बैशाख २५, २०८१ मंगलबार

पूर्वाधार विकासले शिवसताक्षीबासी उत्साहित

झापाको शिवसताक्षी नगरपालिकाले स्थानीय तहको दोस्रो कार्यकालमा भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक काम गरेको छ । अर्थात, विकासको प्राथमिकतमा पूर्वाधारलाई राखेको पाइन्छ । स्वास्थ्य ,शिक्षा, कृषि पर्यटन, यातायात , व्यायमशाला ,ग्रामथान, मठ मन्दिर ,सडक कालोपत्रे,वाटो ग्राभेल, साना तिना वाटो मर्मत सम्भारको योजनाको कामलाई प्राथमिकता दिएको नगरपालिकाले चालु आर्थिक वर्षमा वडाको बजेटमा परेका भौतिक पूर्वधारमा अधिकांस योजनाहरु फरफारक भइसकेको जनाएको छ ।

ठूलो योजनाहरुको पनि निर्माण प्रगति राम्रो भइरहेको प्राविधिकहरु बताउछन् । मानिसको आवश्यकता गाँस, वास, कपाससँगै शिक्षा, स्वास्थ्य ,खानेपानी आदि हुन् । त्यसमा पनि यी सवै विषयको सेवा उपभोग गर्न सडक , यातायात बाटो महत्वपूर्ण हुने गर्छ । शिवसताक्षी नगर पालिकाका धेरै वडा कार्यालयहरुले भौतिक पूर्वाधार भित्र पर्ने सडक ग्राभेल ,फलामे पुल जस्ता योजना दिएर समयमै सम्पन्न गरी अधिकांसले फरफारक गरी सकेको प्राविधिक शाखाले जानकारी दिएको छ ।

शिवगञ्ज नगर अस्पताल शिवगञ्ज ६, दुध चिसान केन्द्र तथा सब्जी संकलन केन्द्र शिवसताक्षी ५ र ११,जनआर्दश मावि शिवगञ्ज वडा नं.६ को नमुना विधालय भवन निर्माण, शिवगञ्ज कृषि बजारको दुध संकलन तथा मासु विक्री केन्द्र, पाँचगाछी स्वास्थ्य चौकी शिवसताक्षी ४ को पक्की भवन निर्माण, झिलझिले आधुनिक बसपार्क, दोमुखा स्वीमिङ पुल, क्याफे र रेष्टुरेन्ट जस्ता ठूला योजनाको निर्माण अन्तिम चरणमा पुगेको नगर पालिकाको प्राविधिक शाखाका इन्जिनियर कृष्ण राईले जानकारी दिए । यी ठूला योजनाहरु कोशी प्रदेश सरकार र संघीय सरकारको सशर्त अनुदान, समपुरक अनुदान र नगर पालिकाको आन्तरिक कर संकलनबाट निर्माणधिन रहेको छ ।

गर्मी मौसममा मात्र नभएर कुनै पनि समयमा हुन सक्ने आगलागी नियन्त्रणका लागि शिवसताक्षीले एक दमकल खरिद गरेको छ । यसको लागत ५५ लाख ३४ हजार रहेको प्राविधिक शाखाले जनाएको छ । नगर प्रमुख रोशन थोप्रा (मेगाहाङ) ले निर्वाचनमा मत माग्दै गर्दा दमकल ल्याउछु भनेर गरेको प्रतिवद्धता पुरा भएको इन्जीनियर राईले बताए ।

शिवसताक्षी ९ नं. वडा कार्यालयको पक्की भवन निर्माण अवधि एक महिना बाँकी रहँदा नै अढाई तले पक्की भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको प्राविधिक शाखाले जनाएको छ । १ करोड २७ लाख ७३ हजार ३८ रुपैयाँको लागतमा शिवभक्त निर्माण सेवा शिवसताक्षीले २०८० असार मसान्तमा भवन निर्माण सम्पन्न गर्नु पर्ने भए पनि हाम्रोले काम सकेर जेठ १० गते हस्तान्तरण गरेको शिवभक्तका सञ्चालक देवेन्द्र खरेलले बताए ।

