बैशाख १२, २०८१ बुधबार

भौतिक पूर्वाधारमा सम्पन्न हुँदै कनकाई

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात कनकाई नगरपालिका बन्द निषेधित क्षेत्रको रुपमा चिरपरिचित छ । बन्द हड्ताल नहुने पालिकाको रुपमा स्थापित कनकाई शान्ति क्षेत्रको रुपमा पनि चिनिन्छ । त्यति मात्र होइन, कनकाईमा विद्युत चुहावट पनि शून्य छ । यहाँ विद्युत चुवाहट नहुनुले यहाँका नागरिकहरु कति विकास प्रेमि छन् भन्ने उदाहरण दिन्छ । धार्मिक एवम् पर्यटकीय हिसाबले परिचित कनकाई जिल्लाका अन्य पालिकाभन्दा धेरै पृथक छ । पछिल्लो समय शैक्षिक गुणस्तरको मुद्दामा जिल्लामा अग्रणी रहेको कनकाई स्वास्थ्य क्षेत्रको विकासमा पनि संवेदनशील छ । नगर विकासका सबै प्रमुख सूचकहरुमा निकै गम्भीर भएर लागेको कनकाईले भौतिक पूर्वधारको क्षेत्रमा पनि उल्लेखनीय काम गरिरहेको प्राप्त तथ्याङकले बोलेको छ ।

कनकाई नगरपालिकाले आफ्नो कुल ८३ करोड बजेटको करिब ३० प्रतिशत बजेट भौतिक पूर्वधारमा छुट्याएको छ । कनकाईले भौतिक पूर्वधारमा प्राथमिकीकरण गरेर सडक निमार्ण, खानेपानी व्यवस्थापन, फोहोरमैला तथा ढल व्यवस्थापन, विद्युतीकरण विस्तार तथा मर्मत, नदी नियन्त्रण र मेयर आवास कार्यक्रम मार्फत आर्थिक रुपमा विपन्न नागरिकहरुको आवास निर्माण लगायतको कामहरु गरिरहेको छ ।

हाल कनकाई नगरपालिकाले भौतिक पूर्वधार तर्फ विशेष गरी सडकमा लगानी गरिरहेको छ । कनकाईले यसै आर्थिक वर्षको अन्त्यसम्ममा सम्पूर्ण सडक हिलो रहित बनाउने लक्ष्य लिएको छ । कनकाईले यो लक्ष्य लगभग पूरा गरि सकेको कनकाई नगरपालिकाका इन्जिनियर कुशल हुमागाईंले जानकारी दिए । यसका साथै कनकाईले यो कार्यपालिकाको कार्य अवधी भरीमा कनकाईलाई धुलो रहित बनाउने पाँच वर्षीय योजना पनि बनाएको इन्जिनियर हुमागाईंले बताए । उनले हाल नगरपालिकाले स्थानीय नागरिकहरुलाई पनि लागत सहभागितामा जोडेर सडक कालोपत्रे र ग्राभेल गर्ने काम भइरहेको बताए ।

कनकाईले सडकको विकासमा लक्ष्य मात्र निर्धारण गरेको छैन । काम पनि उत्तिकै गरेको पाइएको छ । कनकाईले यस आर्थिक वर्षमा सडक निर्माण तथा स्तरोन्नतिका निम्ति आफ्नो आन्तरिक श्रोतबाट एक करोड ७५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । कनकाईले प्रत्येक वर्ष कम्तिमा १३ किलोमिटर सडक कालोपत्रे गर्ने उद्देश्य राखेको छ । कनकाईले अघिल्लो कार्यपालिकाको कार्यावधिमा ५७ किलोमिटर सडक कालोपत्रे गरि सकेको छ । यसका साथै सडकलाई व्यवस्थित गर्ने क्रममा ३० वटा कल्बर्ट पनि निर्माण गरेको पाइएको छ ।

कनकाईले सडक निर्माण गर्दा दीगो विकासको अवधारणालाई केन्द्रमा राखी काम गरेको पाइएको छ । नगर भित्रका सडक कालोपत्रे गर्दा घना वस्ती र बजार क्षेत्रमा आवश्यकता अनुसार प्राप्त प्राविधिक प्रतिवेदनका आधारमा नाला निर्माण गर्ने, सम्बन्धित सडकको राइट अफ वे, सडकको नाम र विवरण जानकारी गराउन होर्डिङ बोर्ड सम्बन्धित सडकहरुमा राख्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको पाइएको छ ।

