बैशाख २१, २०८१ शुक्रबार

झापामा प्लाइउडको अभाव, महंगोमा भारत निर्यात

प्रदीप परियार

बिर्तामोड । झापाको बजारमा प्लाईउड अभाव भएको व्यापारीहरुले बताएका छन् । उधोगहरुले स्थानीय बजारभन्दा भारततिर निर्यातलाई प्राथमिकता दिएपछि स्थानीय बजारमा अभाव भएको हो ।

विगत ६ महिनादेखि झापाका प्लाइउड उधोगहरुले धमाधम भारत निर्यात गर्दै आएका छन् । त्यसअघि पनि निर्यात हुन्थ्यो, एक उधोगीले भने – तर, अहिले प्लाइको मुख्य बजार भारत नै भएको छ । जिल्लाका एक दर्जनभन्दा बढि उधोगहरुले प्लाई उत्पादन गर्दै आएका छन् । उनीहरुले स्थानीय बजारमा भन्दा भारतमा राम्रो मुल्य पाएपछि उतै निर्यात गर्न थालेका हुन् ।

भारतमा निर्यातलाई प्राथमिकता दिएका उधोगहरुले अग्रिम पैसा भुक्तानी गर्दा पनि स्थानीय व्यापारीलाई कम प्राथमिकता दिएको व्यवसायीहरुको गुनासो छ । भारतमा निर्यात गर्न थालेपछि उधोगीहरुले स्थानीय व्यापारीहरुको मतलव गर्न छोडेको आरोप छ । भारत निर्यात गर्दा भ्याट तिर्नु नपर्ने, भाडाको शुल्क बुझाउनु नपर्ने र हाताहाती महंगो मुल्यमा विक्री गर्न पाउँदा व्यापारीहरु स्थानीय बजारलाई वेवास्था गरिरहेको बुझिएको छ । तर, पूर्वाञ्चल प्लाइउड संघका महासचिव दुर्गा भण्डारीले व्यवसायीहरुको गुनासो शतप्रतिशत सत्य नभएको बताएका छन् । उनले विगतमा जस्तो सहज नभएको स्वीकार्दै स्थानीय व्यवसायीलाई वेवास्था नगरेको स्पष्ट पारे । यहाँ सस्तो चाहिन्छ, पैसा ढिलो हुन्छ – भण्डारीले भने, उत्पादन खर्च समेत उठाउन मुस्किल परेपछि भारततिर विक्री बढाइएको हो । स्थानीय व्यवसायीहरुलाई पनि प्लाई उपलब्ध गराइरहेको उनको भनाई छ ।

गोलियाको दाम बढेर गएपछि मुल्य वृद्धि भएको बताउँदै भण्डारीले भारतमा नेपाली बजारमा भन्दा राम्रो मुल्य पाइने जानकारी दिए । उनले नेपाली बजारमा भारत जस्तै मुल्य पाइने भए यहाँकै बजारलाई प्राथमिकता दिने बताए । जिल्लाका सबै उधोगले भारत नपठाएको भन्दै उनले ६०-७० प्रतिशत उत्पादन भारत निर्यात भइरहेको जानकारी दिएका छन् ।

भ्याट नलाग्ने र सरकारबाट उल्टै ४ प्रतिशत अनुदान पाइने भएपछि प्लाई उधोगीले नेपाली बजारलाई कम प्राथमिकतमा दिएका छन् । भारतमा निर्यात नभए उधोग नै चलाउन नसकिने उधोगीहरुको तर्क छ ।
बिर्तामोडस्थित मनिष आइरनका सञ्चालक मनिष साहेवालाले प्लाई उधोगहरुले भारतमा निर्यातको लहर नै चलाइरहेको दावी गरेका छन् । भारतमा मुख्य प्राथमिकता दिएकै कारण स्थानीय व्यवसायीले पर्याप्त रुपमा उपलब्ध गराउन नसकेको बताए । ठुलो र लामो साइजको प्लाई भारतमा माग धेरै भएपछि उधोगीहरु उतै लागेको उनको बुझाई छ । उधोगीहरुले फाइदा मात्रै हेरेका कारण भारतीय बजार रोजाईमा परेको साहेवालाको भनाई छ । उनले स्थानीय व्यवसायीले अग्रिम पैसा भुक्तानी गर्दा पनि समयमा भनेजति प्लाई नपाएको बताए । पहिले सामानपछि पैसा दिँदा हुन्थ्यो, उनले भने – अहिले पहिले पैसा दिदाँ पनि सामान पाउन गाह्रो छ । उधोगीहरुले स्थानीय व्यवसायीलाई ६० देखि ७० प्रतिशत प्लाइ घटाएको जानकारी दिए ।

चारपानेस्थित गरिमा मल्टिप्रपोजका अध्यक्ष अर्जुन मैनालीले ६ महिनादेखि बजारमा प्लाईको कृतिम अभाव भइरहेको जानकारी दिए । सामान भारत पठाएर यहाँ कृतिम अभाव खडा गरेको मैनालीको आरोप छ । पहिले बाँकी दिन तयार उधोगीहरुले यतिवेला स्थानीय व्यापारीलाई अग्रिम पैसा बुझाउदा पनि माल दिन नसेकेको मैनालीले बताएका छन् । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव समेत रहेका मैनालीले उधोगीहरुले कृतिम अभाव देखाएर महंगोमा भारत निर्यात गर्दै आएको बताए । स्थानीय व्यवसायीले १५ देखि २० प्रतिशत उत्पादन मात्रै पाइरहेका छन्, बाँकी भारत निर्यात भइरहेको छ, उनले भने । स्थानीय बजार स्थायी र सुरक्षित हुँदाहुँदै भारत निर्यात गरेर व्यवसायीहरुलाई अप्ठ्यारो बनाउने काम भएको उनको भनाई छ ।

यस्तै, बिर्तामोडको विकाश हार्डवेयरका सञ्चालक विकास बस्नेतले बजारमा असहजता भएको स्वीकार गरेका छन् । उनले माग पनि कम भएको जानकारी दिए । निर्माण क्षेत्र सुस्त भएकाले माग पनि कम छ, बस्नेतले भने, विगतकै जस्तो माग हुने हो भने बजारमा हाहाकार हुने थियो । स्थानीय व्यापारीहरु पुराना पाटी हुन्, उनी भन्छन् – ‘हामी सामान लिएर पैसा दिन्थ्यौं, भारतीयले पहिले पैसा दिएर सामान लैजान्छन् । त्यसैले भारतमा निर्यात धेरै भइरहेको छ ।’

मेची भन्सारका अनुसार चालु आर्थिक वर्षको दुई महिना साउन, भदौंमा १७ लाख ७६ हजार ७६९ स्क्वायर फुट निर्यात भएको छ । उक्त परिमाणको प्लाई २ करोड ७६ लाख ४७ हजार १८९ रुपैयाँमा विक्री गरिएको भन्सारको विवरणमा उल्लेख छ । उधोगीहरुले भन्सारमा कम मुल्य कायम गरेर भारत निर्यात गर्दै आएको प्रमाण फेला परेको छ । स्थानीय बजारभन्दा झण्डै तेब्बर मुल्यमा भारतीय व्यापारीहरुलाई उधोगीहरुले प्लाई विक्रि गर्दै आएका छन् ।

प्रकाशित मिति : आश्विन ६, २०८० शनिबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]