बैशाख १५, २०८१ शनिबार

गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

काठमाडौँ, २ भदौ : नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौँदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आज पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच स्व गिरीको अस्तु हस्तान्तरण गरेरे बिदाइ गर्नुभयो ।

गिरिको स्मृति दिवसका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गर्नुभएको योगदानका बारेमा उहाँलाई स्मरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले “स्व गिरि एक अदभूत व्यक्तित्व हुनुहुन्थ्यो, जसको अहिले व्याख्या विश्लेषण गरेर अधुरो हुन्छ”, भन्नुभयो ।

स्व गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरुको राजनीतिक गुरुसमेत हुनुभएको नेता निधिले व्याख्या गर्नुभयो । “प्रदीप गिरि, अदभुद व्यक्ति हुनुहुन्थ्यो । विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिष्ट पार्टीका प्रेरणा मात्रै हैन आम बुद्धिजीवी, वर्ग समुदायका साथै उहाँ त्योभन्दा माथि एक अदभुद व्यक्ति हुनुहुन्थ्यो”, नेता निधिले भन्नुभयो ।

नेता निधिको विचारमा स्व गिरि स्वतन्त्रताप्रेमी ‘व्यक्तिगत जीवनमा अव्यवस्थित तर विचारमा अत्यन्तै सङ्गठित’ हुनुहुन्थ्यो । कांग्रेस नेता निधिले तत्कालीन समयमा गिरिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जनाएर माहोल बनाउन भूमिका खेलेको स्मरण गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले स्व गिरि नेपालको मौलिक परिवेसको समाजवादको भगिरथ प्रयासरत रहनुभएको उल्लेख गर्दै उहाँको अधुरो सपनालाई साकार पार्न अहिलेको युवापुस्ताले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले आधुनिक राजनीतिमा युवापुस्तालाई विचारसँग जोड्न र सक्षम बनाउन गिरिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । मुलुकको राजनीति ठिक ढङ्गले अघि नबढ्दासम्म देशको विकास र समृद्धिले फड्को मार्न नसक्ने उहाँको तर्क थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले गिरिको बौद्धिक, राजनीतिक र सामाजिक व्यक्तिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, साहित्यकार धीरेन्द्र प्रेमर्शीलगायत गिरिका अनुयायीको उपस्थिति थियो । प्रदीप गिरि पावन स्मृति आयोजक समितिका अध्यक्ष रामपल्टन साहले स्व गिरीको विचार, आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै देशमा मात्रै नभएर भारत वर्षको सेतुबाँधका रुपमा प्रचारप्रसार गरिनुपर्नेमा जोड दिनुभयो ।

स्व गिरिको अस्तु विसर्जन यात्रा आज काठमाडौँबाट हेटौँडासम्मको हुनेछ । आइतबार वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि अर्पणसँगै भारतको बनारसका लागि यात्रा अघि बढ्नेछ । राति बनारस पुगेर गङ्गा नदीको मणिकर्निका घाटमा विधिअनुसार स्व गिरिको अस्तु विसर्जन गरिनेछ । भदौ ४ गते बनारस विश्वविद्यालयमा भारतीय नेताको उपस्थितिमा प्रदीप गिरिको स्मृति कार्यक्रम गरिने बताइएको छ । सोही दिन साँझ प्रार्थनासभा आयोजना हुनेछ । यात्रा टोली भदौ ५ गते काठमाडौँ फर्कने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

पशुपतिनाथ–काशी यात्राको संयोजन गर्नुभएका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले प्रदीप गिरिका मित्रसँगको अन्तक्र्रिया उहाँ बसेका विभिन्न ठाउँको भ्रमण गरी उहाँको प्रचारप्रसार गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । विसं २००४ असोज २४ गते जन्मनुभएका गिरिको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद् निधन भएको थियो । विसं २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीतिक रुपमा बढाउनुभएका नेता गिरिले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गर्नुभएको थियो । निष्ठाप्रति अटल, सादगी जीवन र प्रष्ट दृष्टिकोणका धनी नेता गिरिले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । रासस

प्रकाशित मिति : भाद्र २, २०८० शनिबार  २ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]