कुनै–कुनै सडक चाहिँ स्थानीय नागरिकहरुले कालोपत्रेको व्यापक माग हुँदा ड्रेन बिनै पनि कालोपत्रे गरेको इन्जिनियर हुमागाईंले बताए । साथै कनकाईले १० लाख माथिका ग्राभेल, पेभर्स र कालोपत्रे निर्माणमा समेत ल्याव टेस्ट अनिवार्य रुपमा गर्ने गरेको छ ।

इन्जिनियर हुमागाईंले समपूरक कोष अन्तर्गत सञ्चालन हुने नगर भित्रका सडकहरूलाई फराकिलो एवं व्यवस्थित सडकको रूपमा विस्तार गर्न नगरको सडक क्षेत्राधिकार भित्र सडक कालोपत्रे गर्दा नगरपालिका र उपभोक्ता समिति बीचको लागत साझेदारी गर्ने गरेको बताए । उनले सघन सहरी क्षेत्रमा ७०–३०, मध्यम सहरी क्षेत्रमा ८०–२० र ग्रामीण क्षेत्रहरूमा ८५–१५ को साझेदारी गर्ने नीति अवलम्बन गर्ने गरेको जानकारी दिए ।

कनकाईमा बिरिङ, कनकाई माई र सुरुङ्गा जस्ता थुप्रै नदीहरु रहेकाले वर्षेनी यहाँ नदी कटानको समस्या हुने गरेको पाइएको छ । यहाँको नदी कटानका कारण वर्षेनी नागरिकहरुले लगाएको बाली भित्र्याउन नपाएको अवस्था रहँदै आएको छ । नागरिकहरुको यस समस्यालाई मध्यनजर गर्दै कनकाई नगरपालिकाले नदी नियन्त्रणका निम्ति नदी तटबन्धनको कामलाई पनि आफ्नो प्राथमिकतामा राखेको पाइएको छ । कनकाईले यसका निम्ति एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । इन्जिनियर हुमागाईंले नदी नियन्त्रणको कार्य हाल बिरिङ र कनकाई माई नदीलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाए ।

कनकाईमा अर्को ठूलो समस्याको रुपमा रहेको शुद्ध र स्वस्च्छ खानेपानीको अभाव हो । पछिल्लो समय यस नगरपालिकाले खानेपानीको क्षेत्रमा निक्कै प्रसंशनीय कामहरु गरिरहेको पाइएको छ । कनकाईमा हाल आठ वटा खानेपानी परियोजनाहरु सञ्चालित छन् । कनकाई नगरपालिकाको तथ्यांक अनुसार हाल करिब ७० प्रतिशत नागरिकको पहँुचमा खानेपानी पुगिसकेको छ ।

यसैगरी अबको दुई वर्षभित्र सत प्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पु¥याउने कनकाईको लक्ष्य छ । कनकाई नगरपालिकाको योजना विकास शाखा प्रमुख जमुना कट्वालले खानेपानीसँग सम्बद्ध संघ–संस्थाहरुको सहयोग तथा साझेदारीमा शुद्ध खानेपानी वितरण तथा विस्तारको कार्य निरन्तर गरिरहेको बताइन् । उनले यसका निम्ति आवश्यक श्रोतको लागि संघ तथा प्रदेश सरकार समक्ष श्रोत उपलब्धताको लागि अनुरोध समेत गरेको जानकारी दिइन् ।
कनकाईले नगर विकासको अर्को महत्वपूर्ण पर्यायमा फोहोर व्यवस्थापनलाई राखेको छ । कनकाईले खानेपानी, सरसफाई तथा ढल व्यवस्थापनका निम्ति आन्तरिक श्रोतबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कनकाई नगरभित्र बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र विश्व बैंकको लगानीमा रहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी सञ्चालनमा आइसकेको छ ।

