बैशाख २३, २०८१ आईतबार

बाहुन्डाँगीमा चित्रकला प्रतियोगिता र प्रदर्शनी हुँदै

बिर्तामोड । झापाको मेचीनगर–४ बाहुन्डाँगीमा चित्रकला प्रदर्शनी हुने भएको छ । प्रतियोगितात्मक रुपमा आयोजना हुने प्रदर्शनीमा विद्यार्थीहरुको सहभागिता रहनेछ ।

चित्रकला सम्वन्धी गलत मानसिकता परिवर्तन गर्ने उदेश्यले झापाको बाहुनडाँगीमा ३ दिवसीय चित्रकला प्रदर्शनी तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको ए स्क्वायरका सञ्चालक अर्जुन बस्नेतले जानकारी दिए । पौष ६,७ र ८ गते बाहुनडाँगी सामुदायिक भवनमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

पहिलो दिन हात्ती र मानव बिचको द्वन्द्व विषयमा चित्रकला कार्यशाला, लाइभ मोडल स्केच कार्यक्रम हुने छ । सो कार्यक्रममा काँकडभिट्टा देही आर्ट, सानो युनिभर्स आर्ट र इस्ट होराइजन माविबाट ललितकलाका व्द्यिार्थीहरुले सहभागिता जनाउने छन् । गेस्ट आर्टिस्टको रुपमा सिलिगुडीबाट मिलन राई आउने छन् भने विभिन्न बिद्यालयबाट प्रदर्शनी भ्रमणका लागि बिद्यार्थीहरुले सहभागिता जनाउने बस्नेतले जानकारी दिए ।

दोस्रो दिन मेचीनगर १,२,३,४,५ र साविक बाहुनडाँगीका २९ वटा बिद्यालयहरुबीचमा चित्रकला प्रतियोगिता हुनेछ । त्यसको निर्णायकको भुमिकामा देही आर्टका सदस्य छितेन शेर्पा रहनेछन् ।

सोही दिन सिलिगुडीका कलाकार मिलन राईबाट एयर स्प्रे पेन्टिङ डेमोस्ट्रेट गर्ने र प्रतियोगितामा सहभागी विद्यार्थीलाई पुरस्कार बितरण कार्यक्रम राखिएको छ । अन्तिम दिन लाइभ पेन्टिङ, कलाका बारेमा छलफल र विचार आदानप्रदान गर्दै कार्यक्रमको समापन गरिने तयारी गरिएको छ ।

सो कार्यक्रमले स्थानीय कलाको पहिचान हुने र चित्रकलामा आकर्षित गर्ने विश्वास गरिएको छ । स्थानीय स्तरमा मायाको चिनोको रुपमा चित्रकलाका सामग्रीहरु नै प्रयोगमा जोड दिन पनि कार्यक्रमले मद्दत गर्ने आशा गरिएको छ । जन्मोत्सव, बिवाह लगायत सबैजसो कार्यक्रमहरुमा चित्रकला सामग्री उपहार दिने चलन बढाइनुपर्ने आर्टिष्टहरुको माग छ ।

सो वडामा रहेका विद्यार्थीले बनाउने चित्रकला सामग्री उपहारको रुपमा प्रयोग गर्न आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति : पुष ५, २०८० बिहीबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]