जेष्ठ ६, २०८१ आईतबार

भदौ १ र २ झापाभरी रास्वपाले जनसभा गर्दै

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र केही केन्द्रीय नेताहरु झापाका विभिन्न स्थानमा हुन लागिरहेको कार्यक्रमका निम्ति झापा आउने भएका छन् ।

जिल्लाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सभापति लामिछाने सहितको केन्द्रीय नेताहरु झापा आउने भएको धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गर्दै रास्वपा झापाले जानकारी दिइएको हो ।

सभापति लामिछाने लगायतका नेताहरु भदौ १ र २ गते झापामा सक्रिय भएर जनसभामा उपस्थित हुने भएका छन् । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्र र प्रायः सबै प्रदेश क्षेत्रमा रास्वपाले दुई दिने जनसभा कार्यक्रम तय गरेको छ ।

सभापति लामिछानेको नेतृत्वमा महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक तथा प्रतिनिधि सभा सदस्य निशा डाँगी, अशोक चौधरी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायतका नेताहरु जिल्लाको विभिन्न स्थानमा जाने र जनसभालाई संबोधन गर्ने कार्यक्रम रहेको जिल्ला सभापति उमेश खरेलले बताए ।

उनले दुई दिनमा करिब ८ वटा कार्यक्रममा सहभागी हुने तय भएको जानकारी दिए । ‘सभापति दुई दिनसम्म बिहानदेखि बेलुकासम्म नै खटिनु हुनेछ,’ उनले भने, ‘माईपूर्व र माईपश्चिम गरी दुईवटा खुल्ला सभासँगै कचनकवलको बनियानी, झापा बजार, बाहुण्डाँगी, बुद्धशान्ति, हल्दिबारीको गोलधाप, शिवगञ्ज जस्ता ग्रामीण ठाउँमा पनि जाने कार्यक्रम रहेको छ ।’

साउन ३२ गते इलामको सूर्योदय नगरपालिकाको खुल्ला सभालाई सम्बोधन गरिसकेपछि लामिछाने झापा आउने छन् । त्यसको भोलिपल्ट भदौ १ गते बिहान बुद्धशान्तिको वडा नं ४ मा रहेको सुकुम्बासी बस्ती जाने, त्यसपछि बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन खुल्ला सभा बिर्तामोडको सिटी सेन्टर र दमकको गोर्खा डिपार्टमेन्टको अगाडि राखिएको छ । सोही दिन झापाका उद्योगी, व्यवसायी, बौद्धिक तथा शैक्षिक व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भदौ २ गते जिल्लाका विभिन्न ठाउँहरुमा क्षेत्रीय भेला राखिएको छ । १ नम्बर क्षेत्रको क्षेत्रीय भेला मेचीनगरको इटाभट्टा, ३ नं क्षेत्रको बनियानी, ३ नं कै गोलधाप, ४ नं को झापा गाउँपालिकाको झापा बजार, ४ नं कै शिवगञ्ज बजार, ५ नं को गौरादहमा क्षेत्रीय भेला राखिएको छ । सोही दिन लामिछानेले सुरुंगाका सन्थाल परिवारसँग भेट्ने कार्यक्रम पनि रहेको जिल्ला सभापति खरेलले बताए ।

रास्वपाले झापाको १५ वटै पालिकामा संगठन विस्तार गरिसकेको छ । गौरीगञ्ज गाउँपालिकामा बुधवार ९आज० समिति गठन भएको खरेलले जानकारी दिए । झापा जिल्लामा करिव ५० हजारलाई सदस्य बनाउने गरी अभियान सञ्चालन भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा रास्वपाका कोशी प्रदेश इन्चार्ज ओम भण्डारीले अब वडा वडामा संगठन विस्तार गरेर मिसन ८४ को लक्ष्यमा पुग्ने दाबी गरे । रास्वपाले मिसन ८४ मा बहुमत ल्याएर एक नम्बर पार्टी बनाउने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा मेचीनगर नगर सभापति कमल गौतमले मेचीनगरको इटाभट्टामा हुने सभालाई व्यवस्थित रुपमा आयोजना गरिने बताए । पत्रकार सम्मेलनमा प्रदेश समिति सदस्य, जिल्ला, नगर तथा वडाका पदाधिकारी सहभागी थिए । कार्यक्रमको सञ्चालन दिपक भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]