बैशाख २३, २०८१ आईतबार

ग्लोवल ओरियन्सले देखाउने सपना र यथार्थ

प्रदीप परियार

झापासहित देशको विभिन्न भागमा शाखा विस्तार गरेर कारोवार गरिरहेको ग्लोवल ओरियन्स नेपालको इटहरी स्थित कार्यलयमा उपमहानगरले तालावन्दी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताका अनुसार ताला अझै खुलेको छैन । त्यसबाट ठगिएका युवाहरुको उजुरीका आधारमा उपमहानगरले तालावन्दी गरेको हो । युवाहरु ठगिएको धेरै श्रृङखलाहरु छन् । तर, सबै ठाउँमा स्थानीय सरकारले यस किसिमको एक्सन लिन सकिरहेको थिएन । इटहरी उपमहानगरपालिकालाई सर्वप्रथम धन्यवाद व्यक्त गर्छु । कुनै पनि कम्पनीलाई कानुन, नियमभन्दा बाहिर कामकाज गर्ने अधिकार छैन । नत, ठग्न नै छुट छ । कुनै पनि कम्पनीलाई कानुनको परिधिले बाँधेकै हुन्छ । कानुनभन्दा बाहिर जानेहरुलाई कानुनी दायरामा ल्याउनैपर्छ ।

पछिलो समय सबैको चासोको विषय बनेको छ, ग्लोवल ओरियन्स । भारतमा ओरिन्स । नेपालमा ग्लावल ओरियन्स । बिर्तामोडमा ग्लोवल ओरियन्सको ब्राण्डमा विभिन्न नामका बोर्ड राखेर केहि व्यक्तिहरुले कारोवार र कक्षा सञ्चालन गरिरहेको भेटियो । अहिले पनि भित्रीभागहरुमा कक्षा सञ्चालन गरिरहेको सुन्न पाइन्छ ।

फुड सम्लिमेन्ट र कस्मेटिक्स आइटमको प्रत्यक्ष विक्रीका लागि अनुमति पाएको ग्लोवल ओरियन्सले गरिरहेका धेरै जसो गतिविधि अपाच्य छ । जसलाई सच्याउनुको विकल्प छैन । एक वेला भारतमा चर्चामा रहेको यही प्रकृतिको कम्पनी ओरियन्सले हजारौं नेपालीहरुलाई आर्थिक रुपमा नमज्जाले डुवायो । त्यसबेला नेपालीहरु ‘चोक्टा खान जाँदा झोलमा डुवेर मरेको’ किस्सा गर्थे । ति समाचारहरु खोजी गर्दा अहिले पनि अनलाइन मिडियाहरुमा प्रशस्त पाइन्छ ।
नेपालमा त्यसबेला ओरियन्स वैधानिक थिएन । त्यसपछि नाम परिवर्तन गरेर ग्लोबल ओरियन्सका नाममा नेपालमा दर्ता भएको पाइन्छ । अहिले ग्लोवल ओरियन्सले नेपालमा डाइरेक्ट सेलिङको अनुमति पाएको छ । डाइरेक्ट सेलिङको लागि अनुमति पाएको ग्लोवल ओरियन्सभित्र अनेकौं विकृतिहरु मौलाइरहेका छन् । जसको समाधान हुनुपर्छ । यदि समाधान नहुने हो भने भारतमा नेपालीहरु जसरी डुवेका थिए । नेपालीहरु नेपालमा त्यसैगरी डुब्ने छन्, फस्नेछन् । बेलैमा यसका माथिल्लो तहका नेतृत्वले कमजोरी र वेथिती सच्याउनुपर्छ ।

नेपालमै केहि गरौं, युवाहरुलाई यतै रोजगार दिऔं भन्नेमा कसैको विमति छैन । ग्लोवल ओरियन्स सञ्चालनमा आएकै कारण नेपालमा वैदेशिक रोजगारीमा जानेहरु घटेका पनि छैनन् । नत, देशमा वेरोजगारकै संख्या घटेको छ । गाउँमा मजदुरी गरिरहेका, अध्ययन गरिरहेका युवा विद्याथीहरु ग्लोवल ओरियन्सको टार्गेटमा छन् ।

ओरियन्स भन्नासाथ भारतको कम्पनी भन्ने बुझाई हुन्छ । र, त्यो अहिले पनि ‘ठग’ संस्थाको रुपमा बुझिन्छ । सायद, नेपालीहरु भारतमा धेरै ठगिएका कारणले होला । त्यसैले होला नेपालमा कतिपय ठाउँमा ओरियन्सको कारोवार गरे पनि अर्कै नाम राखेको पाइन्छ । बिर्तामोडको कञ्चनजंगा अस्पताल पश्चिम दक्षिणमा खुलेको ग्लोवल चलाउनेहरुले अर्कै नामको बोर्ड राखेका थिए । जब भारतमा ओरियन्सले हजारौं नेपालीहरुलाई ठग्यो त्यहाँदेखि यसको पहिचान सुध्रिएको छैन । तथापि, सुधार गर्न चाहेमा कम्पनीले सुधार गर्न सक्नेछ ।

