बैशाख ४, २०८१ मंगलबार

‘कनकाई क्याम्पस सुरुङाको समस्या वार्ता, सहकार्य र सहमतिबाट हल हुनुपर्छ’

१८ वर्षको कलिलो उमेरदेखि शिक्षण पेशामा संलग्न रहँदै आउनुभएका सुरुङ्गा निवासी हरिप्रसाद तिम्सिना कनकाई नगर क्षेत्रमा शैक्षिक र बौद्धिक क्षेत्रमा अति आदरणीय नाम हो । गौरादह क्याम्पसबाट प्राध्यापन यात्रा शुरु गरी २०६१ सालदेखि कनकाई क्याम्पस सुरुङ्गामा हालसम्म पनि निरन्तर कार्यरत तिम्सिनालाई क्याम्पस सञ्चालक समितिले सेवाबाट हटाएको छ । उहाँको बर्खास्तीले क्याम्पस तनावग्रस्त छ । क्याम्पसको भविष्य पनि धूमिल हुने हो कि भन्ने संशय बढेको छ । कनकाई क्याम्पसको समस्या, विकसित घटनाक्रम र समाधानका उपाय सम्बन्धमा उहासँग हाम्रा संवाददाता सिएम शर्माले गरेको छोटो कुराकानी :

१, बन्दनिषेधित शान्तिक्षेत्र मानिएको सुरुङ्गामा रहेको कनकाई बहुमुखी क्याम्पस विगत डेढ महिनादेखि तनावग्रस्त छ । वास्तविकता के हो ? यो समस्याको जड के हो ?
समस्याको जड राजनीतिक सहमतिको आडमा बनेको सञ्चालक समितिका केही सदस्यहरु राजिनामा दिई बाहिरँदा पुनः सर्वपक्षीय भेला गराई छलफल नगरिनु, क्याम्पस सञ्चालक समितिमा रहने तर क्याम्पसका विधान तथा नियमावलीहरुको अध्ययन गरी त्यसको पूर्ण जानकारी नराख्नु, विधान तथा नियमावलीहरु आफू अनुकुल व्याख्या गर्नु, सरोकारवालाहरुसँगको गाढा सम्बन्ध क्याम्पस सञ्चालक समितिले राख्न नसक्नु, कनिष्ठ व्यक्तिलाई क्याम्पस प्रमुख बनाई वरिष्ठहरुलाई पाखा लगाउनु, राजनीतिक आस्थाका आधारमा व्यवहार गरिनु, क्याम्पस प्रमुखले दम्भ राखेर आफ्ना सहकर्मीहरुलाई साथै लिएर हिँड्न नसक्नु, विना सोच र विना अध्ययन अदूरदर्शी निर्णय गर्दै जानु, आग्रह, पूर्वाग्रह र कुण्ठा पालेर प्राध्यापक तथा कर्मचारीहरुलाई प्रतिशोधपूर्ण व्यवहार गर्नु, क्याम्पस प्रमुखले सञ्चालक समितिलाई गलत रिपोर्ट दिनु र गलत सूचनाका आधारमा निर्णयहरु गरिनु नै समस्याको जड हो ।

२,कनकाई बहुमखी क्याम्पसमा विवादमा तपाईलाई तानिएको छ । खास कुरा के हो ?
Hundred people have hundred natures. अर्थात् हरेक मानिसको आफ्ना स्वभाव हुन्छ । यसमा मेरो भन्नु केही छैन । हरेक व्यक्तिका हेर्ने दृष्टिकोण आ–आफ्नै हुन्छन् । कसैले कुनै पनि वस्तुलाई हेर्दा वस्तुगत हिसाबले हेर्छ, व्याख्या गर्छ र बुझ्छ । कसैले आग्रह, पूर्वाग्रह र प्रतिशोधपूर्ण हिसाबले हेर्छ । यस्ता व्यक्तिहरु प्रायः रोगी र दुःखी हुन्छन् । त्यस्ता रोगी र दुःखी व्यक्तिहरुले कनकाई क्याम्पसको विवादको जड मलाई देख्नु स्वभाविक नै होला । तर क्याम्पस प्राध्यापनको आज उनन्तिसौँ वर्षमा मैले एकपटक घोरिनु पर्ने अवस्था आएको छ । लामो समयदेखि शिक्षण जस्तो पवित्र पेशामा प्रवेश गरी हजारौं हजार विद्यार्थीहरुको भाग्य र भविष्यको जिम्मा लिई बसेको एक इमान्दार, कर्तव्यनिष्ठ र स्वाभिमानी व्यक्ति आज कसरी समस्याको जड वन्न सक्छ ?

