जेष्ठ ५, २०८१ शनिबार

प्लाष्टिकजन्य फोहोरबाट उत्पादित ब्लकको माग बढ्दै, आगलागीको जोखिम शून्य

बिर्तामोड । झापाको कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले परीक्षणका लागि ब्लक उत्पादन गरिरहेको छ । गत सोमबारबाट सुरु गरिएको ब्लकको माग सुरु भइसकेको छ ।

फोहोरमैला व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको परियोजनामा प्लाष्टिकजन्य फोहोरबाट ब्लक उत्पादन थालिएको हो । प्लाष्टिकबाट ब्लक उत्पादन सुरु गरेसँगै देशका विभिन्न ठाउँबाट निजी प्रयोजनक तथा व्यापारीहरुले समेत माग गरिरहेको परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए ।

उनका अनुसार दैनिक १० देखि १५ जनाले ब्लक खरिदका लागि माग गर्न फोन सम्पर्क गरिरहनु भएको छ । हामीले विक्रीको लागि उत्पादन सुरु गरिसकेका छैनौं, अलीले भने – व्यवसायिक उत्पादन सुरु भएपछि मुल्य निर्धारण गर्ने सोच छ । परीक्षणकालिन उत्पादन भइरहेकोले अहिले विक्रिको लागि उत्पादन भइरहेको छैन । परीक्षणकाल सकेर कम्तिमा १० हजार स्टक गरेपछि विक्री प्रारम्भ गर्ने योजना छ, उनले थपे ।

परीक्षण उत्पादन सुरु गरेको भिडियो इजलासले सार्वजनिक गरेको थियो । इजलासमा भिडियो सार्वजनिक भएपछि धेरैले आगो लाग्छ कि लाग्दैन भन्ने जिज्ञासा समेत राखेका थिए । मेकानिकल इन्जिनियर अलीले ब्लकमा आगलागी नहुने जवाफ दिएका छन् । ब्लक सुरक्षित र बलियो हुने उनको भनाई छ ।

गत सोमवार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले ब्लक बनाउने मेसिनको उद्घाटन गरेका थिए । झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको उर्जा परियोजनामा संकलित फोहोरको वर्गीकरण गरेर प्लाष्टिकबाट ब्लक उत्पादन गरिने बताइएको छ ।

निजी तथा स्थानीय सरकारको लगानी रहेको परियोजनाले दैनिक २ हजार थान ब्लक उत्पादन गर्ने परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिएका छन् । पौने दुई करोड लागतमा जडान गरिएको ब्लक मेकिङ मेसिन २४ घण्टा सञ्चालन गर्न सकिने छ । त्यसका लागि १० जना जनशक्तिको आवश्यक पर्नेछ ।

भारतबाट ल्याइएको अटोमेटिक मेसिनले बालुवा र प्लाष्टिकको मिश्रण आफै मिलाउने छ । ७०-३०, ६०-४० मिश्रण हुने प्लाष्टिक र बालुवाबाट ब्लक तयार गरिने छ । पहिलो चरणमा प्लाष्टिकलाई टुक्राएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने ई. अलीले जानकारी दिए । लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने छ । ब्लकलाई विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने छ । ब्लकको भार क्षमता ८० टन रहेको ई. अलीले जानकारी दिए । मेन्टिनेन्स राम्रो भएमा ३० औं वर्षसम्म ब्लकले काम गर्नेछ ।

प्लाष्टिक र बालुवाबाट निर्मित ब्लकको मुल्य प्रति गोटा १२ रुपैयाँ पर्ने अनुमान गरिएको छ । सिमेन्टबाट निर्मित ब्लकको मुल्यभन्दा झण्डै आधा खर्चमा पाइने ब्लक सडक निर्माणदेखि घर कम्पाउण्डमा प्रयोग गर्न सकिन्छ ।

फुलफेजमा मेसिन चलाउन दैनिक ४ टन प्लाष्टिक चाहिने उर्जा परियोजनाले जनाएको छ । ४ टन प्याष्टिकबाट २ हजार ब्लक बनाउने सकिने बताइएको छ । अहिले नगरपालिकाहरुबाट पुरा फोहोर प्लान्टमा पुग्न सकिरहेको छ । सबै पालिकाले फोहोर पठाउन थालेपछि आवश्यक प्याष्टिकको व्यवस्था हुने उनको भनाई छ । अहिले दैनिक डेढ टन प्लाष्टिक संकलन भइरहेको बताइएको छ । ब्लक उत्पादन वृद्धि गर्नका लागि प्लाष्टिकको संकलन बढाउनुपर्नेछ ।

प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]