बैशाख २२, २०८१ शनिबार

व्यवसायिक तरकारी उत्पादनमा सफल बन्यो बिर्तामोड

राजेन्द्र कडरिया, कृषि शाखा प्रमुख

स्थानीय तहको पहिलो निर्वाचनपछि बिर्तामोड नगरपालिकाले विभिन्न क्षेत्रहरुमध्ये कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएको कृषि अधिकृत राजेन्द्र कडरियाले बताए । उनका अनुसार निर्वाचनपछि जनप्रतिनिधिहरुले कृषिलाई हेरेको सकारात्मक दृष्टिकै कारण बिर्तामोडले कृषि क्षेत्रमा प्रगति हासिल गरिरहेको छ ।

सुरुवाती चरण मै नगर क्षेत्रका कृषियोग्य जमिनमा अनिवार्य सिँचाई सुविधा पुर्याउने र पूर्वकै ठुलो बजार बिर्तामोडलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सँगै किसानलाई नियमित आइपर्ने प्राविधिक समस्याहरुमा सहजीकरण गरेर किसानका ससाना समस्याहरु तत्कालै समाधान गर्ने लक्ष्य थियो । बालीनालीमा रोग लाग्ने, औजारका समस्या र प्रविधिसँगै वीउका समस्याहरु भोगिरहेका किसानको समस्याहरु न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्दै आएको कडरियाको भनाई छ । जस अनुरुप लक्ष्य नजिक पनि पुगेको जानकारी दिए ।

यो ४-५ वर्षको दौरानमा सिँचाई पुर्याउने लक्ष्य अनुसार ८०७ वटा मोटर बोरिङको व्यवस्था गरिएको छ । त्यसले २५ सय हेक्टरमा सिँचाई सुविधा पुराएको छ । विभिन्न संघ संस्था र ज्ञान केन्द्र झापा समेतको सहयोगमा ७० प्रतिशत जमिनमा सिँचाईको सुविधा पुराइसकेका छौं । बिर्तामोडको कृषि क्षेत्रका लागि यसलाई ठुलो उपलब्धीका रुपमा लिइएको छ ।

सिँचाई सुविधाकै कारण किसानको बाली प्रक्रियामा नै ठुलो परिवर्तन आएको छ । पहिले धान मात्र लगाउने किसान आकासे पानीको भरमा गहुँ र मकै छर्ने गनुहुन्थ्यो । अहिले किसान तीन वटा बाली लगाइरहनु भएको छ । धान, आलु, मसुरो, गहुँ र मकै तीन सिजनमा उत्पादन भइरहेको छ । यसले बाली पद्धतिमा वृद्धि गरेको छ । सिँचाईका कारण तोरीको उत्पादन बढेको छ । तोरीको कारण मौरी र महको पनि उत्पादन भइरहेको छ । सिचाँईको प्रभाव यहाँसम्म छ, कडरिया भन्छन् ।

बिर्तामोडमा मेयर विषादी मुक्त कार्यक्रम सञ्चालनमा छ । व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानको प्रवद्र्धन गर्ने र विषादी न्यूनिकरण गर्दै उत्पादित कुषि वस्तु उपभोक्तासम्म पुराउने रणनीति अनुसार काम भएको थियो । कृषि शाखाका अनुसार अहिले ११७ वटा कृषि फर्म दर्ता भएका छन् । सबै फर्महरुले २-४ कठ्ठादेखी ६-७ विगासम्म तरकारी खेती लगाइरहेका छन् । त्यसरी व्यवसायिक रुपमा तरकारी उत्पादनमा लागेका किसानलाई आवश्यक तालिमहरु उपलब्ध गराइएको छ । प्राविधिक तालिमदेखि किसानलाई चाहिने औजार उपकरण, मल, वीउ उपलब्ध गराइरहेको अवस्था छ । तरकारी खेतीमा आकर्षित गर्न किसानहरुका लागि नगरपालिकाले पर्याप्त काम गरेको छ ।

आगमी दिनमा पनि गर्दै जाने छ । उनले भने–परिस्थिति यस्थो बन्यो कि अब नगरपालिकाले नहेरे पनि उहाँहरु व्यवसायिक तरकारी खेती गर्न सक्षम बन्नु भएको छ । आम्दानी लिन बानी परिसक्नु भएकोले तरकारी उत्पादन र व्यवसाय छोड्न सक्नुहुन्न ।

अहिलेसम्मको अर्को उपलब्धी भनेको तरकारी उत्पादनको एउटा चरण पुरा भएको छ । अब, उत्पादित तरकारीको बजारिकरण गर्न लागेको छोंै । यो वर्ष, बजारिकरणको वर्ष भन्ने कार्यक्रम नै बनाएर काम गरिरहेको उनको भनाई छ । बजार प्रवद्र्धनका २० लाख बजेटको व्यवस्था गरेको छौं । चालु आर्थिक वर्षभित्र तरकारी संकलन केन्द्र र विक्री केन्द्रका लागि काम सम्पन्न गर्न लागिपरेको कृषि शाखाले विचौलिया रहित कृषि क्षेत्रको परिकल्पना गरेको छ ।

