बैशाख २२, २०८२ सोमबार

अलपत्र शहिद नेत्र पार्क : अलग्गै संस्था बनाएर चलाउन चाहान्थे नरेश खरेल

बिर्तामोड । शहिद नेत्र पार्कको निर्माणमा अगुवाई गरेका नरेश खरेलले सञ्चालनको जिम्मेवारी आफुले नलिएको बताएका छन् । उनको नेतृत्वमा करिव तीन करोड लगानी भएको पार्क अहिले अलपत्र अवस्थामा पुगेको छ । उनले पार्क सञ्चालन नहुनुमा वन समितिको कमजोरी औल्याएका छन् ।

कामको शिलशिलाले काठमाडौंमा रहेका खरेलले इजलाससित कुरा गर्दै पार्कको जिम्मा सधैं आफुले लिन नसक्ने, स्थानीयले नै रेखदेख सञ्चालन गनुपर्ने बताए । शहिद नेत्र घिमिरेको १२ विगा जमिन राज्यले कब्जा गरेपछि उनको सम्झनाका लागि आफुले पार्क बनाएको खरेलको भनाई छ ।

सुरुवातमा सबैको सहमति र सहयोगले पार्क निर्माण गरे पनि पछिल्लो समय अवरोध सिर्जना भएको उनको आरोप छ । उनले तत्कालिन वन समितिको आग्रहमा आफुले पार्क निर्माणको नेतृत्व गरेको बताए । वन समितिको कार्यकालसँगै आफ्नो पनि कार्यकाल सकिएको बताउँदै उनले भने – त्यो बेला वनले पार्क सञ्चालन गर्न कुनै पहल गरेन ।

पार्क सञ्चालनका लागि खरेलले शहिद नेत्र घिमिरेको नाममा संस्था दर्ता गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव पारित नभएपछि वनले पार्क सञ्चालन गरोस् भन्ने धेरैको आकांक्षा थियो, खरेलले भने– निर्माण समितिको कार्यकाल सकिएको र आफु कुनै हैसियतमा नभएकाले पार्क सञ्चालनमा चासो नदिएको उनले स्वीकार गरेका छन् ।
निर्माण समितिको कार्यकाल सकिए पनि १ करोड बजेट व्यवस्थान भएको र त्यसलाई ल्याएर पार्कको बाँकी काम गर्न आफुले सूझाव दिएको खरेलले बताए । उनले पछिल्लो पटक बनेको वन समितिले आफुलाई पार्क सञ्चालनको सन्दर्भमा समन्वय नगरेको प्रतिक्रिया दिए ।

निर्माण समितिका अध्यक्ष खरेल र शहिद नेत्र घिमिरे झापा आन्दोलनका सहपाठी हुन् । नेत्र पार्क निर्माण थालेका खरेलले ठुलै बजेट ल्याउन सफल पनि भए । तर, निर्माणपछि अलपत्र भएको पार्क सञ्चालनमा कुनै तदारुकता नदेखाएको स्थानीयको आरोप छ ।

ठुलो लगानी गरेर पनि निर्माण पश्चात सञ्चालनको जिम्मेवारी नलिएका खरेलले आफ्नो उमेर र स्वास्थ्यका कारण पनि धेरै चासो चिन्ता गर्न नसकेको बताए । वनको मातहतमा रहेको पार्क चलाउने जिम्मेवारी वन समितिकै हो, उनले भने – मैले साथीहरुलाई पार्क सञ्चालन गर्नका लागि आग्रह गरेकै हो । पछि आएको पैसा पनि समितिले के गर्र्यो थाहा छैन ।

पार्क निर्माण पछि वन समितिलाई समेत हस्तान्तरण नभएको बुझिएको छ । खरेलका अनुसार वन समितिको पार्क स्वतः आफ्नै हो, समितिले हस्तान्तरण गर्नैपर्दैन । वनको मातहतमा रहेको पार्क भएकाले हस्तान्तरण गर्नुपरेन ।
निर्माण समितिका तत्कालिन अध्यक्ष खरेलले पार्क सञ्चालन गर्ने जिम्मेवारी वन समिति वा बिर्तामोड नगरपालिकाको रहेको बताएका छन् । उनले पार्क संरक्षण गर्ने जिम्मेवारी दुई निकायको भएको बताए । उनले भने, पार्क चलाउने सन्दर्भमा वन समितिले मलाई खोजेन, मैले पनि खोज्दै जाने कुरा भएन ।

अध्यक्ष खरेलले पार्कलाई अलग्गै संस्था मार्फत सञ्चालन गर्न चाहेका थिए । वन समितिको मातहतमा रहेर काम गर्नुपर्ने भएपछि खरेल विस्तारै उक्त परियोजनाबाट बाहिरिएको बुझिन्छ । अलग्गै संस्था दर्ता गर्ने, संस्थाकै नाममा बजेट ल्याएर काम गर्ने चहाना पुरा नभए पछि खरेलले पार्क छोडिदिएको स्थानीयको बुझाई छ । राज्यले पैसा दिन छोडेपछि र वन समितिले अगुवाई नगरेका कारण पार्क सञ्चालन हुन नसकेको खरेलको अर्को तर्क छ ।

यता, वन समितिका वर्तमान अध्यक्ष बद्री प्याकुरेलले पार्क वनलाई हस्तान्तरण भए नभएको आफुलाई जानकारी नभएको बताए । उनले आफु अध्यक्ष निर्वाचित भएर समेत अख्तियारको पुरानो मुद्धाका कारण लामो समय काम समेत गर्न नपाएको गुनासो पोखे । अहिले अख्तियारले मौखिक रुपमा काम गर्न भनेको प्याकुरेलको भनाई छ । उनले पार्कको हस्तान्तरण र हिसाव बारे आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : श्रावण १३, २०८० शनिबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]