जेष्ठ २, २०८१ बुधबार

झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा थापा

मेचीनगर । आगामी चार वर्षको लागि प्रविन थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै झापा जिल्ला क्रिकेट संघको आठौँ साधारण सभा तथा जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । संघको उपाध्यक्षमा वीरु श्रेष्ठ, सचिवमा लाक्पा लामा, कोषाध्यक्ष चोलानाथ दाहाल सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा मनोज कट्वाल, हितेन्द्रमान मान श्रेष्ठ, सुरेश् गुरागाईँ, अमित श्रेष्ठ, विनित बास्तोला, कञ्चन उप्रेती, योगेन्द्र खड्का, जिवेश ओली, नारद नेपाल, तुलसी कार्की र हिमाल पोर्तेल विश्वकर्मा सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।

संघले क्रिकेट खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिममा सहभागी भएर विभिन्न रेकर्डहरु बनाउन सफल राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुविना क्षेत्रीसहित अन्य खेलाडी र दुईजना प्रशिक्षक गरी कुल १२ जनालाई सम्मान गरेको छ । काँकरभिट्टास्थित खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा भएको कार्यक्रममा प्रशिक्षकहरु लाक्पा लामा र वीरु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा खेलाडीहरु रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, संगीता राई, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल, ज्योति दर्नाल र रोमा थापालाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मानित सबैलाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले मेचीनगरमा आवश्यक खेल मैदानको अभाव रहेको बताउँदैं खेलकुलक्षेत्रलाई कसैले राजनीतिक आखाँले हेर्न नहुने स्पष्ट पारे । मेचीनगर खेल क्षेत्रको उर्वरभूमि भएको र यहाँको खेलकुदक्षेत्रको विकास प्रवद्र्घनमा आफ्नो पुरै सहयोग रहने प्रतिवद्घता व्यक्त गरे । उनले खेल क्षेत्रमा अझ लगानीको खाँचो रहेको ,‘मेचीनगरमा खेल मैदान पर्याप्त नभएको नामाकरण विवादले रकम फ्रिज भएर जाने गरेको बताए । प्रदेशसभा सदस्य भएको नाताले खेलकुद क्षेत्रभित्रका समस्या निरुपण गर्न आफू लागिपर्ने समेत उनले बताएका थिए ।

खेल क्षेत्रलाई व्यवस्थित गर्नका लागि रंगशाला निर्माण गर्ने कार्यको तयारी गर्ने र यसमा सवैको साथ सहयोगको अपेक्षा प्रदेशसभा सदस्य तामाङले गरेका छन् । देशको महत्वपूर्ण पहिचान खेलकुद भएकाले यसभित्र भएका समस्यालाई तत्काल समाधान गर्दै खेलकुद क्षेत्रको विकास खेलाडीहरुको सम्मान गर्नुपर्ने उनको भनाई थियो । प्रत्येक पालिकामा खेलकुद गतिविधि गर्नुपर्ने उल्लेख गर्दै खेलकुद गतिविधि गर्दा पालिकाहरु पनि चलायमान हुने उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरको खेल र खेलाडीको विकासका लागि स्थानीय सरकारले बजेट विनियोजन गरेको बताइन् । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले खेलकुदभित्र भएका समस्यालाई तत्काल समाधान गरी यसको उन्नति प्रगितमा स्थानीय सकार लाग्ने उपप्रमुख उप्रेतीको भनाई थियो । उनले महिला सशक्तीकरणका लागि खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेश श्रेष्ठ, मेची उद्योग वाणिज्य संघ मेचीनगर अध्यक्ष खेमराज प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।

संघका अध्यक्ष प्रविन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव लाक्पा तामाङले गरेका थिए भने पूर्व जिल्ला सदस्य तुलसी कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : श्रावण २४, २०८० बुधबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]