नकाईले यस कम्पनी मार्फत आफ्नो नगरको सम्पूर्ण फोहोरमैलाको व्यवस्थापन गर्न सुरु गरिसकेको छ । जिल्लामै नमुनाको रुपमा रहेको यस कम्पनीले कनकाईका साथै बिर्तामोड र अर्जुनधाराको पनि फोहोरको समस्यालाई समाधान गर्नेछ ।

कनकाई नगरपालिकाले खानेपानी तथा सरसफाई तर्फबाट नगर विकासमा धेरै उपलब्धिहरु हाँसिल गरिसकेको छ । कनकाईले फोहोरबाट बायोग्यास निकालेर वितरणको प्रकृया अगाडि बढाएको छ । साथै उक्त फोहोरबाट प्राङगारिक मल उत्पादन गर्ने पक्रिया सुरु भएसँगै उत्पादन कम्पनीसँग सम्झौता गरी प्रकृयागत रूपमा वितरणको थालनी गर्ने तयारी गरेको छ । यसैगरी सरसफाई सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिदै प्लाष्टिकको झोला प्रयोगमा क्रमशः न्यूनीकरण गरी ४० माइक्रोन भन्दा पातला प्लाष्टिक प्रयोगलाई पूर्ण निषेधित गर्ने नेपाल सरकारको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको छ ।

कनकाईले आफ्नो नगर गौरवको कार्यक्रमको रुपमा कनकाई बहुउद्देश्यीय भवन निमार्णको निम्ति एक करोड विनियोजन गरेको छ । यसका साथै नगर गौरवको अर्को योजनाको रुपमा सुरुङ्गा वरपरका क्षेत्रहरुलाई जोडेर एउटा रिङ रोडको परिकल्पना गरेको छ । यस रोडले कनकाईको वडाहरु ३ र ४ लाई परिक्रमा गर्नेछ । यस रोडले सुरुङ्गाको परिक्रमा गर्छ । यसै वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको यस रोड बजेट अभावले सम्पन्न गर्न नसकेको इन्जिनियर हुमागाईं बताउँछन् । उनले यस सडका साथै पञ्चायत मार्गको कालोपत्रे पनि सम्पन्न गर्ने बजेट संघीय सरकारसँग माग गरेको जानकारी दिए । यि नगर गौरवका कार्यक्रमलाई आउँदो ०८०-०८१ को आर्थिक वर्षमा सम्पन्न गरिने योजना रहेको बताए ।

कनकाईले नगर क्षेत्रभित्र आवश्यकता अनुसार बहुउद्देश्यीय तथा सामुदायिक भवनहरूको निर्माण तथा नगरका गौरवका पूर्वाधार आयोजनाहरु सम्पन्न गर्न आवश्यक पर्ने रकम संघ र प्रदेशका सरकारहरुलाई माग गरि चाँडै सम्पन्न गर्ने योजना बनाएको छ । यसका साथै थप आयोजनाहरुको पनि योजना निमार्ण गरी पेश गर्ने े इन्जिनियर हुमागाईंले जिकिर गरे । कनकाईले ‘हाम्रो विकास हाम्रो हात, सबै जुटौं हामी एकैसाथ’ भन्ने नाराका साथ कनकाई नगरपालिकाको पूर्वाधारहरूको निर्माण पूर्वाधार विकास योजना बनाएको छ । कनकाई सकेसम्म नागरिकहरुलाई पनि लागत सहभागितामा समावेश गराएर सबैलाई उत्तरदायी बनाउने योजनामा छ ।

पूर्वाधार विकासमा सरकारी, गैह्र सरकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरूसँग साझेदारी गर्ने नीतिलाई निरन्तरता दिदै नमुना नगरको रुपमा कनकाईलाई विकास गर्ने योजना रहेको विकास शाखा प्रमुख जमुना कटवाल बताउँछिन् ।

कनकाईले १० लाख भन्दा माथिका योजनाहरू कार्यान्वयन गर्दा आवश्यकता र औचित्यका आधारमा इ–टेन्डर प्रकृयाका माध्यमबाट गर्ने गरेको छ । साथै उपभोक्तासँग लागत सहभागितामा न्यूनतम ५% नगद वा श्रम बापत सहभागिता जनाउने नीति लिएको छ । साथै स्थानीय श्रोत तथा साधनको अधिकतम प्रयोगलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने गरेको पाइएको छ ।

