बैशाख २२, २०८१ शनिबार

८१३ अस्थायी आवास निर्माण गरेर फर्किए एमालेका स्वयंसेवक

काठमाडौं – गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढी नेकपा एमालेको स्वयंसेवकको टीम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ।

जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णय अनुसार खटिएको दक्ष जनशक्ति सहितको टोलीले १५ दिनभन्दा बढी उद्वार तथा पुर्ननिर्माणको काम गरेको हो।

कार्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदार सहितको जिफण्टको टोलीले मङ्सिर १ गतेबाट र अन्य स्वयंसेवकले मङ्सिर ३ गतेबाट काम गरेका थिए।

कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमाल सहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । सो टोली उद्धारको काममा खटेको थियो ।

प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणको लागि भने पहिलो पटक कार्तिक ३० गते दक्ष जनशक्ति सहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट त्यस तर्फ लागेको थियो ।

सो टोलीले मङ्सिर १ गतेबाट काम सुरु गरेको थियो । त्यसपछि पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयबाट केन्द्रीय सदस्य एवम् विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मङ्सिर ३ गते देशभरबाट एक हजार स्वयंसेवकको टिम प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटेको थियो ।

प्रभावित क्षेत्रमा एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक प्रभावित दुई जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुमपश्चिम काम गरेका थिए ।

सो अवधिमा एमालेका स्वयंसेवकले ५ सय ३ वटा भग्नावशेष व्यवस्थापन गरेका स्वयंसेवक टिमका नेतृत्व गर्नुभएका एमाले नेता किरण पौडेलले जानकारी दिनुभयो ।

‘भूकम्पले धराप बनाएका घरहरूबाट जोखिम मोलेरै भए पनि जनताका सर सम्पत्ति सुरक्षित बाहिर निकालिदियौँ, पूर्ण रूपले क्षति भएका घरभित्र पुरिएका सामान उत्खनन गरेर सम्बन्धित परिवारलाई बुझायौँ’, पौडेलले भन्नुभयो ।

सो क्रममा ८ सय १३ अस्थायी आवास निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो । सो कार्यबाट गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, तथा आर्थिक रूपले विपन्न परिवारलाई राहत पुगेको उहाँले बताउनुभयो ।

एमालेको स्वयंसेवक टोलीले १६ वटा अस्थायी विद्यालय समेत बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले घर भत्किएर ठप्प भएका ती विद्यालयमा अस्थायी कक्षा कोठामा पठनपाठन सुरु भएको छ ।

स्वयंसेवक टोली फर्किए पनि अस्थायी आवास निर्माणको अभियान नरोकिएको उहाँले जानकारी दिनुभयो । स्थानीय नेताहरूको नेतृत्वमा अभियानलाई निरन्तरता दिने गरी हस्तान्तरण गरिएको पनि उहाँले बताउनुभयो ।

आफूहरूले लगेका सामाग्रीहरू स्थानीय नेतृत्वलाईनै काम निरन्तरता दिने गरी हस्तान्तरण गरेर आएको स्वयंसेवामा बाग्मतीबाट एउटा टोलीको नेतृत्व गरेर फर्किएका राज मैनालीले जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नेपाल सरकारलाई सो क्षेत्रमा गर्नुपर्ने कामको बारेमा केही सुझाव समेत दिएको छ ।

व्यवस्थित शौचालयको अभावमा निकट भविष्यमा विभिन्न किसिमका महामारी फैलिन सक्ने जोखिम रहेको विभाग प्रमुख पौडेलले जानकारी दिनुभयो । नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको यसमा ध्यान जानुपर्ने उहाँको भनाई छ ।

हालसम्म पुनर्निर्माण कसरी सुरु हुन्छ र कसरी सम्पन्न हुन्छ भन्ने स्पष्ट खाका सरकारले तयार गर्न सकेको भन्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभएको छ ।

देशभित्र ७ हजारभन्दा बढी पूर्वाधार विकास सम्बन्धी दक्ष जनशक्ति भएकाले सरकारले उनीहरूको दक्षतालाई स्थानीय सरकार मार्फत प्रयोग गर्नुपर्ने एमालेले सुझाव दिएको छ ।

२०७२ को विनाशकारी भूकम्प पश्चात् मात्रै देशमा १ लाख भन्दा बढी दक्ष सिकर्मी डकर्मी उत्पादन भएका स्मरण गराउँदै पौडेलले उनीहरू मध्य के कति आवश्यक हुन् र कसरी पुनर्निर्माणमा प्रयोग गर्ने हो, सरकारले योजना बनाएर परिचालन गर्न सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]