कोशी प्रदेश सरकारको लगानीमा झिलझिलेको पूर्व बस स्टेण्ड उत्तरमा एक तले आधुनिक बस पार्क त्यससँगै आधुनिक पक्की टहराहरु निर्माण भइरहेको छ । नगरको लागि अन्य महत्वको योजनामध्ये झिलझिले आधुनिक पार्क पनि एउटा हो । झिलझिले बजारको पूर्वमा रहेको पूर्व पश्चिम राजमार्गको छेउको साघुरो ठाउँमा बसपार्क सञ्चालनमा रहेको छ । आधुनिक बसपार्क बनेपछि सहज रुपमा यात्रु वाहक ,मालवाहक सवारी साधान आवाज जावात गर्न सजिलो हुने स्थानीय उपभोक्ताहरुको भनाइ रहेको छ । ओम निर्माण सेवा दमक निर्माण कम्पनीले ८० प्रतिशत निर्माणको काम सकेको बुझिएको छ । १ करोड ११ लाख २९ हजार ३ सय ८३ रुपैयाँको लगानीमा आउदो असार मसान्तसम्म सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

शिवसताक्षी ४ को रंगेथान जोड्ने सडक ४ सय ५० मिटर लम्वाईसम्म सडक कालोपत्रे भइसकेको छ । पर्यटकीय क्षेत्र दोमुखा जोड्ने दोमुखा माईधारको चक्रपथ सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । पाँचगाछी स्वास्थ्य चौकी, शिवगञ्ज शिवसताक्षी ४ मा एक तले पक्की भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न गरेको छ । स्वास्थ्य चौकीको भवन निर्माणको योजना संघीय सरकारको सशर्त अनुदान अन्र्तगत रहेको इन्जिनियर राईले बताए । ६३ लाख विनियोजित बजेट मध्ये ५५ लाख ७३ हजार ६ सय ७७ रुपैयाँमा ठेक्का लागेको नगर पालिकाको प्राविधिक शाखाले जनाएको छ ।

दोमुखा स्वीमिङ पुल

सम्भवत : मुलुक भरकै पालिकामध्ये शिवसताक्षीले आन्तरिक र वाह्य पर्यटकको आवश्यकतालाई ध्यानमा राखेर सोही स्थानमा दोमुखा स्वीमीङ पुल,क्याफे र रेष्टुरेन्ट निर्माणमा लगानी गरेको छ । निर्माण सकिएपछि छिटै सञ्चालनमा ल्याउने नगरपालिकाको योजना रहेको छ ।

शिवसताक्षी ६ मा एक विगाहा क्षेत्रफलमा १५ शैयाको शिवगञ्ज नगर अस्पताल निर्माणधिन अवस्थामा रहेको छ । सोही क्षेत्रफलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रवाट स्वास्थ्य बीमावाट औषधी लिएर फर्किदै गरेको बताउने ६ नम्वर वडाका वासिन्दा ७० वर्षीय जर्नादन पौडेलले भने – यो ठूलो एरिया भएकोले ठूलो अस्पताल, डाक्टरको आवश्यक छ । साधारण उपचारको लागि पनि अहिले दमक, विर्तामोड लगायतका बाहिर जानुपर्ने बाध्यता छ । यसलाई बुझेर चाँडो अस्पताल निर्माण सम्पन्न गरी सेवा दिन ७० वर्षीय पौडेलले माग गरे । शिवसताक्षी ६ मा रहेको नगर अस्पताल निर्माण चाडो सम्पन्न भए चिकित्सक सहितको सेवा दिन पाए हुन्थ्यो भन्छन् – प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जका जनस्वास्थ्य निरीक्षक तथा निर्मित्त कार्यालय प्रमुख शिवलाल सिंह राजवंशी । यहाँ दैनिक सरदरमा १ सय ५० देखि २ सय विरामी सेवा लिन आउने गरेको जनस्वास्थ्य निरीक्षक राजवंशीको भनाई छ । सेवाग्राहीको चापलाई बुझेर नगर पालिका लगायतका सरोकारवाला पक्षले जतिसक्दो जाडो चिकित्सक सहित टोलीले सेवा दिने वातावरणका लागि पहल गर्न राजवंशीको सुझाव छ ।

शिवसताक्षी ५ र ११ मा बन्दै गरेको दुग्ध चिसान केन्द्र तथा सब्जी संकलन केन्द्रको एक तले पक्की भवन ५० लाख ८४ हजार ३ सय ३ रुपैयाँ कोशी प्रदेश सरकार र नगर पालिकाको लगानी रहेको नगरपालिकाको प्राविधिक शाखाका सव इन्जिनियर पेरिस घिमिरेले जानकारी दिए । दुग्ध चिसान केन्द्र आउदो असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने प्राविधिक शाखाले जनाएको छ ।