कनकाईले नगरभित्रका हाट बजारहरूलाई वातावरण मैत्री हुने गरी ग्रीन सिटीको रूपमा विकास गर्न विभिन्न संघ संस्थाहरूसँग हातेमालो गर्ने योजना बनाएको छ । हाट बजारमा अत्याधिक भीड र धुलो हुने भएकाले ग्रीन सिटीको अवधारणा लिएको योजना विकास शाखा प्रमुख कटवालको भनाई छ ।

कनकाईले नगर स्तरीय पूर्वाधार योजनाको हकमा पाँच लाख र वडा स्तरीय योजनाको हकमा दुई लाख भन्दा कम लागतको योजनाहरु छनौट नगरिने नीतिलाई अख्तियार गरेको छ ।

कनकाईले मापदण्ड विपरीत नगरपालिकाबाट नक्सा पास नगराई नियम विपरित बनाईएका भवन÷संरचनाहरु सडक र ढल निर्माण तथा विस्तार गर्दा संरचना वा भवनको क्षति हुन गएमा सम्बन्धित धनी नैं जिम्मेवार हुने नीति लिएको छ । कनकाईले राष्ट्रिय भवन आचारसंहितालाई नगर कार्यपालिकाबाट स्वीकृत गरी पुर्ण रुपमा कार्यन्वयमा ल्याएर संम्भावित क्षतिलाई न्यूनीकरण गरेको पाइएको छ । कनकाईमा अनिवार्य रूपमा नक्सा पास गरी नालासहितको घर बनाउनु पर्ने व्यवस्था क्रमशः कार्यान्वयन गर्दै लगिने बताइएको छ ।

सडक तथा संरचना सम्बन्धी पूर्वाधार मर्मत सम्भार गर्न वडालाई तोकिएको कूल बजेट रकम मध्येबाट बढीमा १० लाख बजेट विनियोजन गर्ने गरेको छ । साथै अन्तर पालिका एवं अन्तर जिल्ला जोड्ने रणनीतिक सडकहरूलाई प्राथमिकतामा राखी संघ, प्रदेश एवं अन्य निकायको सहकार्य एवम समन्वय गर्ने योजना रहेको योजना विकास शाखा प्रमुख जमुना कटवाल बताउँछिन् ।

कनकाईले आवश्यकता अनुसार प्रत्येक वडामा खुला व्यायामशाला निर्माण गर्ने उद्देश्य राखेको छ । नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरेर कनकाईले यो उद्देश्य राखेको हो ।
कनकाईले प्रत्येक वडामा कम्तीमा १० लाख बराबरको वडा गौरवको आयोजना वडाहरुमार्फत संचालन गर्ने नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । यद्यपि यो काम भने सुरु नभएको पाइएको छ । आगामी आर्थिक वर्षबाट यो नीति लागु गर्ने योजना रहेको शाखा प्रमुख कटवालको भनाई छ ।

शाखा प्रमुख कटवालले कनकाईले ३० लाख भन्दामाथिका योजनामा तेस्रो पक्ष मुल्यांकन गरिने नीति अवलम्बन गर्ने गरेको जानकारी दिइन् । उनले आर्थिक आत्मनिर्भरताका लागि यस नगरमा अन्तरर्राष्ट्रिय स्तरको स्मार्ट सिटी, खेल परियोजना, फोहोरमैला व्यवस्थापन, पर्यटन प्रवद्र्धन, बसपार्क जस्ता पूर्वाधार परियोजनाहरू नीजि क्षेत्रको सहभागितामा अगाडी बढाउने लक्ष्य राखेको जानकारी दिइन् । साथै उक्त परियोजनाहरू वातावरणीय अध्ययन, लगानी लगायतका कार्य सम्पन्न गर्न नेपाल इन्फ्रास्टक्चर बैंक, नगर विकास कोष र दातृ निकाय जस्ता संस्थाहरूसँग सहकार्य गरी कार्य अगाडी बढाइएको बताइन् ।

