बिर्तामोडमा शिवको ‘उत्पत्ति’ बारे माताले बोली फेरिन्
बिर्तामोड । झापाको बिर्तामोड- १ मा शुक्रवार शिवको उत्पत्ति भएको बताउने मुना आचार्य ‘माता’ ले बोली फेरेकी छन् । उनले आज विहान केहि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिदैं शिव उत्पत्ति बारे आफु अन्यौलमा भएको बताएकी छन् ।
शुक्रवार शिवको उत्पत्ति भएको बताउने उनले एकै दिनमा बोली फेरेकी हुन् । हिजो विहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो लागेको थियो । आज पनि हेर्न जानेहरुको संख्या उल्लेख्य रहेको छ ।
स्थानीय ‘माता भनेर परिचित’ आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरुको घुँईचो लागेको हो । उनले भनिन् , म वास्तविकता बारे अन्यौल छु, कसैले राखेको हो कि जस्तो पनि लाग्दैन । उनीहरु राती माई खोला समेत गएको बुझिएको छ ।
शिव उत्पत्ति भएको विषयमा थोरैले मात्र विश्वास गरेका छन् । अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यसलाई माताले आफ्नो प्रचार गर्न फण्डा गरेको हुन सक्ने प्रतिक्रिया व्यक्त गरिरहेका छन् । शिवको उत्पत्ति भएको खवर सुनेपछि हिजैदेखि हेर्ने र पुजा गर्नेहरुको भीड लागेको छ । आज भने उक्त शिवको प्रतिमालाई छोपेर राखिएको छ ।
शिवरात्रीकै दिनमा उत्पत्ति भएको भन्दै धेरैले विश्वास गरेको प्रतिक्रिया दिए । आचार्यको घर नजिकै शुक्रवार विहान ३ः३० बजे विहान ठुलो आवाज आएको थियो । ठुलो आवाज आएको सुनेर आचार्यको परिवारसहित छिमेकीहरुले बाहिर हेर्दा शिवको प्रतिमा देखेका थिए । पहेलो रंङमा देखिएको उक्त प्रतिमाका सन्दर्भमा विभिन्न व्यक्तिहरुले आ–आफ्नै हिसावले टिकाटिप्पणी गरिरहेका छन् ।
माता आचार्यले हिजो तीन दिनअघि नै शिवको मुर्ती प्रकट हुने आफुले थाहा पाएको बताएकी थिइन् । उनले शिवको मुर्ती प्रकट भएको समयमा घरका सबै ढोकाहरु खुलेको, ढुङगा गिरी झरेजस्तो आवाज आएको सुनाइन् । मैले हरेक वर्ष केहि न केहि प्राप्त गरिरहेको छु, उनले भनिन् । यो वर्ष भगवान नै प्राप्त भयो । आफुलाई लोकको कल्याण गर्ने मौका मिलेको उनको प्रतिक्रिया थियो ।
कतिपयले माताले धर्मका नाममा भ्रम छरेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज समेत उठिरहेको छ । उनी केहि समय यता, विरामीहरुलाई निको बनाउने भन्दै माताको रुपमा आफुलाई प्रस्तुत गर्दै आएकी छन् ।