क्याम्पस प्राध्यापन गरेको २९ वर्षको अन्तरालमा फरक फरक स्वभाव तथा प्र्रकृति बोकेका क्याम्पस प्रमुखको मातहतमा रही कार्य गर्ने अवसर मिलेको छ भने पटक पटक क्याम्पस सञ्चालक समितिको पदेन सदस्य समेत भई कार्य गर्ने मौका पाएको छु । २८ औँ वर्षसम्म त समस्याको जड नहुने र अहिले समस्याको जड देख्नु, देख्नेहरुकै आँखामा भ्रम भएको होइन ? यदि समस्याको जड मलाई देख्ने हो भने देख्नेहरुले प्रमाणित गर्न म अनुरोध गर्दछु । सामुदायिक क्याम्पस भनेको जनताको नासो हो । यसको समृद्धि, उन्नयन र प्रगतिमा सहयोग पु¥याउनु सबैको कर्तव्य हो ।

दशकौंदेखिको अंग्रेजी विभाग प्रमुखको भूमिका, विद्यार्थी भर्ना सहजीकरण समितिको संयोजक तथा प्राध्यापक संघको सर्वसम्मत अध्यक्षको भूमिका निर्वाह गरी क्याम्पसको समृद्धिमा नयाँ भिजनका साथ अघि बढेको व्यक्ति कसरी विवादको जड वन्न सक्छ ? यदि त्यस्तो लागेमा किन संवाद, सहकार्य र एकतालाई जोड नदिएको ? यी र यस्ता कुराहरु केबल मनका कुण्ठाहरु र प्रतिशोधको खेती भन्दा केही हुन्छ होला जस्तो लाग्दैन ।
३, कनकाई क्याम्पसको विवाद कसरी शुरु भयो ?
कनकाई क्याम्पसमा राजनीतिक सहमतिको आधारमा १७ सदस्यीय क्याम्पस सञ्चालक समिति बनेको थियो । सो समितिले पूर्ण १७ सदस्यीय समिति पुरा नभई १३ सदस्यीय हुँदाखेरि नै राजनैतिक सहमति वेवास्ता गरी क्याम्पस प्रमुखमा वरिष्ठतामा माथि रहनुभएका सहप्राध्यापक जीवनाथ सुवेदीलाई नदिई बहुमतको आडमा कनिष्ठ उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई दिईयो । युवा र उर्जाशील व्यक्ति क्याम्पस प्रमुख हुँदा क्याम्पसमा केही सकारात्मक परिवर्तन आई क्याम्पसले गुणात्मक फड्को मार्छ कि भन्ने प्राध्यापक, कर्मचारीमा पनि झिनो विश्वास थियो ।

तर क्याम्पस प्रमुखले प्राध्यापक कर्मचारीको विश्वास जितेर अघि बढ्नु पर्नेमा एकलौटी हिसाबे अघि बढ्दै जाँदा समस्याहरुको चाङ् लाग्दै गयो । झिनो विश्वास समेत गुम्दै गयो । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भयो । पहिलो वर्ष उल्लेखनीय विद्यार्थी संख्या आएन । थोरै संख्यामा भए पनि पठनपाठन शुरु भयो । करिब २ महिनाको पठनपाठन पछि क्याम्पस प्रमुखले दिएको सिफारिसका आधारमा क्याम्पस सञ्चालक समितिले थोरै विद्यार्थी संख्याको कारण देखाई अंग्रेजी र Epm (शैक्षिक योजना तथा व्यवस्थापन) विषय Phase out (हटाउने) गरियो ।

एक साल विद्यार्थी कम भएपनि अर्को वर्ष बढ्छ र २ महिना पढाइ भइसकेपछि विषय फेजआउट गर्नुहुन्न भन्दै फरक मत मैले प्राध्यापक संघको अध्यक्षको हैसियतले सञ्चालक समितिको बैठकमा दर्ज गरें । परिणामतः विद्यार्थी आन्दोलन भयो । आन्दोलनले हटाइएका विषयहरु पुनः सञ्चालन गर्ने निर्णय ग¥यो । आफू मातहतको प्राध्यापकले हाम्रा निर्णय विरुद्ध बोल्ने र फरक मत राख्ने भनेर पूर्वाग्रह राख्ने काम भयो । तर मैले क्याम्पस र सुरुङ्गाका लागि बोलेको थिएँ । अर्को वर्ष ४५ बढी विद्यार्थी अंग्रेजी र इपीएम्मा भर्ना भए ।