झापासहित पूर्व पहाडमा समेत विस्तार भइरहेको ग्लोवल ओरियन्स नामक कम्पनीले सयौं युवाहरुलाई मिठो सपना बाँढेको छ । सपना बाँढ्नु राम्रो कुरा हो । तर, सपना बाँढ्ने नाममा कोहि कसैलाई ठगि गर्न पाइदैन । यसमा लागेर सबै ठगिएका छन् भन्ने पनि होइन । कतिले राम्रै पैसा कमाएका छन् । तर, यसमा आवद्ध हुनेले आश्वासन बमोजिमको कमाई गर्न सक्दैनन् । न्यून संख्यामा कमाउनेहरु छन् । ग्लोवल ओरियन्सले बाँढेको सपना पुरा हुन सक्दैन, किनभने यो विशुद्ध व्यापार हो । जसको लगानी छ, उसले जसरी पनि कमाउछ । बाँकीले व्यापार गरिदिने मात्रै हो । लगानी डुवाउने मात्रै हो ।

ग्लोवल ओरियन्सका बारेमा झापाको बिर्तामोडसहित विभिन्न जिल्लाका मिडियामा यसका वेथितिका मारेमा समाचारहरु सार्वजनिक गरे । ओरियन्सले नेटवर्किङ गरेको विषय बाहिर आएपछि धेरै सचेत समेत भएका छन् । तर, अझै पनि ओरियन्सले युवाहरुलाई प्रयोग गर्न छोडेको छैन । विभिन्न आश्वासन बाँढेर, घर, गाडी र सुन लगायतको प्रलोभनमा पारिएको छ । यसरी ओरियन्सको प्रलोभनमा परेर धेरै युवाहरुले समय र पैसाको बर्बादी गरिरहेका छन् ।
पारिवारिक रुपमा विपन्न, बेराजगार युवाहरुलाई रोजगार दिने नाममा लाखौं लाख पैसा उठाएर आफ्नो उत्पादनको विक्रि गर्ने ओरियन्सको आइडियालाई युवाहरुले एकोहोरो मात्रै बुझेका छन् । उनीहरुलाई कम्पनीले त्यहाँ ब्रेन वास गरेपछि रातारात करोडपति भएको सपना देख्ने बनाउँछ । हप्तामै, महिनामै हजारौं, लाखौं रुपैयाँ आम्दानी हुन्छ भनिदिनेहरुको अवस्था कस्तो छ, हेरौं । पटक–पटक ओरियन्समै लागेर दुवई टुर गएर आएको, गाडी पाएको, घर पाएको भन्नेहरुसँग नयाँ युवाहरुले प्रमाण माग्नुपर्छ । भित्तामा एउटा जहाज उडदै गरेको फोटो टाँसेरको व्यानरको भरमा विश्वास नगरौं ।

ग्लोवल ओरियन्सले भारतीय कम्पनीकै मालसामान बेच्ने हो । कतिपय मालसामानहरु नेपालमा प्याकेजिङ गर्ने गरेको पनि सुन्न पाइन्छ । नेपालमा उत्पादन गरेको दावी पनि छ । यसैले ओरियन्स नेपाल सरकार अन्तर्गतको निकायबाट प्रत्यक्ष विक्रिका लागि पाएको अनुमतिलाई दुरुपयोग गरेर नेटवर्किङ समेत गर्दै आएको छ । एक जना सदस्यले कम्तिमा तीन जलाई जोड्नै पर्ने, ती तीन जनाले पनि ३-३ जना थप गर्दै जानुपर्ने सिस्टम भनेकै नेटवर्किङ हो । नेपालमा नेटवर्किङ व्यवसाय वैधानिक छैन ।

नयाँ कलियो युवालाई भरपुर सपना बाँढेपछि थोरबहुत प्रभावित हुने कुरा भइहाल्यो । यसमा पहिलो चरणमा केहि रकम तिरेर सामान खरिद गर्नैपर्छ । आफु सदस्य भइसकेपछि ४० हजारवाला सदस्य बनाउन सक्दा बनाउनेले ३०० (पिभी) पोइन्ट भ्यालु अर्थात ९६० रुपैयाँ कमाउने छन् भने १ लाख २०-३० हजारवाला सदस्य बनाउदा १००० (पिभी) पोइन्ट भ्यालु अर्थात २१६० रुपैयाँ कमाई हुनेछ । एक बेला बिर्तामोडमा यसै प्रकारको नियम थियो । ओरियन्सका कतिपय पीडितहरुले दिएको जानकारी अनुसार मान्छेलाई कन्भिन्स गरेर एक, डेढ लाख तिराउन मुस्किल पर्छ । आफ्नो लगानी समेत उठाउन फलामको चिउरा चपाए बराबर हुन्छ ।