दुग्ध चिसान तथा सब्जी संकलन केन्द्र सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा उत्पादन भएको मौसमी र बेमौसमी तरकारी, कृषि उपजले बजार पाउने शिवसताक्षी नगर मात्र नभएर आसपासका किसान, उपभोक्ता लाभान्वित हुने नगर कार्यपालिका सदस्य यशोद्धा विमलीले बुझाइ छ । नगरपालिकाले धेरै साना टुक्रे योजना सम्पन्न गरे पनि शिवगञ्ज वजार स्थित ६ नं. वडामा रहेको जनआर्दश मावि नमुना विधालय निर्माणको लागि १ करोड १ लाख रकम विनियोजन भएको योजना असार १५ गते सम्म सक्नु पर्ने सम्झौता रहेको जनाएको छ । अहिलेसम्म कामको प्रगति ५० प्रतिशत रहेको प्राविधिक शाखाले जनाएको छ । स्थानीय क्षेत्रको कृषि उत्पादन, बिकासलाई ध्यानमा राखेर शिवसताक्षी नगर पालिकाले संघीय सरकारसँग पहल गरी १ करोड ६० लाखको लागतमा शिवगञ्ज कृषि बजारमा मासु संकलन तथा बिक्री केन्द्र निर्माणाधिन अवस्थामा रहेको छ ।

मासु संकलन केन्द्रको टहरा निर्माण, बाटोमा पार्किङ गर्ने, पक्की ढल निर्माण, चमेना गृह र शौचालय निर्माण भइरहेको निर्माण पक्षले जनाएको छ । कृषिसँगै स्थानीय सरकारले शिक्षामा शैक्षिक गुणस्तर वृद्धिको लागि भौतिक पूर्वाधारमा ध्यान दिएको छ । शैक्षिक मापदण्डमा रहेर मेयर स्मार्ट विधालय परियोजना सञ्चालन गरेको छ । शिवसताक्षी १० को बाल निकुञ्ज मावि, वाल सेवा आधारभूत विधालय शिवसताक्षी ७ र सूर्योद्धय आधारभूत विधालय शिवसताक्षी ५ छनौट गरी परियोजना सञ्चालन गरेको छ ।

विधालय प्रति जो कोहीलाई आर्कषण गर्न विधालयको रङरोगन ,फल्स सिलिङ, कार्पेट लगाउने फाइवरको डेक्स बेन्च हाल्ने, स्मार्ट टिभी राख्ने र बिधालयमा सिसी क्यामेरा राख्ने र फुलवारी बनाउने कामको निर्माण कम्पनीसँग सम्झौता प्रक्रियामा रहेको छ । नगर क्षेत्रभित्रका ५ वटा विधालयमा ४ कोठे पक्की भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौटमा परेर निर्माण सम्पन्न हुने क्रममा रहेको प्राविधिक शाखा सव– इन्जिनियर घिमिरेले जानकारी दिए ।

३ विधालयमा २ कोठे पक्की भवन निर्माणको क्रममा पनि अन्तिम चरणमा पुगेको छ । शहर भित्रको कालोपत्रे सडक हिफाजातको लागि नगर पालिकाले सडक बोर्ड नेपालसँग पहल गरी धरमपुर देखि पारावारीसम्म ६ किलोमिटर सडक मर्मत सम्भार गरेको छ । सडक वोर्डको ४२ लाख र शिवसताक्षी नगर पालिकाको २२ लाख गरी ६४ लाखको लगानीमा धरमपुर पारावारी सडक मर्मत सम्भार गरेको प्राविधिक शाखाको अभिलेखमा उल्लेख छ ।

खेलको धेरै विधामध्येको एक ब्याटमिन्टन खेलका लागि शिवसताक्षी ६ र ५ सिमानामा दुई कोर्ट सहितको शिवगञ्ज कभर्ड हल निर्माण शुरु भई जग उठाउने काम सकिएको शिवसताक्षी ६ का वडाअध्यक्ष मनोज खुलालले बताए । हाम्रो नगर उज्यालो शहर नारा सहित नगरका मुख्य सडकमा सडक वत्ती जडानको लागि सम्झौता गरी सामग्री संकलनको प्रक्रियामा रहेको बुझिएको छ । साना मसिना योजना ल्याएर उपभोक्ता मार्फत हाम्रो गाउँ, ठाउँको बाटो ग्राभेल, विग्रिएको बाटो बनाउने काम भएको शिवसताक्षी ४ का बासिन्दा राम ताजपुरियाले बताए । यसबाट घरमा कोही विरामी परे भने सिटी घरमा ल्याएर विरामी शिवगञ्ज स्वास्थ्य चौकी लैजान सजिलो भएको उनले बताए ।

