जेष्ठ ५, २०८१ शनिबार

सफल बन्दैछ बिर्तामोडको लघुउद्यम विकास कार्यक्रम

बिर्तामोड सेरोफेरो

झापाको बिर्तामोड नगरपालिकाले सीप सिकाउदै व्यवसायी बनाउन हरेक वर्ष झै यो वर्ष पनि कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विगत वर्षहरुमा सीप विकास गरेर उद्यमी बनाएको पर्याप्त उदाहरणहरु पेश गर्न सफल बिर्तामोड नगरपालिकाको लघुउद्यम विकास शाखा चालु आर्थिक वर्ष २०८०-८१ मा पनि सक्रिय रुपमा उद्यमी बनाउन कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

बिर्तामोड नगरपालिका र संघीय ससर्त बजेटबाट सञ्चालन हुने कार्यक्रमको मुख्य उद्देश्य भनेको विपन्न वर्गलाई समूह–समूहमा राखेर सीप सिकाउने र उद्यमी बनाउने हो । गरिवीको रेखामुनी रहेको विपन्न वर्गलाई व्यवसायी बनाउने मुख्य लक्ष्य रहेको छ । यदि व्यवसायी बनाउन नसके स्वरोजगार बनाउने कार्यक्रमको योजना हो ।

बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा ८५ जनालाई सीप सिकाउने लक्ष्य राखेको वरिष्ठ उद्यम विकास सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बिर्तामोडको वडा नं। १, ३,४ र ७ का महिलाहरुलाई लक्षित गरेर सीप सिकाउने काम भइरहेको छ ।

बिर्तामोड नगरपालिकाले यहाँका महिलाहरुलाई गुडिया बनाउने तालिम दिइरहेको छ । वडा नं। १ मा २० दिनसम्म चल्ने तालिममा १३ जनाको सहभागिता छ । बिर्तामोड वडा नं।३ मा पनि २० दिने गुडिया बनाउने तालिममा ९ जनाले प्रशिक्षण लिइरहेका छन् । यस्तै, वडा नं।७ मा बाख्रा पालन सम्बन्धी तालिम पनि सञ्चालन भइरहेको छ । बाख्रा पालन तालिममा ९ जना किसानको सहभागिता रहेको तामाङले जानकारी दिनुभयो ।

बिर्तामोड ५ मा वडा नं। १ र ७ का युवा महिलाहरुको सहभागितामा ढाका बुन्ने तालिम चलिरहेको छ । ढाका बुन्ने तालिममा ७ जनाको सहभागिता छ । वडा नं। ५ मै सिलाई बुनाईको तालिम पनि चलिरहेको छ । सिलाई बुनाईमा ६ जनाले २ महिनाको प्रशिक्षण पाउने छन् । तालिमबाट आधारभूत सीप प्राप्त हुने छ । उक्त तालिम लिएर घरमै काम गर्न वा व्यवसाय नै सञ्चालन गर्न पनि सकिने छ । त्यसका लागि नगरपालिकाले लागत साझेदारीमा मेसिन समेत उलब्ध गराउने छ । त्यस्तै, बिर्तामोड नगरपालिकाले ढाका बुन्न सिकिरहेका प्रशिक्षार्थीहरुलाई पनि लागत साझेदारीमा ढाका बुन्ने तान उपलब्ध गराउने योजना बनाएको छ ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई नै प्रशिक्षक बनाएको छ । स्थानीय स्तरमा गुडिया बनाउन सिकाउने, व्यवसाय गर्ने व्यक्तिलाई नै प्रशिक्षक बनाइएको छ । बिर्तामोड १ मा सञ्चालनमा रहेको तालिममा मेनुका राईले प्रशिक्षण प्रदान गरिरहनु भएको छ । उहाँका अनुसार सीप सिकेर व्यवसाय सञ्चालन गर्न सकिन्छ । बजारमा गुडियाको राम्रो माग भएकाले सामान्य भन्दा सामान्य गुडिया बनाउदा पनि दैनिक १ हजार रुपैयाँ देखि २ हजारसम्म आम्दानी गर्न सकिन्छ । घरमा गृहिणीको जिम्मेवारीमा रहने महिलाहरुका लागि उपयुक्त काम नै गुडिया बनाउने भएको प्रशिक्षक मेनुका राईको भनाई छ ।

गुडिया बनाउन तालिम लिइरहनु भएकी प्रशिक्षार्थी भूमिका राईले आफूले चाहे जस्तो तालिम पाइरहेको बताउनुभयो । घरको सबै काम सकेर गर्न मिल्ने काम रहेछ, गुडिया बनाउने काम । घरमै बसेर पनि गर्न सकिने काम सिकाउन बिर्तामोड नगरपालिकाले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । महिलाहरुका लागि नगरपालिकाले घर छोडेर होइन, घरमै बसेर पनि सञ्चालन गर्न सकिने व्यवसायमा सहयोग पुग्ने तालिम प्रदान गरेर सहयोग गरेको उहाँको भनाई छ ।

महिलाहरुका लागि लघुउद्यम विकास शाखाले सीप सिकेर बजारमा भव्य व्यवसाय गरे पनि हुने, घरमै समयको सदुपयोग गर्दै घर खर्च धान्न घरैमा काम गरे पनि हुने गरिको सीप सिकाइरहेको छ । जस्तै, बिर्तामोड नगरपालिकाले ब्यूटीपार्लर सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । ब्यूटीपार्लर सिक्ने महिलालाई स्वदेश तथा विदेशमा धेरै अवसरहरु छन् । आफै ब्यूटी पार्लर खोलेर व्यवसाय गर्न सकिने । व्यवसाय नगरे अन्य ब्यूटी पार्लरमा काम गर्न सकिने । अथवा विदेश गएर पनि काम गर्न सकिने हुन्छ । नगरपालिकाले ब्यूटिसियनको सीप सिकाएका धेरै महिलाहरु रोजगारको शिलशिलामा देश बाहिर गएका छन् । जो, ब्यूटी पार्लरकै काम गरिरहेका छन् ।

उद्यम विकास अन्तर्गत महिलाहरुले अचार बनाउने सीप सिकेर उत्पादन नै गरिरहनु भएको छ । फोटो फ्रेमिङदेखि धुप बनाउने काम समेत नगरभित्र सिकाइएको छ ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]