प्रत्यक्ष विक्रिका लागि अनुमति पाएको ग्लोवलले नियम बमोजिम व्यापार गर्न सक्छ । तर, कोहि कसैलाई हद् सपना देखाएर भुल्याउन पाउदैन । ग्लोवलको बारेमा कुनै कुरा बोल्यो वा लेख्यो भने यसबाट कमाई खाइरहेका भन्छन्, आफ्नै देशमा गरि खाँदा विरोध हुन्छ । मान्छे गलत भए पनि कम्पनी खराव छैन । हो, देशमै कहि गर्नुपर्छ । राम्रो गर्नुपर्छ । कसैलाई ठग्नु हुदैन । कसैलाई पनि ठुलो सपना देखाएर खर्च गराउनु हुदैन । ओरियन्सका उत्पादन ठिक छ भने खोजी खोजी खरिद विक्री गर्न संभव छ । तर, घर गाडिको सपना देखाएर गरिने प्रलोभनको व्यापारले केहि व्यक्तिलाई मोटो बनाउला । तर, सबैलाई आर्थिक रुपमा सुकाउनेछ ।

ओरियन्समा लागेर दुख पाएका कथाहरु धेरै लामो छ । उनीहरुको पैसा फिर्ता हुन सकेको छैन । ओरियन्समा लागेकाहरुको पैसा डुव्यो भने आफ्नैले आफन्तलाई समेत झुटो सपना बाँढेर उकास्ने गरेका कयौं उदाहरण छन् । बिर्तामोडमा अहिले केहि युवाहरु डायरी बोकेर हिडिरहेको देखिन्छन् । मनमा धेरै पोलेको छ, उनीहरुलाई । तर, बाहिर प्रकट गर्न सक्दैनन्, किनभने बोल्न बन्देज छ । उनीहरुलाई लगानी उठाएर विदा हुनुछ । यसैले ओरियन्सले देखाउने सपनाको यथार्थ विपनामा फरक छ । सामान किनबेच, ठिक छ । तर, नेटवर्किङ विल्कुल गलत छ । यदि कसैले अर्को व्यक्तिलाई सदस्य बनाउ अर्थात, सामान विक्री गर फाइदा हुन्छ भने त्यो बेठिक छ ।

अब, कम्पनीमा सामान खरिद गर्दा पैसा बराबरको सामान अनिवार्य रुपमा लिऊ । रकम बराबरको विल समेत अनिवार्य खोजौं । ४० हजार रकम लिएर १० हजारको सामान दिएमा प्रहरीलाई खवर गरौं । विल नदिएमा राजश्व कार्यालयलाई जानकारी दिऊ । सबै प्रलोभनलाई सुनेर स्वविवेक अनुसार काम गरौं । एकै पटक ठुलो लगानी गरेर रातारात घर गाडीको सपना नदेखौं ।

अन्त्यमा, अब अभिभावकहरुले पनि ग्लोवलमा लागेका आफ्ना छोराछोरीका बारेमा बुझौं । के कसरी बसिरहेका छन् ? कमाई कस्तो छ ? कमाएर घरमा कति पठाइरहेका छन् ? कमाउन के गर्नुपर्ने रहेछ ? झापामा एक जना चिया पसले दिदीले छोरा ओरियन्समा लागेको अलि पछि मात्रै थाहा पाइन । टाठो छोरालाई ओरियन्सवालाहरुले प्रभावित बनाइसकेका थिए । पछि, ओरियन्सकै धन्दा गर्ने एक अगुवाले चियावाली दिदीलाई घर मै पुगेर भनेछन्, अब चिया बेच्ने दिन गयो । ठुलो विल्डिङ र छोराले गाडी पाउदैछन् । चिया बेच्नुपदैन । अब, तपाईको दुखका नि गए भने । त्यसको ६ महिनामा छोरा साथीभाईको पैसा फिर्ता गराएर , आफ्नो पनि केहि रकम फिर्ता लिएर घर फर्किएको किस्सा रमाइलो थियो ।

विभिन्न मिडियामा आएका सम्बन्धित समाचारहरु click गर्नुहोस् :

नेटवर्किङ आरोपमा तीन कम्पनीमा इटहरी उपमहानगरले लगायो ताला 

नेटवर्किङ आरोपमा तीन कम्पनीमा इटहरी उपमहानगरले लगायो ताला

ग्लोबल ओरियन्सको अवैध धन्दा – टीकापुरका युवाबाट करोडौँ रुपैयाँ ठगी 

‘रोजगार’ दिने नाममा ग्लोबल ओरियन्सद्वारा लाखौँ रुपैयाँ असुल

ग्लोबल ओरियन्स नेटवर्किङले टीकापुरमा युवाबाट करोडौँ रुपैयाँ उठायो

पोखरामा फेरि ठगिए सयौं युवायुवती, ‘ग्लोबल ओरियन्स’ को नेटवर्किङ जालोले डुबायो

ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीको छापा, लाखौँको अवैध सामान बरामद

पोखरामा ग्लोबल ओरियन्स कम्पनीको नाममा पैसा उठाएर सञ्चालक फरार 

 

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]