शिवसताक्षी ४ नं.वडा कार्यालयले वडा भित्रको पाथिभरा स्कूल देखि कुइदुङका मन्दिर हुँदै बुलु चोक जाने २० फुट चौडाई र ढेड किलोमिटर लम्वाईको वाटो १० लाख रकम लगानी गरेर उच्च स्तरीय ग्राभेल सम्पन्न गरेको वडा सचिव कमला कुमारी भेटवालले बताइन् । वडा नं.४ मा ३२ वटा सडक ग्राभेल, केही मर्मत सम्भार ,२५ स्थानमा होम पाइप जडान र ३ वटा उच्च स्तरीय ग्राभेल वडा अध्यक्ष विष्णु प्रसाईको नेतृत्वमा सम्पन्न गरेको वडा सचिव भेटवालले जानकारी दिइन् ।

योजना फरफारक गर्न उपभोक्ता समितिका जिम्मेवारी ब्यक्तिहरुले नगरपालिका धेरै पटक ध्यान नपरोस भन्ने विषयमा के हेक्का राखेको छ भन्ने जिज्ञासामा मापदण्डले भेटेका सबै कागजात पुरा गरेर मात्र पठाउने गरेको सचिव भेटवालले बताइन् । ताकी नगर पालिकाको लेखा शाखामा पुगेर त्यसै फर्किनु नपरोस भन्ने विषयमा सजक रहेको वडा सचिव कमलाले प्रतिक्रिया दिइन् । साना योजना दिदैमा उपभोक्ता लाभान्वित भए त भन्ने प्रश्नमा शिवसताक्षी ४ नं. वडाका वडा अध्यक्ष विष्णु प्रसाईले भने हामी दुई घरका जनता र सबैको जनप्रतिनिधि भएको उनीहरुको माग अनुसार साना, टुकुरे योजना दिएका छौ । त्यसबाट सबै उपभोक्ता लाभान्वित भएका छन् । उनले थपे– कर्मचारीलाई नियमले दिदै भन्दा हुन्छ तर जनप्रतिनिधिलाई यो भन्ने छुट नभएको नियम बनाए र खोजेर जनताको काम गर्नैपर्छ ।

यसैगरी आर्थिक वर्ष ०७९÷०८० मा शिवसताक्षी ५ को जनता चोकमा फलामे पुल निर्माण सम्पन्न गरेको छ । वडान. ५ र ६ को सिमानामा पर्ने एक कल्र्भट निर्माण कार्य सम्पन्न गरेको वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष रिना विश्वकर्माले बताइन् । वडा नं.४ र ५को सिमानामा एक फलामे पुल ,५ नं. वडामा कन्काई माई मन्दिर भेलामुनी भन्ने एक फलामे पुल निर्माण अन्तिम चरणमा रहेको वडा सदस्य विश्वकर्माले जानकारी दिइन् ।

वडाअध्यक्ष सिकिन पासवानको नेतृत्वमा यस वर्ष वडामा ७ वटा वाटो ग्राभेल ९ लाखको लगानी रहेको छ । पक्की पुल एक निर्माणाधिन यसको लगानी ८ लाख रहेको छ । फलामे पुल एक सम्पन्न सोको लगानी वडाको ६ लाख रहेको छ । एक फलामे पुल निर्माणधिन रहेको वडाको विवरणमा उल्लेख छ ।

यता, धार्मिक, पर्यटकीय स्थलको ग्रामथान र मन्दिर कुनै मर्मत ,केही नयाँ मन्दिर निर्माण सम्पन्न गरी ९ वटा योजना सम्पन्न गरिसकेको सो योजनाको लगानी ९ लाख रहेको वडा सचिव विनिसा बास्कोटाले बताइन् । सूर्योदय प्राविको छानो मर्मतको लागत रकम ३ लाख ५० हजार र सूर्य नारायण राजवंशीको घर अगाडीको बाटोमा पक्की पुल निर्माण सम्पन्न गरेको सोही वडाको वडा सदस्य तथा नगर कार्यपालिका सदस्य समेत रहेकी विमलीले बताइन् । देखिने खालका, वडावासीको माग अनुसारको साना मझौला योजना दिएर नतिजा प्राप्त गरेको वडा नं. ५ का वडाअध्यक्ष सिकिन पासवानले बताए । आफनो वडामा आदिवासी ताजपुरिया, राजवंशीको सघन बस्ती भएको हुँदा उनीहरुको पुजा गर्ने ग्रामथान बनाएर दिएको अध्यक्ष पासवानले बताए ।