सायद यहीँबाट विवाद शुरु भएको हुन सक्छ । त्यस पश्चात् प्राध्यापक कर्मचारीका पेशागत सेवा सुविधा काट्दै विधान संशोधन गर्ने प्रयत्न गरियो । जुन क्याम्पस सभाले अस्वीकृत गरिदियो । समय वित्दै जाँदा प्राध्यापक अवकाश दिने कार्य शुरु भयो । पहिलो पटक ईश्वरीप्रसाद शिवाकोटी र आशा शर्मा शिवाकोटी त्यसपछि पूर्व क्याम्पस प्रमुख सह–प्राध्यापक टंकबहादुर कार्कीलाई विविध कारण देखाई अवकास गरियो भने पछिल्लो पटक म हरिप्रसाद तिम्सिना समेत त्यसकै शिकार भएँ । यही क्रममा उपप्राध्यापकद्वय मोहन ओली र गोपीकृष्ण भट्टराई विभिन्न बहानामा मानमर्दन गर्ने र अप्ठेरो अवस्था सृजना गरी क्याम्पस छोड्न बाध्य पारियो । यो क्रम रोकिएको छैन ।

यसबाट क्याम्पसमा कार्यरत कुनै पनि कर्मचारी र प्राध्यापकको सेवाको ग्यारेण्टी नहुने, यो कार्य नजीरको रुपमा स्थापित हुने र भविष्यमा जोकोही पनि बिना कारण सेवाबाट बर्खास्त हुने त्रासदीपूर्ण वातावरणमा कालो छाँयाको मुनि गुलामी स्वीकारेर काम गर्नुपर्ने हुन्छ । विगत १५ वर्षदेखि निरन्तर कार्यरत प्राध्यापकको यो हालत हुन्छ भने कुन विश्वास र भरोसामा अरु प्राध्यापक तथा कर्मचारीले काम गर्न सक्छन र क्याम्पसको भविष्य सुन्दर हुन सक्छ ? दास मानसिकता बोकेर प्राध्यापकहरुले जाग्रत जनशक्ति उत्पादन गर्न सम्भव छ ?

स्थानीय कनकाई माध्यमिक विद्यालयका शिक्षक–कर्मचारीको पहलमा सोही विद्यालयमा बिहानी सत्रमा क्याम्पस स्थापना भएको सर्वविदित छ । आज क्याम्पसको स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्राध्यापकहरुलाई बौद्धिक वर्गको मानमर्दन हुने गरी जीवनभरि शिक्षाक्षेत्रमा काम गरी कमाएको प्रतिष्ठा गिराउने गरी अपराधीलाई जस्तो गरी हठात सेवाबाट हटाइनुभन्दा दुःखद् के हुन सक्छ ?
४, के छ त कारण अवकास गर्नु पर्ने ?
वि.सं. २०७५ साल चैत्र महिनादेखि २०७६ भदौ महिना सम्म पनि प्राध्यापक कर्मचारीहरुले पाउने तलब भत्ता क्याम्पसले उपलब्ध गराएन । विद्यार्थीहरुबाट उठेको शुल्क समेत अन्य कामहरुमा लगानी गरी प्राध्यापक कर्मचारीलाई वेवास्ता गरियो । एउटा मजदुरले समयमै आफ्नो पारिश्रमिक नपाउँदा के हुन्छ भन्ने कुरा एउटा सचेत नागरिकले सहजै अनुमान गर्न सक्छ । यसरी तलब भत्ता नपाउँदा प्राध्यापक कर्मचारीमा बहस हुनु स्वभाविक थियो ।

उहाँहरुले प्राध्यापक संघको ध्यानाकर्षण गर्नु भयो । त्यस पश्चात् प्राध्यापक संघले प्राध्यापक कर्मचारीहरुको संयुक्त बैठक बोलाई ४ सुत्रीय माग तयार ग¥यो । सो मागहरु तलब भत्ता, प्राध्यापकको वृद्धि विकास लगायत क्याम्पसलाई विधिसम्मत ढङ्गले अघि बढाउन मद्दत गर्ने खालकै थिए । भाद्र महिनाको पहिलो सातामै क्याम्पस प्रमुख मार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्षलाई माग पेश गरियो । एक महिनापछि बुझ्दा क्याम्पस प्रमुखले प्राध्यापक–कर्मचारीको ज्ञापनपत्र नपु¥याएको देखियो ।

