित्र सम्पन्न गर्ने योजना रहेको प्रमुख थापाले बताए । यस अस्पतालमा १० जना स्थायी, १५ जना करार र ५ जना स्वयम सेवक गरेर जम्मा ३० जना कर्मचारीहरु रहेका छन् ।

प्रमुख थापाले बुद्धशान्ति क्षेत्रमा छाला सम्बन्धी रोग, दीर्घ रोग (मधुमेह, ब्लड प्रेसर, थाइराइड), गाइनो, क्यानस लगायतको रोगको स्थिती भयाबह रहेको बताएका छन् । गाउँपालिकाले क्यानसरको रोगी विषेश गरी बर्ने बगान क्षेत्रमा देखिएकाले त्यहाँको खानेपानीको पनि अध्ययन गरिरहेको उनले बताएका छन् । उनले यि रोगहरुको कारणको समयमै उचित अध्ययन र निराकर नभए बुद्धशान्ति क्षेत्रमा निकट भविष्यमा निक्कै भयाबह अवस्था सिर्जना हुने अवस्था रहेको बताएका छन् ।

प्रस्तुति : गगन ढकाल

प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]