शिवसताक्षी ६ नं. वडा कार्यालयवाट साना मसिना योजना धेरै सम्पन्न गरेको वडाको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षमा १८ वटा सडक ग्राभेल २३ लाखको लागत, फलामे पुल १ यसको लागत १ लाख ५० हजार , होमपाइप २ वटा २ लाख , मन्दिर घेरावारा ५ वटा ४ लाख ५० हजार र होमपाइप १६ वटा २ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न गरेको ६ नं. वडा सचिव विमल बाँस्कोटाले जानकारी दिए । होमपाइप , सडक ग्राभेल गर्दाको योजनामा उपभोक्ताको तर्फबाट लागत सहभागिता २० प्रतिशत लगानी रहेको वडा सचिव बाँस्कोटाको भनाइ रहेको छ ।

६ नं.वडाको प्रहरी कार्यालय दक्षिणमा पूर्व दक्षिणमा वडावासीलाई स्वास्थ्य र निरोगी बन्न सहयोग पुगोस भन्ने हेतुले खुल्ला मैदानमा व्यायमशाला निर्माण गरेको वडाअध्यक्ष मनोज खुलालले बताए । शिवसताक्षी ९ को माझी गाउँमा वडाको योजना अन्तर्गत फलामे पुल एउटा २ लाख ५० हजारको लगानीमा २०७९ चैतमा सम्पन्न गरेको नगरपालिकाको प्राविधिक शाखाको प्राविधिक मिना रिजालले बताइन् । उपभोक्ताको लागत सहभागिता भने १० प्रतिशत रहेको छ ।

सो वडाको आधारभूत स्वास्थ्य केन्द्रमा सेवाग्राहीलाई विश्रामको लागि एक प्रतिक्षालय २०८० बैशाख मसान्तमा निर्माण सम्पन्न गरेको थियो । यसको लागत २ लाख १२ हजार र उपभोक्ता लागत सहभागिता १२ हजार रुपैयाँ लगानी गरेको प्राविधिक रिजालले बताइन् । भौतिक पूर्वधार तर्फ शिवसताक्षी ७ को सडक ग्राभेल, साना तिना कलर्भट, फलामे पुल, सडक बत्ती र मठमन्दिर सहितको ३९ वटा योजना परेको थियो । त्यसमध्ये सबै योजना सम्पन्न गरी फरफारक लिने क्रममा एक योजनाको मात्र रकम निकासा हुन वाँकी रहेको प्राविधिक शाखा कर्मचारी घिमिरेले बताए ।

शिवसताक्षी ४ स्थित सयपत्री चोकवाट भक्ती गाउँ हँुदै बुलुचोक बजारस्तर उन्नति उपभोक्ता समितिले १० लाख रकम लगानी गरेर उच्च स्तरीय ग्राभेल सम्झौतामा उल्लेख भएको समय अवधि अघि नै उपभोक्ता समिति आफै खटेर गुणस्तरीय बाटो ग्राभेल गरेको अध्यक्ष शिव कुमार विमलीको दावी छ । निर्माणको बेला समय–समयमा नगर उपप्रमुख, प्राविधिकको टोलीले अनुगमन गरेर बताउदै अध्यक्ष विमलीले भने –कमशल, गुणस्तरहिन काम गरे प्राविधिक, लेखा शाखा आदिबाट झन्झट खेप्नुपर्छ ।

निर्माणधिन, निर्माण सम्पन्न पूर्वधारको अनुगमन गर्दा उपभोक्ता समितिहरु नै सक्रिय भएर गरेको योजनाहरुको गुणस्तरीय काम भएको शिवसताक्षी नगर पालिकाको नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक नरमाया कार्कीले बताइन् । आगामी दिनमा उपभोक्ता समितिलाई जागरुक गराउने सोच रहेको नगर उपप्रमुख कार्कीले बताइन् ।

प्रस्तुति : मनकुमार गदाल

प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]