बैशाख २९, २०८१ शनिबार

बुढासुब्बा गोल्डकप : एनआरटी र मोरङ फुटबलबीच फाइनल हुने

धरान, २ चैत : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि भोलि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनिसकेको आयोजकले जनाएको छ ।

विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटी दोस्रोपटक उपाधि जित्ने दाउमा छ । यो सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राकेश लामाले जानकारी दिनुभयो ।

यता चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको मोरङ पनि उपाधि जित्ने दाउमा छ । ‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभवी र कडा प्रतिस्पर्धीको रूपमा लिएको बताउनुभयो । युवा खेलाडी आफूहरूको टिममा भएकाले उपाधि जित्न सक्ने उहाँको भनाइ छ ।

धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  ११ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]