संकलन केन्द्र र विक्री केन्द्रको सञ्चालनसँगै किसानले उचित मुल्यमा आफ्नो उत्पादन उपभोक्तासम्म पुराउन सक्नेछन् । बिर्तामोडका किसानले उत्पादन गरेको तरकारी विषादि रहित हुनेछ । किनभने, नगरपालिकाले यहाँ उत्पादित कृषि उत्पादनको विषादि परीक्षण गरेर मात्रै बजारमा पठाउने छ । १५ प्रतिशत विषादी मात्रा भएको तरकारी मात्रै बजारमा विक्री गर्न दिइनेछ । अहिले कृषि बजारमा रहेको विषादी परीक्षणमा ३५ प्रतिशतसम्मलाई उपभोग योग्य भनिएको छ ।

बिर्तामोड धानको वीउमा आत्मनिर्भर भइसकेको छ भने आलुको वीउ उत्पादनलाई प्राथमिकता दिएका छौं । सहज नेपाल, बिर्तामोड नगरपालिका र किसानको समेत लगानीमा ७० टन क्षमताको कोल्ड सेन्टर निर्माण गरिएको छ । वडा नं. ७ मा निर्माण गरिएको कोल्ड सेन्टरमा विद्युत जडानको काम बाँकी छ । केही दिन मै विद्युत जडान गरेर कृषि उत्पादन र वीउको स्टोर गर्ने योजना रहेको छ ।

नगरपालिकाले आपतकालिन बाली संरक्षणमा धान र मकैको रोग निवारणमा समेत काम गरिरहेको छ । यो वर्ष ८ हजार किसानले उक्त सेवा पाएका छन् । ठुलै समस्या आएमा कृषि शाखाले किसानको बालीमै पुगेर रोग निवारण गर्छ । सामान्य भएमा किसानलाई नै सहजीकरण गरिदिन्छौं ।

किसानलाई तालिमदेखी उपकरण व्यवस्थापन र कौशी खेतीका लागि सहजीकरण गरिरहेको कृषि शाखाले किसानलाई संघ र प्रदेशका कार्यक्रमहरुमा समेत प्रतिष्पर्धा मार्फत सहयोग गरिरहेको छ ।

बिर्तामोडका किसानहरु नियमित धान उत्पादन गरिरहनु भएको छ । यहाँका किसान धान र तरकारी उत्पादनमा लाग्नु भएको छ । बजारको समस्या हुँदाहुँदै पनि किसानको आकर्षण तरकारी उत्पादनमा बढिरहेको छ । बजारको व्यवस्थापनमा लागिरहेको कृषि शाखाले आलु स्टोरको पनि परिकल्पना गरेको छ । आलु स्टोर गर्न सकियो भने किसानलाई धेरै नै राहत हुन्छ । त्यस्तै किसानहरु तोरी उत्पादनमा पनि सक्रिय हुनुभएको छ । विगतमा भन्दा अहिले तोरी बालीप्रति किसान आकर्षित भएको पाएका छौं, कडरियाले भने ।

सिचाँई सुविधा पाएपछि किसानले मकै र गुहँ बाली लगाउनु भएको छ । सिचाँईको प्रवन्ध नहुँदा समस्या थियो, अहिले किसानको जमिन बाँझो हुने मात्रा नै घटेको छ । खाद्यन्न बाली र नगदेबालीमा किसानको आकर्षण बढिरहेको कृषि शाखाले जनाएको छ ।

किसानका लागि विद्यमान कतिपय समस्याहरु समाधान गर्न सकियो भने १२ महिना खेतमा बाली उत्पादन भइरहनेछ ।

अन्य पालिकाहरु भन्दा बिर्तामोड नगरपालिकाले बाली संरक्षणको क्षेत्रमा धेरै काम गरिरहेको अवस्था छ । बाली संरक्षणका लागि अन्य पालिकाहरुमा खासै काम भएको पाइदैन । तर, बिर्तामोडले बाली संरक्षण कार्यक्रमलाई प्राथमिकता दिएको छ । बाली संरक्षणसँगै बिर्तामोडले सिचाँईलाई विशेष प्राथमिकता दिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले पनि आफ्नो कार्यकालको सुरुवात मै सम्पूर्ण कृषि क्षेत्रलाई सिन्चित गर्ने निर्णय गर्नु भएको थियो । उक्त निर्णय बमोजिम नै सिँचाई विस्तारको काम भएको छ ।

सिँचाईकै कारण तरकारी खेतीमा उल्लेख्य उपलब्धी हासिल गर्न सकिएको छ । तरकारी खेती ३÷४ वर्षको अन्तरालमा बजार खोज्ने परिस्थितिमा पुगिएको छ । अब, केहि वर्षमा बिर्तामोडका किसानले यहाँका नागरिकलाई पुग्ने गरी तरकारी उत्पादन गर्न सक्ने अपेक्षा गरेका छन् । र, त्यो संभव पनि छ ।

यहाँ मुख्यतः तरकारी खेती, तोरी, आलु र बाली संरक्षणमा विशेष प्राथमिकतामा काम गरिएको छ ।

प्रकाशित मिति : चैत्र २९, २०८० बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]