विपन्नको सारथी कनकाई
कनकाई नगरपालिका विपन्नहरुको सारथीको रुपमा परिचित छ । यस नगरले हालसम्म ३०० भन्दा बढि आर्थिक रुपले विपन्न परिवारहरुको आवास निर्माण गरिदिएको छ ।

कनकाईले मेयर आवास कार्यक्रम मार्फत आर्थिक रुपमा विपन्न ३०० भन्दा बढि घरको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । यसका निम्ति यसै आ.वमा पनि नगरपालिकाले चार करोड विजियोजन गरेको छ । कनकाईले नगर निमुखाहरुको पनि हो भन्ने कुरालाई आत्मासाथ गरेको पाइएको छ ।

कनकाईलाई व्यवस्थित सहरको रूपमा विकास गर्न भवन निर्माण आचारसंहिता तथा वस्ती विकास सम्बन्धी आधारभूत मापदण्डलाई थप व्यवस्थित गर्दै लगिने योजना विकास शाखा प्रमुख जमुना कटवाल बताउँछिन् । उनले संविधानले निर्दिष्ट गरे अनुसार आर्थिक स्तर कमजोर भएका विपन्न नागरिकहरुको आवास प्राप्त गर्ने हक प्रत्याभूत गर्न मेयर आवास कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् । उनी भन्छिन्, ‘लागत सहभागीतामा आगामी ५ वर्षभित्रमा विपन्न नागरिकहरुको आवास निर्माण तथा मर्मत गर्ने कार्यलाई सम्पन्न गर्ने नीति लिएका छौं ।’

कनकाईले आफ्नो नगरको सम्पूर्ण योजनाहरुलाई क्रमागत रुपले निरन्तरता दिई कार्य सम्पन्न गर्ने गरेको छ । कनकाईले आफ्नो नगरको समानुपातिक ढंगले क्रमागत र गुणस्तरीय पूर्वाधार विकासका कार्यक्रमहरु निर्धारित समय र मापदण्डका साथ सम्पन्न गर्ने गरेको पाइएको छ । कनकाईले सडक निर्माणलाई मुख्य प्राथमिकता दिएकाले नगर क्षेत्रभित्र रहेका सडकस्तर उन्नतिलाई प्राथमिकतामा राखी कार्य सम्पन्न गर्ने गरेको इन्जिनियर हुमागाईंले बताए । साथै राष्ट्रिय शहरी नीति बमोजिम वडाका विभिन्न बाटाहरूमा तुरुन्त ढल बनाउन नसकिने स्थानहरुमा प्वालहरू निर्माण गर्ने गरेको जानकारी दिए ।

कनकाईभित्र नेपाल सरकारबाट प्राप्त जग्गामा एकीकृत कृषि बजार सञ्चालनका लागि वडा नं. ३ को सुरुङ्गा बजार उत्तर तर्फ टहराहरुको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । यस बजारले यहाँका किसानहरुको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने योजना शाखा प्रमुख कटवालले जानकारी दिइन् ।

कनकाईका सबै वडा कार्यालयहरुको भवन निर्माण कार्य निरन्तर रुपमा भईरहेको छ भने सामुदायिक स्वास्थ्य केन्द्रहरु भने आफ्नै भवनबाट सेवा संचालन भइरहेका छन् । कनकाईको ९ वटै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रहरु संचालनमा रहेका छन् । यसले नागरिकहरुको स्वास्थ्यप्रति सजक रहेको पुष्टि गरेको छ । निर्माण हुन बाँकी रहेका वडा कार्यालयका भवनहरु जेष्ठ नागरिक, अपाङ्ग तथा बालमैत्री हुने गरी निर्माण गरिने इन्जिनियर हुमागाईले जानकारी दिए ।

कनकाईले उज्यालो नगरीको घोषणालाई मूर्तरूप दिन विद्युत् प्राधिकरणको साझेदारीमा स्मार्ट विद्युत् जडान सम्पन्न गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । साथै मासलाईटको रूपमा कोटीहोम तथा सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुर बजार क्षेत्रहरुमा जडान गरिएको र नगरका विभिन्न स्थानमा आवश्यक ठाँउहरुमा २ हजार थान स्मार्ट लाईट जडानको कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरिएको छ ।
प्रस्तुति : गगन ढकाल

प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]