समितिलाई गुमराहमा राख्ने काम क्याम्पस प्रमुखबाट भयो । एक महिनासम्म मागहरुप्रति उदासिन भएपछि पुनः प्राध्यापक संघले ध्यानाकर्षण पत्र क्याम्पस प्रमुख मार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्षलाई पेश ग¥यो । फेरि पनि क्याम्पस प्रशासन तथा क्याम्पस सञ्चालक समिति मौन बस्यो । तसर्थ प्राध्यापक संघ आफ्ना पेशागत मागलाई पूरा गराउन वाध्य भई विद्यार्थीहरुको पठनपाठनलाई अवरोध नगरी कालो पट्टी बाँधी पठनपाठन गरियो । कालोपट्टी बाँधेपछि मात्र क्याम्पस अध्यक्षलाई प्राध्यापक–कर्मचारीका माग बारे थाहा भएको अध्यक्षको दावी छ । शैक्षिक क्षेत्रमा यो कस्तो खेलवाड हो ?

कालोपट्टी बाँधेर अध्यापन गरेको ३ दिन पश्चात अर्थात असोज १४ गते क्याम्पस सञ्चालक समितिको बैठक बसी मलाई अवकास दिने निर्णय गरिएछ । सो कुराको अनौपचारिक जानकारी असोज १६ गते पाइयो । विद्यार्थीहरु नभएको समयमा दशैं तिहारको लामो विदा हुनु पूर्व दशैंकै मुखमा वर्खास्त गरी उहाँहरुले आफ्नो बहादुरी देखाउनु भयो । क्याम्पस विधानको परिच्छेद ९ को ९.१ मा प्राध्यापक संघको व्यवस्था बारे प्रष्ट उल्लेख हुँदा हुँदै सो संस्थाले आधिकारिक रुपमा अघि सारेका मागहरु उपर एकपटक पनि छलफल नगरी, पूर्ण उपेक्षाका साथ सो संघका अध्यक्षलाई नै अवकास दिनु न्यास संगत कुरा हो ?

विदा पश्चात् कार्तिक १४ बाट क्याम्पस पुनः सञ्चालन भयो । विद्यार्थीहरुले समेत आफ्ना मागहरु सहितको ज्ञापनपत्र क्याम्पस प्रशासनलाई बुझाउँदा उहाँहरुलाई समेत उपेक्षा गरेका कारण विद्यार्थीहरु आन्दोलनमा जान वाध्य भए भने प्राध्यापकहरु प्राध्यापक हटाउने निर्णय वदरको माग गरी पेन डाउन गर्न वाध्य हुनुभयो । विद्यार्थीहरुको आन्दोलन अघि बढिरहँदा क्याम्पस प्रशासनले आन्दोलनलाई निश्तेज पार्न हात हतियार सहितका प्रहरीहरु क्याम्पस हाता भित्र प्रवेश गराउने, बाहिरी अनावश्यक मान्छेहरुको प्रवेश गराई विद्यार्थीहरुले गरेको शान्तिपूर्ण आन्दोलनलाई निश्तेज पार्ने प्रयास गरियो ।

वार्ताको ढोका बन्द गरेको क्याम्पस प्रशासनले विद्यार्थीलाई झनै आक्रोशित बनाउँदै गयो । परिणामतः क्याम्पस सञ्चालक समितिका अध्यक्षमाथि कलंकपूर्ण, तीन पुस्तासम्म पनि नमेटिने दुर्भाग्यपूर्ण र अप्रिय घटना घट्न पुग्यो । जुन कुरा हुनु हुँदैन थियो । समयमै वार्ता र संवादबाट समस्याको हल गर्न नखोज्दा निक्लेको परिणाम हो यो ।
५, प्राध्यापक निस्कासन विधीसम्मत छ कि छैन ?
प्राध्यापक निस्कासन विधीसम्मत छैन । यो दुराग्रह, पूर्वाग्रह र प्रतिशोधपूर्ण छ । प्राध्यापकलाई प्राध्यापन सेवाबाट हटाउन वा बर्खास्त गर्ने आधारहरु प्राध्यापक कर्मचारी नियमावली २०६७ को १०.३ अनुसारका कुनै बुँदाहरुले पनि आफूलाई बर्खास्त गर्न नसक्ने प्रष्ट छ । जस्तो ती बुँदाहरु मध्ये केही बुँदा म यहाँ सम्झन्छु । सो अवस्था आएमा वर्खास्त गर्न सकिन्छ ।

