बैशाख २५, २०८१ मंगलबार

विश्वकप क्रिकेट : इङ्ल्यान्डद्वारा बङ्गलादेश १३७ रनले पराजित

काठमाडौँ, २३ असोज : भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो ।

भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ६४ रन बनायो । तीन सय ६५ रनको विजय लक्ष्य पछाएको बङ्गलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा समेटियो ।

बङ्गलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यस्तै मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले । उनले ६४ बल खेल्दै चार चौकाको मद्दतमा ५१ रन बनाए । तोहिद हृदोयले ३९ रन बटुले ।

बलिङतर्फ इङ्ल्यान्डका रिस टप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क उड, आदिल रसिद, लियाम लिभिङस्टोन र साम करनले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा इङ्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए । उनले १०७ बल खेल्ने क्रममा १६ छक्का र पाँच चौका हाने । यस्तै जोए रुटले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन जोडे । उनले ६८ बलको सामना गर्दै एक छक्का र आठ चौका प्रहार गरे । जोनी ब्रेस्टोले ५२ रन बनाए । उनले ५९ बल खेल्दै आठ चौका हाने । कप्तान जस बट्लरले २० रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि मेहदी हसनले चार, सोरिफुल इस्लामले तीन तथा कप्तान सकिब अल हसन र तास्किन अहमदले एक एक विकेट लिए ।

जारी विश्वकपमा इङ्ल्यान्डको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो । बङ्गलादेशको पनि यो पहिलो हार हो । यसअघि बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]