जेष्ठ १, २०८१ मंगलबार

शिवसताक्षी ५ : धार्मिक पर्यटकीय क्षेत्र बनाउने

वडाध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन
शिवसताक्षी नगरपालिकाको वडा नम्बर ५ ले चालू आर्थिक वर्ष २०७९-०८० मा गरेका विकास निमार्णका कामहरुले वडाबासीमा खुशी ल्याएको छ । विकासको अध्ययन तथा अनुगमन गर्ने क्रममा उक्त वडाले बजेट, नीति तथा कार्यक्रम पुस्तिकामा समावेश गराएको शतप्रतिशत योजनाका कामहरु सम्पन्न गरिसकेको पाइएकोछ । यस वडाले आफ्नो योजनाका कामहरु साथै प्रदेश र संघीय सरकारका योजनाहरु सम्पन्नका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

शिवसताक्षी नगरपालिकाले आ.व २०७९-०८० आफ्नो वडालाई ७५ लाख वडा बजेटको रुपमा प्रदान गरेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । वडाले ७५ लाखमध्ये पाँच लाख खेलकुदमा छुटाएर बाँकी रहेको ७० लाखले मात्रै भौतिक पूर्वधार, सामाजिक, आर्थिक विकासका साथै वडा कार्यालयको सञ्चालन गरेको बताइएको छ । शिवसताक्षी –५ ले ७० लाखबाट धेरै जिम्मेवारी पूरा गर्नुपर्ने संकटको बाबजुद निक्कै उल्लेखनीय काम गरेको छ ।
वडाले चालू आर्थिक वर्षमा प्रशासन सञ्चालनमा ५० हजार रकम राखेर अन्य सबै रकमहरु भौतिक पूर्वधार, सामाजिक र आर्थिक विकासका निम्ति विनियोजन गरेको थियो ।

वडाले चालू आवमा आर्थिक विकासमा पाँच लाख रुपैयाँ विनियोजन गरेर लक्षित वर्ग र समुदायलाई अर्थोपार्जनमा जोड्ने किसिमको सीपमूलक तालिममा जोडेको छ । वडाले यस शिर्षक अन्र्तगत क्षमता विकास तालिम, वातावरण मैत्री झोला निर्माण तालिम, माला बुन्ने तालिम, सिलाई कटाई र व्यूटिसियन सम्बन्धी तालिमहरु प्रदान गरेको छ । यसका साथै वडाध्यक्ष कृषि विकास तालिम कार्यक्रम अन्र्तगत बिउ बिजन वितरण र पशु बीमा कार्यक्रम पनि सम्पन्न गरेको छ ।

शिवसताक्षी–५ ले चालू आ.वमा सामाजिक विकासको निम्ति २४ लाख ४० हजार रकम विनियोजन गरेको थियो । वडाले यस बजेट मार्फत वडाध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुको साथै शिवगञ्ज बहुमुखी क्याम्पसको शैक्षिक सुधारको निम्ति दुई लाख ५० हजार रकम अनुदान दिएको छ । साथै युवा लक्षित सीपमुलक तालिम, जेष्ठ नागरिकहरुका निम्ति मनोसामाजिक परामर्श तालिम र अपांगता भएका व्यक्तिहरुका निम्ति सहायता सामग्री प्रदान लगायतका कार्यक्रमहरु सञ्चालन गरेर सम्पन्न गरेको छ ।

सामाजिक विकासका निम्ति वडा गौरवको योजनालाई समावेश गराएर भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माणको काम पनि सुरु गरेको छ । यसका साथै सामाजिक विकास कै बजेटबाट वडाको आधारभूत स्वास्थ्य केन्द्रमा फ्रिज खरिद गरी ¥याक निर्माण सम्पन्न गरेको छ । यसै गरी सडक बत्तिको जडान, वडाभित्रका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण, लगायत थुप्रै कामहरु गरेको छ । यस वडाले आफ्ना बजेटको तुलनामा भौतिक पूर्वधारको विकासको निम्ति उल्लेखनीय काम गरेको देखिन्छ ।

भौतिक पूर्वधार विकासको निम्ति ४० लाख रुपैयाँ विजियोजन गरेको थियो । वडाले यो रकम अधिकांश सडक निर्माण र स्तरोन्नतिमा प्रयोग गरेको पाइएको छ । यस वडाले ४० लाख मध्ये पाँच लाख रुपैयाँ रकम कल्भर्ट निर्माण, आठ लाख रुपैयाँ पुल निर्माण र सात लाख रुपैयाँ वडा कार्यालयको भवन मर्मत तथा व्यवस्थापनको निम्ति विनियोजन गरेको थियो भने बाँकी रहेको २० लाख रुपैयाँ सडक ग्रावेल र स्तरोन्नतिका निम्ति विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा यस वडामा वडा बजेटबाट दुई वटा कल्भर्ट निर्माण भएका छन् भने एउटा पुल निर्माण गरिएको वडाध्यक्ष पासवानले जानकारी दिए ।

वडा अध्यक्ष पासवानले सडकमा ग्राबेल गर्ने र सडकको स्तरोन्नतिको नै माग धेरै भएकाले बजेट पनि त्यसैमा केन्द्रित भएको बताए । उनले आफू निर्वाचित भएकाले आफ्नो योजना भन्दा पनि नागरिकको मागमा केन्द्रित भएर काम गरिरहेको जानकारी दिए ।

अध्यक्ष पासवानले आफ्नो वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताएका छन् । उनले उक्त वडा पवित्र माई खोलाको किनारमा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । उनले आफ्नो लक्ष्य पूरा गर्न काम पनि सुरु गरिसकेका छन् । उनले यसै चालू आर्थिक वर्षबाट वडा गौरवको योजनाको रुपमा माइखोलाको किनारमा ‘भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माण’को निम्ति काम पनि सुरु गरिसकेका छन् ।

शिवसताक्षी-५ ले आफूलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका निम्ति यस वर्ष माई भगवतीको मन्दिर निर्माण गरेको छ । अध्यक्ष पासवानले माई भगवती प्रति हिन्दू धर्मावालम्वीहरुको धेरै आस्था भएको भए पनि माई भगवतीको मन्दिर नभएकाले गर्दा आफ्नो वडामा सो मन्दिर प्रतिस्थापन गरिएको बताए । उनले आफ्नो कार्यकाल भरीमा गौरवको योजना बनाएरै धार्मिक पर्यटकीय क्षेत्रको विकासका निम्ति काम अगाडि बढाइसकेका छन् ।

यसका साथै शिवसताक्षी–५ मा नगर र प्रदेशको ५०-५० प्रतिशत लागत सहभागितामा दुग्द्य चिस्यान केन्द्रको निर्माण भएको छ । साथै संघीय सरकार मार्फत सूर्योदय आधारभूत विद्यालयमा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम मार्फत भवन निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ६ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]