जस्तैः– क) कार्यक्षमताको अभाव भएमा । ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित भई सजाय पाएमा । ग) बहुलाएमा वा मानसिक सन्तुलन गुमाई जिम्मेवारी पूरा गर्न नसक्ने भएमा । घ) एक महिना भन्दा बढी सूचना नदिई कार्यालयमा अनुपस्थित भएमा, आदि । उपर्युक्त कुराहरु आफूमा भए प्रमाणित गरेर देखाउन क्याम्पस सञ्चालक समितिमा म अनुरोध गर्दछु । जहाँसम्म करार प्राध्यापकको प्रश्न छ । त्यसमा पनि करारको म्याद थप्ने वा नथप्ने आधारहरु छन् ।

के अध्यापन गर्ने विषयहरु नपुगेर हो ? के म सबैभन्दा कनिष्ठ भएर हो ? के मैले अध्यापन गर्न नसकेर हो ? यी सबै होइनन् भने किन एक जना प्राध्यापक मात्र वर्खास्त ? के क्याम्पसमा आर्थिक अवस्था नभएर हो ? यदि त्यसो हो भने मेरो ठाउँमा अर्को प्राध्यापक राख्ने तयारी किन गरिँदैछ ? के यसमा प्रतिशोध तथा राजनीतिक गन्ध छैन र ? के यस्ता क्रियाकलापले कनकाई क्याम्पसको गरिमा माथि उठ्छ ? क्याम्पस कसैको बपौति हो ? एउटा निजी विद्यालयमा काम गर्ने शिक्षकलाई समेत विद्यालय सञ्चालकले निकाल्न सक्दैनन् भने ममाथिको अन्याय किन ? म आफू प्राध्यापक मात्र नभई क्याम्पसको चन्दादाता पनि हुँ भने समाजको एक सचेत नागरिक हुँ ।

मैले आफू वर्खास्तमा पर्दै छु भन्ने सूचना पाउने सूचनाको हक छ कि छैन ? वर्खास्त पूर्व सम्बन्धित पक्षले स्पष्टीकरण माग गर्नु पर्छ कि पर्दैन ? कमजोरी नै भए पनि सच्याउने अवसर नपाउने यो कस्तो लोकतन्त्र हो ? एक्काइसौँ शताब्दिको प्रजातान्त्रिक युगमा समेत प्रजातन्त्रकै खोल भित्र बसी हिटलरी शासन चलाउन मिल्छ ? म आफूले बोकेको वैचारिक आस्था कसैको गुलामी स्विकार्ने शर्तमा, मेरो जागिरको शर्तमा त्याग्न सक्तिन । पञ्चायती निरंकुशताका विरुद्ध संघर्षका क्रममा मुलुकमा जनताको खुशहाली बहाल हुने पूर्ण लोकतन्त्र स्थापना हुनुपर्छ भन्ने मेरो वैचारिक आस्था जस्तासुकै दमन र अन्याय ममाथि भए पनि छोड्न सक्तिन । अरुको वैचारिक आस्थाको पनि त्यत्तिकै सम्मान हुनपर्छ भन्ने मेरो मत छ ।
६, तपाईँलाई निस्कासन गर्नुको कारण तपाईँ क्याम्पसको मर्यादामा नबसेको भन्ने आरोप छ नि ?
यो आरोप सरासर झुट छ । क्याम्पस सञ्चालक समितिले एक पछि अर्को गल्ति गर्दै जाने र ती गल्तिहरुलाई ढाकछोप गर्न पुनः मलाई आरोप लगाई गल्ति कमजोरीबाट उम्किन खोजेको देखिन्छ । वास्तवमा सत्य सत्य नै हो । मास्टर डिग्रीसम्म पढाइ हुने एउटा प्राज्ञिक संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा आसिन क्याम्पस अध्यक्षले मानसिक श्रम बेचेर खाने मजदुरमाथि चाङ्माथि चाङ् आरोप लाउनु आफैमा हाँस्यास्पद र लज्जास्पद कुरा हो । गाली गलौज गरी आफ्नो ओजन घटाउनु भन्दा वार्ताको ढोका खोली बहसको माध्यमबाट निष्कर्ष निकाल्नु आफू तयार भएको कुरा प्रष्ट राख्न चाहन्छु ।

क्याम्पस विधानको ८.१ मा सञ्चालक समितिका आचार संहिता प्रष्ट उल्लेख गरिएको छ । सो आचार संहिता समितिले पालना गरे नगरेको समेत मूल्याङ्कन गर्न म यसै पत्रिकाबाट अनुरोध गर्दछु । एउटा व्यक्ति सबै समस्याको कारक बन्न सक्दैन । यसपछि लुकेका समस्याहरु उजागर हुँदै जाऊन् । कनकाई मा.वि.बाट शुरु गरेको कनकाई बहुमुखी क्याम्पसले कनकाई मा.वि.को योगदानलाई बिर्सेर अघि बढ्नु केवल इतिहासलाई लात मार्नु हो । जसले इतिहासलाई बिर्सन्छ उसले एक दिन आफैलाई बिर्सन सक्छ ।

७, सञ्चालक समितिले राजनीतिक पूर्वाग्रह राखेर तपाईँलाई निस्कासन गरेको हो त ?
यसको पूरै जवाफ त निकाल्नेहरुलाई नै थाहा होला । झुटा आरोप लगाएर क्याम्पस विधान तथा नियमावली माथि आफूलाई राख्ने, गौरवको धरोहर कनकाई बहुमुखी क्याम्पसलाई आफ्नो पैतृक सम्पत्ति जस्तो ठान्ने र २९ वर्षसम्मको प्राध्यापन पेशामा खोट देखाएर आफू चोखिने र सामाजिक व्यक्तित्वको रुपमा रहन खोज्ने कुरा कतिको शोभनीय हुन्छ ? प्राध्यापक र विद्यार्थीमाथि दमन गरेर क्याम्पस राम्रो हुन्छ भनेर देख्नु केबल दिवास्वप्न मात्र हो ।
८, क्याम्पसमा विवाद बढिरहेको छ । समाधानको बाटो के हो ?
समाजको यथार्थतालाई झल्किने गरी सर्वपक्षीय समितिको निर्माण गरी यो समिति र अहिलेका क्याम्पस प्रमुखले गरेका शैक्षिक तथा आर्थिक निर्णय र गतिविधिको जाँच हुनुपर्छ । कमजोरीहरु सच्याउँदै विद्यार्थीहरुले पढ्ने र प्राध्यापकले पढाउन पाउने कुरालाई आत्मसात गर्दै, वार्ता सम्वाद, सहकार्य र एकताका साथ अघि बढ्नु समाधानको मुख्य बाटो हो । सार्वजनिक शिक्षण संस्थामा अपारदर्शिता बन्द हुनुपर्छ ।
९ , क्याम्पसबाट बर्खास्त भएकोमा आम नागरिकलाई केही भन्न चाहनुहुन्छ ?
कनकाई बहुमुखी क्याम्पस आम कनकाईवासीहरुको संयुक्त प्रयासबाट स्थापित एक उच्च शैक्षिक थलो हो । यो सुरुङ्गाको गौरव हो । यसलाई टेकेर यो वा त्यो नाममा संस्थालाई कमजोर पार्नु हुँदैन । क्याम्पस सञ्चालकहरुले विधान तथा नियम भन्दा बाहिर गई क्याम्पस सञ्चालन गर्ने, श्रमजीवी प्राध्यापक, कर्मचारीहरुलाई विनाकारण, विना सूचना आग्रह, पूर्वाग्रह र प्रतिशोध राखी बर्खास्त गरी शैक्षिक वातावरणलाई खलल् पु¥याउने जस्ता अलोकतान्त्रिक कामहरु नगर्न तथा आम चन्दादाता, क्याम्पसका सरोकारवाला, समाजसेवी बुद्धिजीवी, शिक्षाप्रेमी एवम् न्यायको पक्षमा उभिने जनसमुदायलाई संवाद, छलफल र अन्तरक्रियाको माध्यमबाट देखिएका समस्याहरुलाई हल गरी क्याम्पसमा शैक्षिक एवम् प्राज्ञिक वातावरण बनाउने काममा सहयोग पु¥याउन अनुरोध गर्दछु ।

प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]